शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

नवलपुरमा दिनभर बम आतंक

रामकुमार श्रेष्ठ
1 week ago
14/03/2019

नवलपरासी । आफ्ना नेता कार्यकर्ताहरुको रिहाई तथा झुटा मुद्दा खारेजी लगायतका माग राख्दै विहीबार नेपाल बन्द गरेको विप्लवको बन्दको कारण नवलपुर दिन भर तनाबग्रस्त रह्यो ।

नवलपुरमा अप्रिय घटना केही नभए पनि ठाउँठाउँमा एक पछि अर्को बम तथा शंकास्पद वस्तुहरु भेटिए पछि नवलपुरको जनजीवन तनाबग्रस्त रहेको हो ।

विहान उठ्दा नउठ्दै गैडाकोटको जयश्री पुलमा रातिदेखि नै शंकास्पद बस्तु भेटिएको खबर पाएका नवलपुरका बासिन्दा सोच्दै नसोचेको सदरमुकाम कावासोतीमा जिल्ला प्रहरी कार्यालय नजिकै दिउँसो एक्कासी विस्फोटको आवाज सुनेपछि त्रसित भएका हुन् ।

विप्लव नेतृत्वको नेकपाले बन्दका क्रममा नवलपुरको गैडाकोटको जयश्री पुलमा राखेको बम नक्कली भएको पाइएको छ । रातो प्लाष्टिकको ब्याग भित्र खतरा संकेत दिएर राखिएको शंकास्पद वस्तुलाई सेनाले विहीबार विहान डिस्फोज गरेको हो ।

प्लाष्टिकको झोला भित्र बाल्टिन राखि बाल्टिन भित्र जुटको बोरा र माटो राखिएको पाइएको हो । सेनाको टोलीले शंकास्पद वस्तु वम नभएको यकिन गरेपछि राति साढे १२ बजेदेखि अवरुद्ध जयश्री पुलमा यातायात सञ्चालनमा आएको छ ।

उक्त शंकास्पद वस्तु मध्यविन्दु नगरपालिका १४ झ्यालटुङ्ग डाँडा नेपाली सेनाको हवल्दार शिवबहादुर न्यौपानेको नेतृत्वमा गएको बम डिस्फोजल टोलीले निष्कृय बनाएको थियो ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कावासोतीको मुख्य चोकमा विहीबार विहान साढे ११ बजेतिर बम विस्फोट गराएका थिए । उक्त वम रातिको समयमा सडक छेउ राखेर छाडिएको आशंका गरिएको छ ।

अन्य दिन सर्वसाधारणको निक्कै भीडभाड र सवारी साधनको पनि त्यस्तै चाप हुने उक्त क्षेत्रमा भएको विस्फोटबाट मानविय क्षति भने भएन । विहीबार बन्द कारण सडकमा सवारी साधनको चाप र सर्वसाधारणको चाप कम भएका कारण क्षति नभएको हो ।

जिल्ला प्रहरी कार्यालयदेखि करिब डेढ, दुई सय मिटर पूर्व पूर्वपश्चिम राजमार्ग छेउमै विस्फोट भएको हो । विस्फोटको आवाज झण्डै एक किलोमिटर परसम्म सुनिएको थियो ।

विहान साढे ११ बजेतिर विस्फोट भएको हो । विस्फोट भएको क्षेत्र नजिकै डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पनि छ भने नजिकै तरकारी बजार पनि छ । घरेलु तथा साना उद्योग कार्यालयको विस्फोट भएको क्षेत्र देखि ५० मिटरको दुरीमा पर्दछ । उक्त कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

कावासोतीमा विस्फोट भए लगतै राति नक्कली बम भेटिएको स्थल जयश्री पुलबाट केही दक्षिणतर्फ दिउँसो फेरि शंकास्पद बस्तु फेला पर्यो ।

उक्त वस्तु भने बम नै रहेको पुष्टि भएपनि सेनाले निष्कृय पारेको थियो । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको जयश्री पुल नजिकै भेटिएको ७ थान बम, बम डिस्फोडल टोलीले निष्कृय बनाएको हो ।

विहीबार दिउँसो भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले निष्कृय बनाउने क्रममा विस्फोटक पदार्थ भएको पृष्टि भएपछि सेनाले निष्कृय पारेको हो । प्रहरीका अनुसार उक्त क्षेत्रमा २ वटा सुतली बम र ५ वटा पेट्रोल भरिएका बोलतहरु थिए ।

त्यसैगरी नवलपुरकै देवचुली नगरपालिका १३ दलदलेमा बम भेटिएको छ । उक्त बम सामान्य खाले रहेको र सेनाले डिस्फोज गरिसकेको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ ।

(Visited 123 times, 1 visits today)
Loading comments...