शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

आगोले पोल्यो भने यसो गर्नुस्

राजधानी समाचारदाता
1 week ago
13/03/2019

शरीर जल्नु ठूलो दुर्घटना हो । मानिस निकै सचेत रहँदा पनि शरीर आगोले पोल्ने वा जल्ने हुन सक्छ । आफ्नो गल्ती र कमजोरीले हुनेबाहेक अरूका कारणले पनि शरीर जल्ने हुन सक्छ । शरीर आगोले पोलेर, करेन्ट लागेर, ज्वलनशील पदार्थ परेर, घामले डढेर र हिउँले खाएर शरीर पोलिन सक्छ । मानिस प्रायः जसो आगो, बिजुली, प्रज्ज्वलनशील पदार्थ आदिको नजिकमा रहेको हुन्छ ।

मानिसहरू असावधानीका साथ यस्ता ज्वलनशील वस्तुहरूसँग खेल्ने, आफंैले आगो लगाएर आत्महत्या गर्ने, अरूलाई आगो लगाएर मार्न खोज्ने, प्राकृतिक प्रकोप, आगलागीजस्ता घटनामा परेर शरीर जल्न सक्छ । यसले मानिसलाई कुरुप र अपांग बनाउँछ । ज्यानै लिन सक्छ । बाँचेकाहरूलाई पनि जीवनभर निकै अप्ठेरो पर्न सक्छ ।

शरीर वा लुगामा आगो सल्किरहेका बेलामा दौडनुहुँदैन । आत्तिएर दौडिने गर्नाले अक्सिजनका कारणले झन् आगो सल्कन्छ । बरु चिसो भुइँमा पल्टिनुपर्छ । माटोमा लडीबुडी गर्नाले आगो निभ्छ । हारगुहार माग्नुपर्छ । आगो लागेको देखेमा बाक्लो कपडा वा कम्मलले ढाक्नुपर्छ ।
पोलेको पीडा कम गर्न घाउमा चिसो पानी चुहाइरहनुपर्दछ । शरीरको जलेको भागको लुगा बिस्तारै हटाइदिनुपर्छ । तर, शरीरमै टाँसिएका कपडा विशेषज्ञ वा डाक्टरको सहारामा निकाल्न लगाउनुपर्छ ।

एसिड र क्षारजस्ता कडा रसायनले जलेमा प्रयोगशालामा पन्जा, एप्रोनलगायत सुरक्षाका उपाय अपनाएर मात्र चलाउनुपर्छ । करेन्ट लागेको अवस्थामा मेन स्विच अफ गरेर, सुकेको काठले कोट्याएर तार वा मेसिनबाट हटाउनुपर्छ ।

त्यसपछि घाउ र घाउमा हुने संक्रमणबाट बिरामीलाई बचाउन मल्हम र औषधिको प्रयोग गर्नुपर्छ । बिरामीको स्याहार र घाउ छुने मानिसले राम्रोसँग हात धोएर मात्र काम गर्नुपर्छ । बिरामीलाई बिस्तारै हिँडाउनुपर्छ । हात, खुट्टा, जीउ चलाउन लगाउनुपर्छ । पोसिलो खानेकुरा खुवाउनुपर्दछ । सकेसम्म धेरै झोल पदार्थ तथा पानी पिउन लगाउनुपर्छ ।

(Visited 303 times, 1 visits today)
Loading comments...