आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

फास्ट ट्र्याक समयमै सकिने विकास समितिको निष्कर्ष

राजधानी समाचारदाता
2 months ago
16/03/2019

 

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गका विकास तथा प्रविधि समितिले काठमाडौं र तराई मधेस जोड्ने छोटो दूरीका काठमाडौं–निजगढ फास्ट ट्र्याक (द्रुतमार्ग) समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ ।

समितिले गठन गरेको उपसमितिले गरेको अध्ययन प्रतिवेदनमाथि छलफल गर्दै शुक्रबार समितिले यस्तो निष्कर्ष निकालेको हो । समितिअन्तर्गतको उपसमितिले सो द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो ।

समितिकी सभापति कल्याणी खड्काले समितिको शुक्रबारको बैठकमा सो द्रुतमार्गको स्थलगत अवलोकनसम्बन्धी प्रतिवेदन पेस गर्दै नेपाली सेनाले सो द्रुतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको जानकारी दिइन् । ७६ दशमलव २ किलोमिटर लम्बाई रहेको सो द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ ।

उपसमितिकी संयोजकसमेत रहेकी सभापति खड्काले स्थलगत अवलोकनका क्रममा सो द्रुतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको उल्लेख गरिन् । प्रतिवेदनमा सो द्रुतमार्गको काम बिनाअवरोध अघि बढाउन र सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढ्न पनि नेपाली सेनालाई सुझाव दिइएको छ । त्यसैगरी, स्थानीय स्तरमा भएका निर्माण सामग्रीको उचित प्रयोगमा ध्यान दिन पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति खड्काले बताइन् । स्थानीय निर्माण सामग्री प्रयोगमा कानूनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ ।

प्रतिवेदनमा सो द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ । २०७४ साल २१ वैशाखमा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले चार वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी सो द्रुतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो आयोजना निर्माणका लागि १ खर्ब १२ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

 

 

(Visited 90 times, 1 visits today)
Loading comments...