सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

मसूद अजहर प्रकरणः आखिर चीन के चाहन्छ ?

केशरमणि कटुवाल
1 week ago
16/03/2019

चीनले एक पटक फेरि पाकिस्तान नियन्त्रित ‘आजाद काश्मिर’ मा गतिविधि सञ्चालन गरिरहेको चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरमाथि वैश्विक आतंकवादी घोषणा गर्ने प्रस्तावलाई राष्ट्रसंघ सुरक्षा परिषदमा असफल पारिदिएको छ ।

गत १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामामा अर्धसैनिक बल सीआरपीएफका जवान चढेको गाडीलाई निशाना बनाउँदा ४० भन्दा बढी सीआरपीएफ जवान मारिएको घटनामा यही संगठनले जिम्मा लिएपछि एक पटक फेरि जैश–ए–मोहम्मद र यसका नेता मसूद अजहर चर्चामा आएका हुन् । यद्यपि यो संगठनलाई पहिले देखि नै राष्ट्रसंघले आतंकवादी संगठनको सूचीमा राखिसकेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा अमेरिका, बेलायत र फ्रान्सले मसूद अजहरलाई राष्ट्र संघको आतंकवादी सूचीमा राख्ने प्रस्ताव गरेका थिए । तर बुधबार चीनले यो प्रस्तावमाथि भिटो शक्तिको प्रयोग गरेर असफल पारिदिएपछि अब कम्तिमा ९ महिना मसूद अहजर राष्ट्र संघको आतंकवादी सूचीमा नपर्ने निश्चित भएको छ । यसअघि चीनले तीन पटक मसूद अजहरलाई ‘वैश्विक आतंकवादी’ घोषणा गर्ने प्रयास असफल पारिसकेको छ ।

चौथो पटक यो प्रस्ताव असफल भएपछि यही प्रस्ताव ९ महिनासम्म सुरक्षा परिषदमा प्रस्तुत हुनेछैन । नौ महिनापछि पनि चीनले यो प्रस्तावलाई भिटो शक्तिको प्रयोग गरी विफल पारिदिन सक्नेछ । चीनले यसपटक मसूद अजहरमाथि प्रतिबन्ध लगाउने विषयमा प्रष्ट हुन अध्ययनका लागि समय चाहिने बताएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्समक्ष अजहरको सम्पत्ति रोक्का, यात्रा प्रतिबन्ध तथा हातहतियार प्रतिबन्ध लगाउने प्रस्ताव लगिएको थियो । फ्रान्सले भने उनको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने निर्णय गरिसकेको छ ।

चीनले किन रोक्यो ?
राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी र भिटो अधिकार प्राप्त राष्ट्रले कुनै पनि प्रस्ताव आफूलाई चित्त बुझेन वा त्यसमाथि कुनै महत्वाकांक्षा जोडिएको छ भने त्यसलाई भिटो शक्तिको प्रयोग गरी रोकिदिन सक्छन् । तत्कालीन सोभियत संघले भारतको पक्ष लिँदै पटक पटक काश्मिरबारे पाकिस्तानको प्रस्ताव रोकिदिएको थियो । शीत युद्धको यो समयमा भारत सोभियत संघ निकट थियो भने पाकिस्तान अमेरिका नेतृत्वको सैनिक संगठन सीटोको सदस्य थियो ।

उत्तर कोरियामाथि प्रतिबन्धको प्रस्तावहरु चीनले असफल पारेका घटना ताजै छन् । यस्तै इजराजयल र प्यालेस्टाइनबीचको विवादका विषयमा पर्ने कुनै पनि प्रस्ताव अमेरिकाले इजरायलको पक्ष लिँदै असफल पार्दै आएको छ । यसपटक फेरि चीनले हिंसात्मक क्रियाकलापमा संलग्न भएको जैश–ए–मोहम्मद समूहका नेता मसूद अजहरलाई आतंकवादी सूचीमा राख्ने प्रस्ताव असफल पारिदिएको हो ।

चीनले प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने दाबी गरेको छ । जसले अब ९ महिनासम्मका लागि यो प्रस्ताव रोकिएको छ । चीनले चौथो पटक पनि यो प्रस्ताव रोकिदिएपछि पाकिस्तानको समर्थनमा चीनले त्यसरी प्रस्ताव स्थगन गराइदिने गरेको दिल्लीको बुझाइ छ । भारतले अमेरिका, बेलायत र फ्रान्सलाई प्रस्ताव अघि बढाएकोमा धन्यवाद पनि दिएको छ ।
उसले जैशका भारतीय नागरिकविरोधी हमलामा संलग्न आतंककारीहरुलाई कानुनी कठघरामा ल्याउन सबै उपाय अबलम्बन गर्ने पनि जनाएको छ । चीनले भने आफूले एक ‘जिम्मेवारपूर्ण व्यवहार’ को समर्थन गर्न खोजेको तथा सो मुद्दाबारे ‘सम्बन्धित पक्षहरूसँग वार्तामार्फत’ समाधान गर्न खोजेको बताएको छ ।

के हो जैश–ए–मोहम्मद ?
१४ फेब्रुअरीमा भारत नियन्त्रित काश्मिरको पुलवामामा भएको हमलाको जिम्मेवारी लिएको जैश–ए–मोहम्मद पाकिस्तान प्रशासित ‘आजाद काश्मिर’ क्षेत्रलाई केन्द्र बनाएर आफ्ना गतिविधि सञ्चालन गरिरहेको समूह हो । जसले भारत प्रशासित काश्मिरमा आफ्ना हिंसात्मक गतिविधि गर्ने गरेको छ । जसलाई भारतले आफ्नो देशमाथि अस्थिरता फैलाउन गरिएको गतिविधिका रुपमा लिने गरेको छ । जैश–ए–मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हुन्छ ।

सन् १९९९ मा भारतीय एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले उनलाई जेलबाट रिहा गरिदिएको थियो । त्यसबेला सो विमानलाई नेपालको काठमाडौंबाट अपहरण गरी तालिबान शासन रहेको अफगानिस्तानमा पु¥याइएको थियो । तिनै मसूद अजरले जैश समूहको गठन गरेका हुन् । उनले त्यसै बेला नै तालिबान नेता मुल्लाह ओमार र अलकायदाका नेता ओसामा बिन लादेनलाई भेटेको अनुमान गरिन्छ । सन् २००१ मा भारतको केन्द्रीय संसदमा आक्रमण भएको थियो । सो हमलामा जैश–ए–मोहम्मद समूहकै हात रहेको भारतको दाबी छ । पाकिस्तानले त्यसलगत्तै सो समूहमाथि प्रतिबन्ध लगायो । तर अझै पनि यो समूह क्रियाशील छ ।

भारतले सन् २०१६ को जनवरीमा पाकिस्तानको सीमानजिकैको पठानकोटस्थित हवाई सैन्य अखडामा भएको आक्रमणमा पनि यही समूह जिम्मेवार रहेको बताइन्छ । यो घटनामा तीन जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । सन् २०१७ को डिसेम्बरमा भारतीय सेनाको कारबाहीमा जैश–ए–मोहम्मदका कमान्डर नुर मोहम्मद तान्त्रेको मृत्यु भएको थियो । यसले सो संगठनलाई ठूलो धक्का लागेको अनुमान गरिएको थियो । यद्यपि यो संगठनका गतिविधि रोकिएनन् ।

भारतले यसको विस्तार भइरहनुका पछि पाकिस्तान सरकारको समर्थन नै मुख्य कारण भएको बताउँने गरेको छ । तर पाकिस्तानले यसलाई अस्वीकार गर्छ । यो समूहले पाकिस्तानी सेनामाथि पनि हमला गरेकाले पाकिस्तान पनि यसबाट पीडित छ । सन् २००३ मा सो समूहले पाकिस्तानका तत्कालीन नेता परवेज मुशर्रफमाथि घातक आक्रमणको प्रयास गरेको थियो । १४ फेब्रुअरीको पुलवामा हमलापछि भारतले पाकिस्तानको बालाकोटमा जैशको तालिम केन्द्रलाई ध्वस्त पारेको भन्दै लडाकू विमानमार्फत हमला गरेपछि भारत र पाकिस्तानबीच नियन्त्रण रेखामा तनावको अवस्था सिर्जना भयो ।

चीन भारत र पाकिस्तानबीचको संघर्षमा मध्यस्थताको भूमिका खोजिरहेको छ । यो प्रयासमा पाकिस्तान पनि नरिसाओस र भारतसँगको आगामी सम्बन्ध निर्माणको बाटोमा पनि कुनै असर नपरोस् भन्ने चिनियाँ चाहाना देखिन्छ ।

भारतको कूटनीतिक हार हो ?
चीन एसियाको मात्रै होइन विश्वकै प्रमुख शक्ति राष्ट्र हो । अहिलेकै रफ्तारलाई कायम राख्ने हो भने अबका केही वर्षमा चीनले अमेरिकालाई सबै आर्थिक, कूटनीतिक, सामाजिक र सामरिकसहित सबै हिसाबले पछि छाड्नेछ । विश्वमा अहिले अमेरिकाको प्रभाव घट्दो र चीनको प्रभाव बढ्दो अवस्थामा छ । यसलाई मध्यनजर गर्दै विश्वका शक्ति राष्ट्रहरु यतिबेला चीनलाई ‘साइज’ मा राख्न विभिन्न घेराबन्दीको प्रयासरत छन् ।

चीन आफ्नो बढ्दो भूमिका र शक्तिकै कारण यस क्षेत्रमा हुने गतिविधिमा चासो मात्रै राख्दैन, त्यसमाथि आफ्नो भूमिका स्थापित गराउँन चाहन्छ । यसलाई चीनको कूटनीतिक व्यवहारमा आएको परिवर्तनका रुपमा लिन सकिन्छ । त्यसैले चीन यो घटनामा पनि भारत र पाकिस्तानबीच मध्यस्थता गर्न चाहन्छ । चीन र भारत आफैंमा यस क्षेत्रका प्रतिस्पर्धी शक्तिका रुपमा छन् ।

चीन र भारतबीचको लामो सीमा क्षेत्रमा थुप्रै विवाद छन् । चीन भारतभन्दा धेरै शक्तिशाली बनिसकेको छ । मसूद अजहर र आतंकवादसम्बन्धि यो घटनामा पनि चीन आफ्नो कूटनीति प्रयोग गर्दै मध्यस्थताको भूमिका खोजिरहेको छ । अहिलेको यो भिटो शक्ति प्रयोगको घटनालाई पनि यसैसँग जोडेर हेरिएको छ । कतिपयले यो घटनालाई कूटनीतिक क्षेत्रमा भारतको हारका रुपमा समेत व्याख्या गरेका छन् ।

चीनले विदेशमन्त्री पाकिस्तान पठायो र भारतसँग पनि कुराकानी गरेर मध्यस्थता गर्ने इच्छा व्यक्त ग¥यो । यो पछिल्लो परिघटनापछि अब चीनले भारत र पाकिस्तानबीचको तनावको अवस्थालाई कूटनीतिमार्फत समाधानका लागि आफ्नो प्रयास तिव्र बनाउने अनुमान कतिपयको छ ।

चीन र पाकिस्तानको सम्बन्ध धेरै घनिष्ट छ । शीत युद्धकै समयदेखि दुई देशबीच राम्रो सम्बन्ध रहँदै आएको छ । चीनले पाकिस्तानमा चीन–पाकिस्तान इकोनोमिक करिडोर (सीपेक) परियोजनालाई ठूलो लगानी गरिरहेको छ । चीन पाकिस्तानमा आफूले गरिरहेको लगानीलाई ‘बालुवामा पानी’ हालेको जस्तो व्यर्थ बन्न दिँन चाँहदैन । यो परियोजना चीन र पाकिस्तान दुवैका लागि महत्वपूर्ण छ । मसूद अजहरमाथिको प्रतिबन्धमा रोक लगाउने कुरा उसको पाकिस्तानसँग रहेको सम्बन्धको नतिजा पनि हो । तर चीनले यो वार्तामा भारतलाई पनि सँगै लिएर जान चाहेको देखिन्छ । विश्व परिदृश्यलाई हेर्ने हो भने पछिल्ला केही वर्षदेखि सम्बन्धमा उथलपुथल नै आएको पाइन्छ ।

कुनै समय अमेरिका नेतृत्वको सिटोको सदस्य थियो, पाकिस्तान । तर यतिबेला यी दुईदेशबीच राम्रो सम्बन्ध छैन । चीन र अमेरिकाबीचको सम्बन्ध विग्रिएको छ । व्यापार युद्धको अवस्था देखा परेको छ । अमेरिकाले पनि दुई सातअघि भारतलाई दिँदै आएको व्यापारिक सहुलियत कटौतीको निर्णय गरेको छ । यो परिदृश्यमा चीनले आफूसँगै पाकिस्तान र भारतलाई मिलाएर अघि बढ्ने दिशामा काम गरिरहेको छ । यो ठूलो कूटनीतिक परिवर्तन पनि हो । तर मसूद अजहरलाई आतंकवादी घोषणा गर्ने प्रस्तावको विपक्षमा उभिएकोमा भारत चीनसँग खुसी छैन भने भारत भन्दा पाकिस्तान नै चीनको प्राथमिकतामा छ ।

चीनको चाहाना
चीन पछिल्लो समयमा भारत र पाकिस्तानबीचको संघर्षमा मध्यस्थताको भूमिका खेल्न चाहन्छ । चीनको चाहाना यो प्रयासमा पाकिस्तान पनि नरिसाओस र भारतसँगको आगामी सम्बन्ध निर्माणको बाटोमा पनि कुनै असर नपरोस् भन्ने चिनियाँ चाहाना देखिन्छ ।

यद्यपि चीनलाई यो सन्तुलन मिलाउन सजिलो भने छैन । किनकि पछिल्ला करिब ७० वर्षदेखि भारत र पाकिस्तानबीचको तनाव पूर्ण सम्बन्धमा सुधार आउन सकेको छैन । बेइजिङमा रहेका पत्रकार अतुल अनेजा बीबीसीसँगको एक अन्तर्वार्तामा भन्छन्, ‘मलाई लाग्छ कि भारत र पाकिस्तान दुवैको हितमा ध्यान दिएर यस दिशामा चीनले कुनै काम गरिरहेको हुनुपर्छ । मसूद अजहरलाई आतंकवादी घोषित गर्न दियो भने पाकिस्तानको हार मानिनेछ । आज चीनले जुन निर्णय गरेको छ, त्यसलाई अन्तिम मानिनुहुन्न । यो एक प्रक्रिया सुरु भयो । चीनका विदेशमन्त्री हालै पाकिस्तानबाट फर्किएका छन् । भारत पनि जाने इच्छा व्यक्त गरेका छन् । अब भारतले कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा यो निर्भर हुनेछ ।’

भारतले फ्रान्सबाट ३६ वटा यस्ता लडाकू विमान खरिद गर्ने सम्झौता गरेको छ । यो घटनामा भारतलाई फ्रान्सले साथ नदिने हो भने उसले फ्रान्ससँगको सम्झौताअनुसार १५ देखि १८ बिलियन डलर बराबरको खरिद सम्झौता स्थगित गरिदिन सक्छ । त्यसले पनि फ्रान्स जबरजस्त रुपमा भारतका पक्षमा उभिएको छ ।

फ्रान्सद्वारा सम्पत्ति रोक्का
फ्रान्सले मसूद अजहरको सबै सम्पत्ति रोक्का गर्ने घोषणा गरेको छ । भारतीय सञ्चारमाध्यमले यसलाई भारतको ठूलो सफलताका रुपमा लिएको चर्चा गरेका छन् । हुन त भारतले पाकिस्तानी भूभागमाथि हवाई हमला गर्दा भारतीय सञ्चारमाध्यम त्यहाँ कुनै सेना नभएर आफू नै गएर युद्ध गरेको जस्तो महसुस हुनेगरी मैदानमा उत्रिएका थिए ।
त्यसैले भारतीय सञ्चारमाध्यमको यो भनाईलाई सामान्य रुपमा लिनुपर्छ । तर फ्रान्सले पाकिस्तानी भूमिमा क्रियाशील मसूद अजहरमाथि प्रतिबन्ध लगाउनुको कारण भारतसँगको असल सम्बन्ध र आतंकवादविरोधी लडाईमा उसको प्रतिबद्धताले मात्रै होइन । यसका पछि फ्रान्सको हतियार कारोबारको स्वार्थ लुकेको छ । गत २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट ३ वटा राफेल लडाकू विमान भारत आइपुगेका थिए ।

भारतले फ्रान्सबाट ३६ वटा यस्ता लडाकू विमान खरिद गर्ने सम्झौता गरेको छ । यो घटनामा भारतलाई फ्रान्सले साथ नदिने हो भने उसले फ्रान्ससँगको सम्झौताअनुसार १५ देखि १८ बिलियन डलर बराबरको खरिद सम्झौता स्थगित गरिदिन सक्छ । त्यसले पनि फ्रान्स जबरजस्त रुपमा भारतका पक्षमा उभिएको छ । गत वर्ष पत्रकार जमाल खशोग्गीको हत्याको घटनामा साउदीसँगका हतियार कारोबारकै कारण अमेरिका आँखा चिम्लिएर बस्यो ।

अन्त्यमा, आतंकवाद जुन अर्थमा गरेपनि त्यो आतंकवाद नै हो । त्यसले निम्त्याउने समस्या भयानक बन्ने गर्छ । काश्मिर समस्या भारत र पाकिस्तानको मात्रै समस्या होइन । यो दक्षिण एसियाको विकास र समृद्धिका लागि हल नभई नहुने समस्या हो र राष्ट्रसंघमा समेत पुगिसकेको विषय हो । काश्मिर समस्या समाधानका लागि भारत र पाकिस्तान जिम्मेवारीपूर्वक प्रस्तुत हुनुको विकल्प छैन । आतंकवाद अन्त्यका लागि पनि दुई देशबीच सहकार्य आवश्यक छ । त्यसका लागि दुई देशबीच सुमधुर सम्बन्ध निर्माण गर्दै वार्तामार्फत नै समस्याको हल खोजिनुपर्छ । एजेन्सीको सहयोगमा

(Visited 192 times, 1 visits today)
Loading comments...