सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

चलचित्र विकास बोर्ड अध्यक्षमा भट्टराई

राजधानी समाचारदाता
4 months ago
22/03/2019

 

काठमाडौं। चलचित्र निर्माता एवं कलाकार केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कलाकार भट्टराईलाई दुई वर्षका लागि बोर्डको अध्यक्षपदमा नियुक्त गरिएको हो ।

चलचित्र विकास बोर्डका लागि दुई साताअघि योग्यता पुगेका व्यक्तिहरूलाई लक्षित गरेर पत्रपत्रिकारमार्फत दर्खास्त आह्वान गरिएको थियो । कलाकार भट्टराईसहित पाँच जनाले बोर्ड अध्यक्षका लागि आफ्नो कार्ययोजनासहित दर्खास्त हालेका थिए । ती पाँचमध्येबाट भट्टराई बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् । निकिता पौडेलले राजीनामा दिएपछि चलचित्र विकास बोर्ड एक महिना यताबाट रिक्त थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंस्था जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्षसमेत रहेका भट्टराईलाई बोर्डमा पठाउने निर्णय संघले गरेपछि उनको ठाउँमा चलचित्र निर्देशक एवं कलाकार दिनेश डिसीलाई संघका अध्यक्ष बनाइएको छ । उनी नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

कलाकार केशव भट्टराईले बोर्ड अध्यक्ष नियुक्त भएपछि खुसी व्यक्त गर्दै भोलि शुक्रबारदेखि बोर्डमा हाजिर गरेर काम थाल्ने बताएका छन्, ‘शुक्रबारबाटै म बोर्डमा गएर काम सुरु गर्नेछु । अहिलेको समस्या भनेको नेपाली चलचित्र उद्योगलाई व्यवस्थित गर्नुपर्ने भएकाले त्यसतर्फ तत्कालै केन्द्रित हुनेछु ।’ भट्टराईले फिल्म क्षेत्रमा देखिएको बेथितिलाई प्राथमिकता दिने पनि बताएका छन् ।

अध्यक्षका लागि आफूले सञ्चार मन्त्रालयमा यसअघि पेस गरेको भावी कार्ययोजनालाई साथीसँग सल्लाह गरेर अघि बढाउने पनि उनले बताएका छन् । चलचित्र विकास बोर्डमा रहेर नीतिनिर्माण, मोफसलमा बक्स अफिस लागू, काठमाडौंको बक्स अफिस व्यवस्थापनदेखि धेरै काम गर्नुपर्ने भएकाले ती सबै कामलाई एकपछि अर्को गर्दै अघि सम्पन्न गर्ने पनि भट्टराईले बताएका छन् ।

 

 

 

(Visited 58 times, 1 visits today)
Loading comments...