शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

निर्मला हत्या प्रकरणमा नयाँ मोड, शंकाको सुईं फेरि दिलिपसिंह विष्टमाथि नै

महेश्वर गौतम
1 week ago
14/03/2019

काठमाडौं । निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेका बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ । प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयं निर्मलाकी आमा दुर्गादेवी पन्तको अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेको छ ।

गत १० साउनमा साथीको घर जान भनी घरबाट निस्केकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव फेला परेको थियो । त्यसयता निर्मलाको बलात्कार तथा हत्या अनुसन्धानमा प्रहरीसमेत एकपछि अर्को गर्दै फस्दै आएको छ ।

प्रहरीले हत्याको अनुसन्धानमा दोषी भन्दै नियन्त्रणमा लिइएका कसैको पनि डीएनए मेल नखाएपछि अनुसन्धानमा प्रहरीले हैरानी खेप्दै आएको थियो भने प्रहरीमाथि नै निर्दोषलाई दोषी देखाउन सक्रिय भएको आरोप लाग्दै आएको थियो । प्रमाण अभावमा प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।
तर, अहिले एकाएक निर्मलाकी आमा दुर्गादेवीले प्रहरीले सुरुमै हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेका दिलिपसिंह विष्टमाथि नै शंका गरेपछि प्रहरी भने फेरि अलमलमा परेको छ ।

निर्मलाकी आमाले केही दिनअघिको बयानमा दिलिपसिंह विष्ट नै निर्मलाको हत्यामा संलग्न रहेको हुन सक्ने भन्दै पहिलेको बयानलाई फेरेकी थिइन् । उनले दिलिपसिंहले प्रहरीलाई दिएको बयानको भिडियो आफूले हेरेपछि आफ्नो घरका सबै कुरा उसलाई थाहा भएको, छोरीको साइकलबारे समेत उसलाई थाहा भएकाले र उसको अवस्थाका कारण पनि ऊ निर्दोष हो भन्न नसकिने अवस्था रहेकाले उनीमाथि नै अनुसन्धान गरिनुपर्ने बयान दिएकी छन् ।

दुर्गादेवीले आफ्नो पछिल्लो बयानबारे राजधानीसँग भनिन्, ‘म कानुन जान्दिनँ, मानव अधिकारकर्मीहरूले पहिले मेरो सही गरेर के के लेखेर उजुरी दिए, मलाई थाहा भएन । तर, मैले अहिले दिलिपसिंहले प्रहरीमा दिएको बयानको भिडियो हेरें । उसलाई मेरो घर र छोरीको साइकलको सबै अवस्था कसरी थाहा भयो त ? ऊ निर्दोष हो भनेर कसरी भन्ने ? डीएनए नमिल्दैमा निर्दोष हुन्छ ? ऊमाथि फेरि अनुसन्धान गर्नुपर्छ । मैले अदालतमा त्यही भनेकी छु ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले अनुसन्धानको दायरामा आएर तारेखमा छुटेकाहरू कोही पनि अनुसन्धानको दायराबाट बाहिर नरहने जनाए ।
‘निर्मला हत्याका विषयमा तारेखमा छुटेकाहरू अहिले पनि अनुसन्धानकै दायरामा छन्, तारेखमा छुट्दैमा कोही पनि अनुसन्धानबाट बाहिर पुगेका हुँदैनन् । फेरि पनि उनीहरूमाथि प्रहरीले आवश्यक सोधपुछ गर्न सक्छ,’ प्रहरी प्रवक्ता सुवेदीले राजधानीसँग भने ।

उनले निर्मलाको आमाको भनाइलाई लिएर प्रहरीले गहन रूपमा अनुसन्धानअघि बढाउनेसमेत बताए ।

प्रहरीले दिलिपसिंहलाई घटनाको सुरुवाती अवस्थामा नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो भने निजको डीएनए निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाबसँग मेल नखाएपछि उनी प्रहरी हिरासतबाट निर्दोष साबित हुँदै छुटेका थिए । यस्तै, उनी निर्दोष रहेको र वास्तविक दोषी लुकाउन दिलिपसिंहलाई नियन्त्रणमा लिइएको भन्दै कञ्चनपुरमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो ।

तर, अहिले आएर छोरीको हत्यामा दिलिपसिंहको नै संलग्नता रहेको भन्दै निर्मलाकी आमाले बयान दिएकी छन् । सुरुमा उनले नै दिलिपसिंह निर्दोष रहेको बताउँदै आएकी थिइन् । यस्तै, उनले आफ्नै पक्षमा साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरूको समेत आलोचना गर्न थालेकी छन् ।

निर्मलाकी आमा दुर्गादेवीले आफूले प्रमाण नष्ट गर्ने र घटनाको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीका नाममा उजुरी दिएको तर उनीहरूले पाउने सजाय पाइसकेकाले अब उनीहरूमाथि अरू दुःख दिने मनसायसमेत नरहेको बताएकी छन् ।

हाल निर्मलाको बलात्कार तथा हत्यापछिको अनुसन्धानमा प्रमाण नष्ट गरेको आरोपमा आठ पूर्वप्रहरी कर्मचारीहरू अदालती बयानको प्रक्रियामा छन् । दुर्गादेवीले आठ प्रहरीमाथि जिल्ला अदालतमा दायर भएको मुद्दा सच्याउन आफूले निवेदन दिएकोसमेत बताएकी छन् । ‘मैले राम्ररी कुरा नबुझी जाहेरी दिएकी थिएँ तर अहिले सबै कुरा बुझें र सच्याउन भनेकी हुँ,’ उनले भनिन् ।

यसअघि दुर्गादेवी र दिलिपसिंह विष्टका दाजुको जाहेरीका आधारमा प्रहरीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

(Visited 456 times, 1 visits today)
Loading comments...