बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

दुई चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

एजेन्सी
1 month ago
22/03/2019

सियोल । अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ ।

अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

उत्तर कोरियाबाट उत्पादित कोइला एक जहाजबाट अर्को जहाजमा राखेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको अमेरिकी आरोप छ । यस्तो धन्धामा अरु एक दर्जन कम्पनी संलग्न रहेको भन्दै सूक्ष्म अनुसन्धान भइरहेको अमेरिकाको अर्थ मन्त्रालयले जनाएको छ ।

भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको वार्ता विफल भएपछि पछिल्लो प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाले उत्तर कोरियामाथि आणविक हातहतियारको उत्पादन र क्षेप्यास्त्र प्रणाली विकास कार्यक्रम स्थगित गर्न एवं आफूसँग रहेका सबै किसिमका आणविक अस्त्र नष्ट गर्न दबाब दिइरहेको छ । उत्तर कोरियाले भने राष्ट्रसङ्घीय प्रतिबन्धहरु तत्काल फुकुवा हुनुपर्ने शर्त राखेको छ ।

‘संयुक्तराज्य अमेरिका र यसको दृष्टिकोणसँग मिल्दाजुल्दा साझेदारहरु उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम पूर्ण रुपमा त्यागोस् भन्ने चाहन्छन्,’ अर्थ मन्त्री स्टिभेन मन्चिनले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सन् २०१७ मा उत्तर कोरियाले आणविक हातहतियार र ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेलगत्तै राष्ट्रसङ्घले उत्तर कोरिया विरुद्ध विभिन्न प्रतिबन्धहरु घोषणा गरिएको छ । उक्त प्रतिबन्धहरुमा उत्तर कोरियाले प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्न र कोरियाबाट कोइला निर्यात गर्न नपाइने रहेका छन् ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार गत वर्ष कम्तीमा २६३ ट्याङ्कर प्रशोधित पेट्रोलियम गैरकानुनी किसिमबाट उत्तर कोरिया भित्रिएको थियो । यदि ती ट्याङ्कर पूरा भरिएको अवस्थामा रहेका भए कोरियाले करिब ३७ लाख ८० हजार ब्यारेल इन्धन आयात गरेको देखिन्छ ।

राष्ट्रसङ्घले तोकेको भन्दा यो झण्डै ८ गुणा बढी आयात हो । प्रति वर्ष पाँच लाख ब्यारेल तेल मात्र उत्तर कोरियाले आयात गर्न पाउने गरी राष्ट्रसङ्घले सीमा तोकेको छ । -रासस/योनहाप

(Visited 68 times, 1 visits today)
Loading comments...