बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

भ्यु टावर निर्माणमा सुस्त

राजधानी समाचारदाता
2 months ago
14/03/2019

काठमाडौं।  काठमाडांै भ्यु टावर निर्माणको काममा सुस्तता देखिएको छ । रत्नपार्कस्थित पुरानो बसपार्कलाई हटाएर सोही स्थानमा २२ तले सुविधासम्पन्न भ्यु टावर बन्न लागेको हो । २०७१ सालबाट निर्माणको प्रक्रिया सुरु भएको टावरको योजनाअनुसार निर्माण कार्य अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, विभिन्न समस्याका कारण यसको निर्माणमा ढिलाइ भएको हो ।

हाल निर्माण कार्य जारी रहेको भए तापनि अपेक्षित रूपमा भने काम हुन नसकेको देखिन्छ । टावर निर्माणमा भएको ढिलाइका कारण बसपार्कलाई पनि सोही स्थानमा स्थानान्तरण गर्ने निर्णयमाथि समेत असर पर्ने देखिएको छ । काठमाडौं महानगरपालिकाले तीन निजी कम्पनीको संयुक्त जिम्मेवारीमा टावर निर्माण तथा व्यवस्थापनको काम ३० वर्षको सम्झौता गरेको थियो ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने र २५ वर्षसम्म सोही कम्पनीले व्यवस्थापन गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा
उल्लेख छ । टावरको भुँईतल्लामा अत्याधुनिक बसपार्कसमेत बन्ने र हाल अस्थायी रूपमा सञ्चालन गर्ने गरिएको खुलामञ्चको खाली क्षेत्रबाट पुनः सो स्थानमा नै बसफार्क सार्ने तथा खुलामञ्चलाई खुला क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखेको थियो । तर, सुरु भएको चार वर्षमा सो स्थानलाई बारेर निर्माण सामग्री जम्मा गरी सुरुवाती चरणमा खन्ने काम मात्र भएको छ ।

अदालतमा मुद्दा परेका कारण पनि निर्माणमा ढिलाइ भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार फागुन २०७१ मा जलेश्वर, स्वच्छन्द र बिकोई विल्डर्स गरी तीन कम्पनीसँग संयुक्त रूपमा टावर निर्माणको सम्झौता भएको थियो । तत्पश्चात् ती कम्पनीले एक वर्ष ढिला गरी २०७२ सालमा मात्र कार्यादेश पाएका थिए ।

यता निर्माण कम्पनीले काम तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । कम्पनीका प्रतिनिधि मनोज भेटवालले विभिन्न कारणले ढिलाइ भएको भए तापनि निर्माण कम्पनीहरूले कामलाई अघि बढाइरहेको र समयमै निर्माण सम्पन्न हुने दाबी गरेका छन् । टावर निर्माणमा भइरहेको कार्यप्रगति तथा सम्झौताअनुरूप काम भए नभएको र सुधारका पक्षमा सहजीकरणका लागि परामर्शदाता कम्पनी छनोट गरी मूल्यांकन गर्ने महानगरले जनाएको छ । स्वतन्त्र इन्जिनियरहरू सम्मिलित प्राविधिक समूह बनाएर काम अगाडि बढाउने योजना महानगरको छ ।

महानगरको ३०औं बैठकले यसबारे निर्णय गरेको थियो । अस्थायी रूपमा बसपार्कको व्यवस्थापन गरिएको पार्किङ क्षेत्र हाल मर्मत अभावमा खाल्डाखुल्डी अवस्थामा छ । फोहोर तथा पसल व्यवसायलगायतका कारण अव्यवस्थित बनेको बसपार्कमा यात्रु धुलोधुँवा र हिलाको सास्ती खेप्न बाध्य छन् । महानगरले यसको विकल्प समेत दिन नसकिरहेको अवस्थामा टावर निर्माणमा हुन गएको ढिलाइले सर्वसाधारणको सास्ती अझै
लम्बिने देखिन्छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...