शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

किमको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार

एजेन्सी
1 week ago
14/03/2019

शाहअलाम । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् ।

भियतनामी महिला डोन थि हौङलाई रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जवाफमा अदालतका अधिकारीहरुले रिहा गर्न अस्वीकार गरेका हुन् ।

सो मुद्दामा उनीसँगै थुनामा रहेकी अर्की इण्डोनेसियाकी एक महिलालाई गत सोमबार रिहा गरिएको भए पनि भियतनामी महिलालाई भने रिहा नगरिने भएको हो । रिहा नगर्ने अदालतको घोषणापछि ती महिलाको मुद्दाले निरन्तरता पाउने भएको छ ।

सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा भिएक्स नर्भ एजेन्ट भनिने विषालु पदार्थ दलिदिएको आरोपमा हौङ र अर्की इण्डोनेसियाकी महिला सिती अल्स्यानलाई थुनामा राखिएको थियो ।

अदालतको निर्णय सुनेपछि अदालत परिसरमा रुँदै हौङ्ले भनिन्, ‘म तनावमा छु, म निर्दोष छु, मलाई यो घटनाका बारेमा थाहा छैन, मेरा लागि परिवारले प्रार्थना गरिदिऊन् ।’

इण्डोनेसियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरूले एउटा टीभी कार्यक्रमका लागि आफूहरू त्यहाँ गएको दाबी गरेका छन् ।

मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथि आक्रमण भएको थियो । आक्रमणको २० मिनेटमै उनको मृत्यु भएको थियो ।

क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृश्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिला गएको देखिएको छ ।

त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरूले बताएका छन् ।

(Visited 108 times, 1 visits today)
Loading comments...