शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी नल्याउन निजी क्षेत्रको माग

राजधानी समाचारदाता
1 week ago
14/03/2019

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग माग गरेको छ ।

संघीय संसद्मा विचाराधीन ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक–२०७५’ मा व्यवस्था गरिएको प्रावधानबाट आन्तरिक पुँजी परिचालन गरी उत्पादनमा आत्मनिर्भर भएका नेपाली उद्यमी व्यवसायी मारमा पर्ने भन्दै महासंघ र चेम्बरले यस्तो आग्रह गरेको हो । महासंघ र चेम्बरले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सरकारसँग यस्तो आग्रह गरेको हो । महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ ।

महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवासम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरू, ई–कमर्स, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्नुपर्ने सुझाव दिएको हो । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई भेटेर सो सुझाव दिएको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ अहिले संसद्मा विचाराधीन रहेको भन्दै श्रेष्ठले महासंघको प्रतिनिधिमण्डलले उल्लेखित क्षेत्रमा अर्बाैंको स्वदेशी लगानी भएकाले विदेशी लगानी आवश्यकता नरहेको समेत जानकारी गराएको बताए । स्वदेशी लगानीको संरक्षण गर्नु सरकारको दायित्य पनि हुने भएकाले र यी क्षेत्रमा नेपाली उद्यमी व्यवसायी सक्षम र विशेष सीप पनि भएकाले महासंघले पेस गरेका सुझावलाई नया“ ऐनमा समावेश गर्न महासंघको प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेको हो ।

महासंघका प्रतिनिधिमण्डलका सदस्यमा महासंघको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ, महासंघको वस्तुगत परिषद्का सहसभापति सुमित केडिया, नेपाल वोटल वाटर एसोसिएसनका अध्यक्ष सुवास भण्डारी र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी रहेका थिए ।
त्यसैगरी, चेम्बरले राष्ट्रको समग्र विकासका लागि वैदेशिक लगानी अपरिहार्य भए तापनि आन्तरिक पुँजी परिचालन गरी स्वदेशी सीपको जगेर्ना, प्रयोग र विकाससँग सम्बन्धित कतिपय क्षेत्रमा नेपाली नै सक्षम रहेकाले सबै क्षेत्रमा वैदेशिक लगानी खुला गर्न आवश्यक नरहेको जनाएको छ ।

वैदेशिक लगानी, आन्तरिक पुँजीले सम्भव नहुने उच्च प्रविधियुक्त ठूला परियोजना र ठूला परियोजनामा उपयुक्त हुने चेम्बरले जनाएको छ ।
लघु उद्योग र घरेलु उद्योगअन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्र, पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन, कार्गो सेवा एवं शैक्षिक परामर्श जस्ता अति महŒवपूर्ण व्यवसायमा वैदेशिक लगानी भिœयाउँदा त्यसबाट राष्ट्रलाई फाइदाभन्दा बेफाइदा नै हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ । ती क्षेत्रमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा हुनुका साथै पुँजी निष्क्रिय हुने सम्भावना औंल्याउँदै चेम्बरले जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशीलतामा ह्रास आउने जनाएको छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...