आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने

सरिता दाहाल
2 months ago
16/03/2019

 

चुरे (मकवानपुर)। चुरे मकवानपुरमा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा किसानलाई उचित क्षतिपूर्ति दिएर नष्ट गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको बैठकले उचित क्षतिपूर्तिसहित संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो ।

क्षतिपूर्ति निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ भने किसानको प्रतिनिधित्व गर्ने मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदो लेयर्स ९ सय, ब्रोइलर ४ सय, दाना प्रतिकेजी ६५ र अन्डा प्रतिगोटा ११ रुपियाँ मूल्य निर्धारण गरी जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई बुझाउने भएको छ । बैठकले बर्डफ्लु संक्रमित पाइएको नागश्वती–७ का कुलप्रसाद चौलागार्इंले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी भित्र परेका जिउँदा ४१ हजार ५ सय कुखुरा मार्ने भएको छ । सीमाक्षेत्र बाहिर रहेका कुखुरा फर्ममा पशु चिकित्सकको टोली परिचालन गरी रोग नियन्त्रणका लागि नमुना संकलन गर्ने र रोग प्रमाणित भए नष्ट गरिने निर्णय भएको छ । रोग प्रभावित क्षेत्रमा फागुन १३ अगाडि एच नाइन (गम्बारो, रानीखेत ) सहितको संक्रमण देखिएको रिपोर्ट भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएको थियो ।

संक्रमित क्षेत्रमा रहेका ५० किसानले ७ करोडको लागतमा १ लाख कुखुरा पालन गरेका थिए । बैठकले संक्रमित क्षेत्रलाई रेडएरिया घोषित गरेको छ । बैठकमा पशु सेवा विभागबाट वरिष्ठ पशु चिकित्सक रामकुमार कार्की, डाक्टर विकेश राउत र प्रविधिक प्रकाश मगरसहित उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष वासु खतिवडा, हेटौंडा उपमहानगरका उपमेयर मिना लामा कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीसहित किसान सहभागी थिए । फ्लु संक्रमण देखिएको कुलप्रसाद चौंलागाईंको फर्ममा हालिएका ६ हजार कुखुरा मरेका थिए । अनपेक्षित रूपमा कुखुरा मरेको किसानको गुनासोपछि गाउँमा पशु चिकित्सकको टोली संक्रमित क्षेत्र पुगेको थियो । टोलीले संक्रमित क्षेत्रबाट पाँचवटा फर्मबाट १० वटा नमुना संकलन गरेपछि जाँचका लागि केन्दीय प्रयोगशाला पठाएको थियो रिपोेट २५ दिन पछि आउँदा किसानको खोर रित्तिएको स्थानीयको गुनासो छ ।

 

संक्रमित क्षेत्रबाहेकका उत्पादनको ओसारपसार खुला

हेटौंडा उपमहानगरपालिका–७ नागश्वतीमा देखिएको बर्डफ्लुको संक्रमणपछि स्थानीय प्रशासनले पन्छीजन्य पदार्यमा लगाएको रोक खुला गरेको छ । रोेगको संक्रमण फैलन सक्ने भन्दै प्रशासनले हिजोबाटै पन्छीजन्य उत्पादन ओसारपसारमा रोक लगाएको थियो । शुक्रबार व्यवसायी संघको बैठकपछि प्रशासनले सिल गरेकाु क्षेत्रबाहेक अन्यत्र उत्पादन बिक्रीवितरण खुला गरेको हो । प्रशासनले पन्छीजन्य उत्पादन बिक्रीका लागि पशु चिकित्सक भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख चेत नारायण खरेलको सिफारिस अनिवार्य हुनुपर्ने बताएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले पशु चिकित्सकको सिफारिसमा बिक्री वितरण खुला गरेको बताए ।

(Visited 108 times, 1 visits today)
Loading comments...