आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

बालविवाह गरेका वलीलाई जबर्जस्ती करणीको मुद्दा

ओपेन्द्र बस्नेत
2 months ago
16/03/2019

 

तुलसीपुर । पश्चिम दाङमा उमेर नपुगेकी किशोरीलाई बिहे गर्ने एक युवकलाई प्रहरीले जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएको छ । दाङमा यो पहिलो घटना हो ।पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–७ सानो तुलसीपुरका २७ वर्षीय टेकबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले गत २६ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । किशोरीका आफन्तले गत २२ गते जबर्जस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७३ को बालविवाह गर्न नहुने महलको उपदफा (१) मा २० वर्ष उमेर नपुगी विवाह गरेमा विवाह बदर हुनेदेखि कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ । अपराध संहिता ऐन, २०७४ मो मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

वलीले गत माघ १३ गते १६ वर्षकी किशोरीलाई भगाएर ल्याएका थिए । माइतीको आग्रहलाई सहज रूपमा स्वीकार नगरेका कारण विवाहले जबर्जस्ती करणीको रूप लिएको शान्तिनगर गाउँपालिका–७ का वडाध्यक्ष पिमलाल वलीले बताए ।

‘केटीका बुबा आएर आउनेजाने खर्च दिनूस्, म छोरी लैजान्छु जे हुने हो भइगो भने,’ वडाध्यक्ष वलीले भने, ‘घरमा पनि श्रीमती भएकाले दाङजस्तो ठाउँमा सौतामा मेरी छोरी बस्न सक्दैन त्यसैले लैजान्छु भन्दै थिए । केटाले खासै मतलव गरेन । हामीले भनेअनुसार आउनेजाने सामान्य खर्च दिएर पठाएको भए यस्तो हुने थिएन ।’ अध्यक्षका अनुसार किशोरी भगाएर ल्याएका वली लुक्दै बस्दै गर्दै आएका थिए ।

यता अधिवक्ता रामशरण चौधरीले विवाह गरेको प्रमाण (फोटो) भएमा प्रहरीले जबर्जस्ती करणीको मुद्दा चलाए पनि बालविवाहअन्तर्गत हुने र यदि प्रमाण नभएमा करणीसम्बन्धी मुद्दा चल्ने बताए । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को जबर्जस्ती करणी गर्न नहुने महलअन्र्तगत २१९ को उपदफा (३) घ मा १६ वर्षदेखि माथि १८ वर्षसम्मका बालिकालाई जबर्जस्ती करणी गरेमा १० देखि १२ वर्षसम्म कैद हुने व्यवस्था छ ।

 

 

 

(Visited 101 times, 1 visits today)
Loading comments...