सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

सशस्त्रले तीन प्रतियोगिता गर्ने

राजधानी समाचारदाता
1 week ago
16/03/2019

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा १० चैतबाट ‘१५औं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुला ब्याडमिन्टन प्रतियोगिता–२०७५ हुने भएको छ । त्यसैगरी ‘११औं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुुला महिला भलिबल प्रतियोगिता’ सञ्चालन हुने बताइएको छ । समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार पत्रकार सम्मेलनमार्फस सो जानकारी दिए ।

उनले सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षाको नियमित कार्यसँगै राष्ट्रिय स्तरका यी तीनवटै प्रतियोगितालाई विगत लामो समयदेखि निरन्तर रूपमा सञ्चालन गरी समग्र खेलकुद क्षेत्रको विकासका लागि निरन्तर क्रियाशील रहँदै आइरहेको बताए ।

एपीएफ क्लबले स्थापना कालदेखि हालसम्म राष्ट्रिय स्तरमा ७१९ स्वर्ण पदकसहित कुल ११ हजार ८८४ पदक तथा अन्तर्राष्ट्रिय स्तरमा ४२ स्वर्ण पदकसहित कुल ९९ पदक गरी १ हजार ९८३ पदक प्राप्त गर्न सफल भएको उनले बताए ।

उनले क्लबका खेलाडीले फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, लनटेनिस, बक्सिङ, कराते, तेक्वान्दो, एथ्लेटिक्स, ह्यान्डबललगायतका २४ वटा खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेको बताए ।

खेलको राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन हुने उक्त तीनवटै राष्ट्रिय प्रतियोगिताको कुल पुरस्कार राशि १७ लाख ६० हजार रुपैयाँ रहेको कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले बताए ।

नौवटा इभेन्ट्स समावेश रहेको ब्याडमिन्टन प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख १० हजार रुपैयाँ रहेको छ भने १३ वटा इभेन्ट्स समावेश लनटेनिस प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

४ लाख ५५ हजार रुपैयाँ कुल पुरस्कार राशि रहेको राष्ट्रिय खुुला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार तथा दोस्रो हुने टिमले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट हुने प्रत्येक खेलाडीलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले जानकारी गराए ।

(Visited 195 times, 1 visits today)
Loading comments...