मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

इन्जिनियर ताला लगाउँदै सरकार फकाउँदै

टेनिस रोका
4 months ago
22/03/2019

काठमाडौं। प्रोत्साहन भत्ता कटौतीपछि असन्तुष्टि जनाउँदै पुनर्निर्माणको काम छाडेका इन्जिनियरलाई सरकारले फकाएर काममा फर्काउने तयारी गरेको छ ।सरकारको भत्ता कटौती निर्णयप्रति असन्तुष्टि जनाएर काम छाडेसँगै पुनर्निर्माणको काम नै प्रभावित भएपछि इन्जिनियरका माग पूरा गर्न सरकार लागेको हो । सरकारले इन्जिनियरका मागमा अधिकतम लचक बनेर उनीहरूलाई काममा फर्काउने तयारी गरेको हो । इन्जिनियरका माग सम्बोधनका लागि सरकारले पहलसमेत अघि बढाइसकेको छ ।

‘उहाँहरूको माग सम्बोधनका लागि हामीले प्रक्रिया सुरु गरिसकेका छौं । मन्त्रिपरिषद्बाट निर्णय हुने हो हो, त्यतिन्जेल उहाँहरूले धैर्यता गर्नुप¥यो,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरेले राजधानीसँग भने ।
दुर्गम क्षेत्रमा पाउने प्रोत्साहन भत्ता कटौती गरेको भन्दै भूकम्पप्रभावित ३२ जिल्लाका करिब २ हजार ७ सय इन्जिनियरलगायत प्राविधिक आन्दोलित थिए ।इन्जिनियरहरूले तीन साताअघि प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित पुनर्निर्माण हेर्ने कार्यान्वयन एकाइ तथा जिल्ला समन्वय समितिमा १५ दिने अल्टिमेटमसहितको माग राखेका थिए ।

१५ दिनमा पनि माग पूरा नभएको भन्दै इन्जिनियरहरू कार्य क्षेत्र छाडेर सदरमुकाममा भेला हुँदा पुनर्निर्माणको काममा असर परेको हो । इन्जिनियरले गत सोमबार कतिपय जिल्लाका पुनर्निर्माण हेर्ने कार्यालयमा ताला लगाएका थिए । कतिपय जिल्लामा प्रहरीको सहायतामा ताला फोडिएको छ ।सरकारले १ साउनदेखि प्रोत्साहन भत्ता कटौती गरेको थियो । करिब दुई वर्षदेखि प्रोत्साहन भत्ता दिँदै आएकामा कटौती भएपछि माग गर्दै इन्जिनियर आन्दोलित बन्न पुगेका हुन् ।
यसअघि दुर्गममा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने गरेकामा सरकारले कटौती गरेको थियो । उक्त निर्णयमा इन्जिनियर तथा प्राविधिकले असन्तुष्टि जनाएपछि सरकारले ५० प्रतिशत भत्ता दिने निर्णय गरिसकेको छ । सरकारले १ फागुनदेखि ५० प्रतिशत भत्ता दिने निर्णय गरे पनि इन्जिनियरहरूले त्यसमा असन्तुष्टि जनाएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले साविकमा भएबमोजिम नै भत्ता पाउनुपर्ने माग गरेका छन् ।

प्राधिकरणले भने उनीहरूको मागको विषयमा छलफल भइरहेको भन्दै काममा फर्कन आग्रह गरेको छ । ‘सरकारले ५० प्रतिशत भत्ता १ फागुनदेखि हुने गरी निर्णय गरिसकेको छ । तर, उहाँहरूले साविकअनुसार नै हुुनुपर्ने र १ साउनदेखि नै पाउनुपर्ने माग गर्नुभएको छ । हामी उहाँहरूको माग सम्बोधन गर्न छलफल गरिरहेका छौं,’ प्रवक्ता घिमिरेले भने ।
असन्तुष्ट इन्जिनियरले नियुक्तिपत्रमा प्रोत्साहन भत्ता दिने, दुर्घटना बिमालगायतका सेवा, सुविधा दिने लेखिए पनि नपाएपछि आन्दोलित हुनुपरेको गुनासो गरेका छन् ।

उनीहरूले प्रोत्साहन, महँगी, यातायात, सञ्चार भत्ताका साथै सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा फर्कन नसकिनेसमेत जनाएका छन् । पुनर्निर्माणमा खटिने प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य र दुर्घटना बिमासमेत गर्नुपर्ने उनीहरूको माग छ ।
यसअघि सरकारले पुनर्निर्माणमा खटिएका प्राविधिकलाई भौगोलिक र कार्य प्रगतिको आधारमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिएको थियो ।

(Visited 847 times, 1 visits today)
Loading comments...