बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

राजपा र फोरम नेपाल एकीकरण मिलनबिन्दुको खोजी

सुभाष साह
1 month ago
23/03/2019

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) र संघीय समाजवादी फोरम नेपालबीच एकीकरणका लागि मिलनबिन्दुको खोजी सुरु भएको छ । दुवै दलले एकीकरणका लागि औपचारिक रूपमा छलफल सुरु गरिसकेका छन् । एकअर्कालाई पत्र लेख्दै दुवै दलले मिलन बिन्दु पहिल्याउँदै छन् । एकीकरणका लागि दुवै दल सकारात्मक रहेको र छिट्टै एकता टुंगो लगाउन पहल भइरहेको बताएका छन् ।

राजपा नेपाल अहिले प्रमुख प्रतिपक्षी दल हो भने फोरम नेपाल सत्ता साझेदार दल हो । यद्यपि दुवै दल संयुक्त उम्मेदवारी दिई पछिल्लो निर्वाचनमा सहभागी भएका थिए । प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालको संयुक्त सरकार छ । तर, फोरम नेपाल संघीय सरकारमा सहभागी रहेको छ भने राजपा प्रतिपक्षी दलको भूमिकामा रहेको छ । संसद्देखि सडकसम्म राजपाले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै सरकारको कडा आलोचना गर्दै संघर्ष गरिरहेको छ । तर फोरम नेपाल संघीय सरकारमा सहभागी भएकाले सदनदेखि सडकसम्म सरकारको प्रतिरक्षा गर्दै अघि बढिरहेका छन् ।

राजपा नेपालका तत्कालीन अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले लेखेको पत्रमा ६ वटा पार्टीका बीचमा एकीकरण गरी राजपा नेपालको घोषणा गर्दा फोरम नेपाललाई पनि आग्रह गरिएको थियो तर त्यसबेला फोरम नेपालको अनुपस्थितिले एकताको अभियान अपूर्ण रहन गएको उल्लेख छ । अब त्यसलाई पूर्णता दिनका लागि फोरम नेपालले लेखेको पत्रले राजपा नेपाल आशावादी हुन पुगेको यादवको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा केन्द्रीय राजनीतिको दुई ध्रुव सत्ता र प्रतिपक्षमा रहेका हामीबीच कसरी एकता वार्ता गर्ने ? एकता प्रक्रियालाई अगाडि बढाउन फोरम नेपाललाई वार्ताको वातावरण बनाउन आग्रह गर्दछौं ।’

 

पार्टी एकीकरण गर्न पार्टीहरूबीच उद्देश्य, नीति, कार्यक्रम, सिद्धान्त र विचार मिल्न आवश्यक रहेको जनाउ“दै फोरमले यससम्बन्धी वार्ता अघि बढाउन आग्रह

 

राजपा नेपालको पत्र प्राप्त भएपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकरणका लागि छलफल सुरु भएकोमा खुसी व्यक्त गर्दै धन्यावाद व्यक्त गरेका छन् । एकअर्कालाई आरोप प्रत्यारोपमा समय र शक्ति खर्च गर्नुभन्दा पनि मुलुकको वर्तमान परिस्थिति, आवश्यकता र शोषित, पीडित जनताको मुक्तिका सवाललाई नै महŒव दिई देश र जनताको भविष्यलाई ध्यानमा राखेर अगाडि बढ्नु उचित हुने फोरम नेपालले जनाएको छ ।
‘हाम्रा दुई पार्टीबीच एकीकरण हुनासाथ सरकार वा विपक्षमा कहाँ रहेर के कार्य गर्ने र कस्तो भूमिका खेल्ने हो ? एकीकरणपछि बनेको एकीकृत पार्टीले सो सम्बन्धमा निर्णय गरेअनुसार नै हुने गरी पार्टी एकीकरणको प्रक्रियालाई अघि बढाउन सकिन्छ अथवा आपसी सहमति र समझदारीकै आधारमा यस्ता विषय हल गर्न सकिन्छ,’ फोरमका अध्यक्ष यादवले राजपा नेपाललाई लेखेको पत्रमा उल्लेख छ । फोरम नेपालले दुई पार्टीमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा भएकै कारणले मात्र पार्टी एकीकरणजस्तो महŒवपूर्ण कार्यमा बाधा अवरोध हुनुहँुदैन भन्दै छलफल अघि बढाउन आग्रह गरेको छ ।

एकीकरणअघि नै सरकार छोड्न नहुने निष्कर्षसहित फोरमले दुई पार्टीका बीचमा एकीकरण नीतिगत सवाल नभई रणनीतिक तथा कार्यनीतिक सवाल मात्रै रहेको उल्लेख गर्दै समयसापेक्ष परिवर्तनशील भइरहने जनाएको छ । पार्टी एकीकरण गर्न पार्टीहरूबीच उद्देश्य, नीति, कार्यक्रम, सिद्धान्त र विचार मिल्न आवश्यक रहेको जनाउँदै फोरमले यससम्बन्धी वार्ता अगाडि बढाउन आग्रह गरेको छ । राजपा नेपालका महासचिव केशव झाले दुवै दलका बीचमा एकीकरण प्रक्रिया सुरु भएको बताए । दुवै दलले पत्राचार गर्दै एकीकरण टुंगो लगाउन वार्ताटोली गठन गरिसकेको उनले बताए ।
‘एकीकरणका लागि सकारात्मक रूपमा हामी तयार छौं,’ महासचिव झाले भने, ‘६ पार्टीबीच एकीकरण गरी राजपा नेपाल घोषणा गर्दै गर्दा त्यसबेला फोरम नेपाल सहभागी हुन सकेन तर अब दुवै दलबीच एकीकरणका लागि छलफल सुरु हुनु भनेको सकारात्मक नै हो ।’

फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टी सरकारमा हुनु वा नहुनु भन्ने विषय एकीकरणका लागि बाधक नभएको बताए । एकीकृत पार्टीको निर्णयअनुसार सरकारमा बस्ने कि नबस्ने त्यो पछि निर्णय गर्न सकिने बताउँदै वार्ता सुरु गरिने बताए । ‘हामी सरकारमा छौं, उहाँहरू प्रतिपक्षमा हुनुहुन्छ, एकीकरणका लागि यो बाधक विषय होइन,’ महासचिव यादवले भने, ‘एकीकरणका लागि छलफल गरौं, सरकारमा बस्ने कि नबस्ने विषय एकीकृत पार्टीको निर्णयानुसार हुनेछ ।’दुवै दलका बीचमा एकीकरणका लागि छलफल शुरु हुनु भनेको खुसीको विषय भएको उल्लेख गर्दै उनले एकीकरणलाई टुंगोमा पु¥याउने गृहकार्य तीव्र पारिएको बताए ।
राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डल र महासचिव अजय गुप्ताले दुवै पार्टीका बीचमा एकीकरणका लागि छलफल सुरु भएको बताउँदै यसलाई छिट्टै नै टुंगोमा पु¥याउने बताए । पार्टी एकीकरणका लागि छलफल अघि बढाउन राजपा नेपालले पार्टीका अध्यक्ष मण्डलका पूर्वसंयोजक राजेन्द्र महतो र फोरम नेपालले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ ।

 

(Visited 57 times, 1 visits today)
Loading comments...