आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

‘कमान्ड एन्ड स्टाफ कोर्स’ पूरा गर्नेलाई प्रमाणपत्र

रासस
3 months ago
22/02/2019

 

काठमाडौं  । आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा ‘कमान्ड एन्ड स्टाफ कोर्स सम्पन्न गर्नेलाई प्रमाणपत्र प्रदान गरिएको छ । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा आज (बिहीबार) आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाले प्रमाणपत्र प्रदान गरे ।

विदेशीसहित कुल ६२ विद्यार्थी सहभागी रहेको उक्त कोर्समा नेपाली सेना ४९, नेपाल प्रहरी एक, सशस्त्र प्रहरी एक, राष्ट्रिय अनुसन्धान प्रहरी एक, बंगलादेशी एक, चिनियाँ दुई, भारतीय एक, लेबनानी एक, माल्दिभ्सका एक, पाकिस्तानी एक, श्रीलंकाली एक, बेलायती एक र अमेरिकी एक छन् ।

कार्यक्रममा प्रधानसेनापति थापाले २५औं शृंखला पार गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनको सफलताको कामना गरे । ‘नेपाली सेनामा पहिलोपटक कमान्ड एन्ड स्टाफ कोर्स पूरा गर्ने महिला पाएकामा संगठन खुसी छ,’ उनले भने ।

प्रधानसेनापति थापाले कमान्ड एन्ड स्टाफ कोर्समा स्वदेशी तथा विदेशी रहेकाले सम्बन्ध विस्तारमा समेत थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । जीवनको महŒवपूर्ण कोर्स पूरा गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिने सुरक्षा चुनौती समाधान गर्न सहज हुने उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा खनियाँले अरू विश्वविद्यालयको तुलनामा त्रिभुवन विश्वविद्यालय उच्च स्थानमा पुगेको बताउँदै त्रिविले विदेशी विद्यार्थीलाई समेत अध्ययन अध्यापन गराउँदै आएको बताए । ‘अरू मुलुकको जस्तो शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालय दृढ छ,’ उनले भने ।

कलेजका प्रमुख एवं सहायक रथी ईश्वर हमालले कलेज दक्ष जनशक्ति उत्पादनमा लागेको बताए  । कलेजले हालसम्म ८१५ नेपाली सेना, नौ नेपाल प्रहरी, २० सशस्त्र प्रहरी, ६३ विदेशीलाई उक्त कोर्स प्रदान गरिसकेको छ । २५औं शृंखलाबाट नेपालका सुनील विष्ट र प्रतीकसिंह कार्की उत्कृष्ट विद्यार्थी घोषित भए । उनीहरूलाई नगद ५० हजारसहित सम्मान गरियो ।

 

 

कोर्स गर्ने पहिलो महिला

कलेज सञ्चालन भएको २५औं शृंखलामा सेनानी सुलोचना पौडेल कमान्ड एन्ड स्टाफ कोर्स पूरा गर्ने पहिलो महिला भएकी छन् । यसअघि कुनै महिलाले पनि उक्त कोर्स पूरा गरेका थिएनन् । प्रधासेनापति बन्न स्टाफ कोर्स गरेको हुनुपर्छ ।

अब महिला पनि प्रधानसेनापति बन्न सक्नेछन् । नेपाली सेनामा २०६१ मा सहायक पदमा भर्ना भएकी पौडेलले सेनाको उक्त प्रतिष्ठित कोर्स पूरा गरेकी हुन् ।

पौडेलले पृथक् अनुभव भएको बताउँदै पेसागत ज्ञानले आगामी दिनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । ‘नेपाली सेनामा महिलाको सहभागिता २०६१ देखि भएर पनि कोर्स पूरा गर्ने पहिलो महिला म बन्न पुगें,’ उनले भनिन् । सोही कार्यक्रममा उक्त कलेजद्वारा हरेक वर्ष प्रकाशन हुँदै आएको ‘द शिवपुरी’ जर्नलको विमोचनसमेत गरिएको थियो ।

 

 

 

(Visited 49 times, 1 visits today)
Loading comments...