सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

अनुशासित आचरण : कानुनी शासन

4 months ago
24/03/2019

अच्युत कुइँकेल                                              कृष्णप्रसाद थपलिया

 

शासित हुन कोही चाहँदैनन् । जो कोही पनि शासक बन्‍ने लालसामा रहेको पाइन्छ । बृहत् अर्थमा राजनीतिक रूपमा गरिने शासनको बागडोरमा पुग्न जो कोहीले सहजै पाउने अवस्था र सम्भावना हुँदैन । यद्यपि, दिनानुदिन व्यक्तिका क्रियाकलापमा अन्य पक्षबाट निर्देशन र नियन्त्रण नहोस् भन्‍ने चाहना सबैले राख्‍ने गर्दछन् । सामाजिक विकास क्रममा व्यक्तिले समाजसँग गरेका सम्झौताका आधारमा समाज स्वचालित छ । समाजका हरेक क्रियाकलापमा कानुनी बन्धन न त सम्भव छ, न वाञ्छनीय नै । कानुनी जटिलताका फाइदा लिन सक्षम व्यक्तिहरूलाई झन् कानुनी कारबाहीको भय हुँदैन भनिन्छ । स्वनियन्त्रणरूपी हतियार प्रयोग गर्न सकिने हो भने समाजलाई प्रभावकारी रूपमा नियन्त्रित र व्यवस्थित गर्न सकिन्छ । लोककल्याणकारी राज्यको अवधारणासँगै खुला बजार, अर्थतन्त्र एवं पारदर्शी समाजमा व्यक्तिको कार्यहरूमा राज्यको हस्तक्षेपकारी भूमिकाको कमै अपेक्षा गरिन्छ ।

समाजमा हुने क्रियाकलापलाई व्यवस्थापन गर्न त्यस्ता क्रियाकलापमा हुने असंगत विषय पहिचान गरिन्छ । ती पहिचान भएका विषयलाई सर्वस्वीकार्य रूपमा मानक र मापदण्ड तयार गरी अघि बढाउने चलन विश्‍वव्यापी रूपमा छ । कानुनको शासन अवलम्बन गर्ने मुलुकमा पारदर्शिता, जवाफदेहिता जस्ता विषयले विशेष महŒव राख्‍ने हुन्छ । कानुनबमोजिम शासन हुन शासित र शासकको साझा सहमति जरुरी हुन्छ । सैद्धान्तिक रूपमा शासकले निर्धारण गर्ने मानकलाई शासितले व्यवहारमा समेत स्विकार्नु जरुरी हुन्छ । जतिसुकै कडा कानुनी व्यवस्था भए पनि लागू हुन सकेन भने ती प्रबन्ध कोरा कानुनी दस्तावेजमा सीमित हुन पुगेको देखिन्छ । अनुशासन स्वनियन्त्रण हो । आफूले आफैंलाई सीमित परिधिभित्र राख्‍न र असल आचरण गर्नु अनुशासनको सुन्दर पक्ष हो । अनुशासित आचरण कायम गर्न सक्ने हो भने कानुनी शासनका लागि आधारस्तम्भ खडा गर्न मद्दत गर्छ । समाजका विभिन्‍न तह र तप्काका नागरिकका लागि उनीहरूले गर्ने कर्तव्य निर्धारण गरी उनीहरूको अधिकारको सम्मान राज्यले गर्नुपर्दछ ।

अनुशासन सामान्यतया व्यक्ति स्वयंले तय गर्ने विषय हो तर व्यक्ति सबै अवस्थामा आफ्नो कदम सही रूपमा अगाडि बढाउन सक्ने अवस्थामा हुँदैन । आचारसंहिताको सर्वोच्च रूप मुलुकको संविधान र कानुन नै हो । कतिपय व्यावहारिक पक्ष समेत समेटेर व्यक्तिका गतिविधि नियन्त्रित र व्यवस्थित गर्न आचारसंहिताको निर्माण गरिने गरिन्छ । कानुनी शासनको प्रत्याभूतिका लागि कानुनबमोजिम शासन कायम हुनु जरुरी हुन्छ । कानुनको प्रभावकारिता अभिवृद्धिका लागि कानुन कार्यान्वयनका संयन्त्रहरूको सबलीकरण जरुरी हुन्छ । आचारसंहितालाई समेत कानुनी प्रबन्धसँग तालमेल गर्दै आचारसंहिता उल्लंघनमा कानुनी कारबाही हुने भयले समेत आचारसंहिता पालना वृद्धि गराउन मद्दत गर्छ । सामान्यतयाः आचारसंहिता लागू गरिने वर्ग समाजको चेतनशील वर्ग नै पर्दछ ।

आचरणलाई दिशानिर्देश गर्न विभिन्‍न क्षेत्रका लागि क्षेत्रगत रूपमा आचारसंहिता तर्जुमा गर्ने प्रचलन सुरु भएको पाइन्छ । विश्‍वव्यापी रूपमा आचारसंहिताको प्रचलन सुरु भएको धेरै भएको पाइँदैन । मुलुकमा सार्वजनिक सेवा प्रदान गर्न व्यवस्थित सार्वजनिक प्रशासनका विभिन्‍न अवयवले अलग अलग आचारसंहिता निर्माण गरी लागू गरिएको पाइन्छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४, भ्रष्टाचार निवारण ऐन २०५९, निजामती सेवा ऐन २०४९ तथा नियमावली समेतका कानुनी प्रबन्धले असल आचरणको अपेक्षा राखेको पाइन्छ । निजामती कर्मचारीहरूका लागि आचारसंहिता सरकारी वकिलका आचारसंहिता लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतका संवैधानिक निकायका कर्मचारीको आचारसंहिता बनी जारी भएको पाइन्छ ।

सरकारी वकिलका लागि निजामती कर्मचारी आचारसंहिता र सरकारी वकिलको आचारसंहिता लागू भए जस्तै अन्य निकायमा कार्यरत व्यक्तिहरूलाई समेत दोहोरो आचारसंहिता लागू भएको समेत पाइन्छ । सिद्धान्ततः आचारसंहितालाई कानुनभन्दा कमजोर मानक मानिए पनि व्यवहारतः आचारसंहिता प्रमुख मानक हो भन्‍नेमा शंका गर्नुपर्दैन । व्यक्तिका गतिविधिहरू अवाञ्छित नहुन, गलत धारमा नबगून् भनी निश्चित मार्गनिर्देशनसाथ अघि बढ्ने अस्त्र आचारसंहिता हो । न्यायाधीशहरूका लागि समेत आचारसंहिता जारी हुने गरेबाट सबै वर्गका व्यक्तिलाई यसको आवश्यकता महसुस गरिएको पाइन्छ । न्यायाधीशलाई उच्च नैतिक चरित्रवान्, समाजको पथप्रदर्शक र आदर्श व्यक्ति मानिन्छ । न्यायाधीशलाई नै आचारसंहिताको भय देखाउनुपर्ने अवस्था प्रिय होइन । आचारसंहिताले व्यक्तिको आचरण नियमित र व्यवस्थित गरी समाजलाई सही मार्गमा डो‍¥याउन मद्दत गर्छ ।

आचरण व्यक्तिको निजी मामला हो तर समाजको जिम्मेवारी लिने राष्ट्रसेवक एवं सामाजिक व्यक्तिको आचरणले समाजमा विशेष महŒव राख्छ । अधिकारको खोजी गर्ने तर सोअनुरूप कर्तव्य निर्वाह गर्न पन्छने प्रवृत्ति बढेको सन्दर्भमा सदाचार पद्धतिको प्रवद्र्धन गर्न आचारसंहिता सहायक सिद्ध हुन सक्छ । प्रत्येक राष्ट्रसेवकले अनुशासनमा रही समाजका लागि उदाहरणीय आचरण प्रदर्शन गर्न सक्ने हो भने अरूका लागि प्रेरणा मिल्छ । आचारसंहिता कुनै कार्यका सन्दर्भमा स्थापित मापदण्ड हो । त्यसको पालना अपेक्षित मानिन्छ । आचारसंहितामा कतिपय नैतिकताको विषय समेत समावेश गरिन्छ । सामान्यतया नैतिकताका विषयलाई कानुनी कारवाहीको विषय मानिँदैन तापनि कानुनी अस्तित्वबिनाको आचारसंहिताका प्रावधान नैतिक शिक्षाका दस्तावेज बन्न खतराका कारण आचारसंहितालाई कानुनी प्रबन्धसँग जोड्ने गरिन्छ । आचरण व्यक्तिको रुचि, इच्छा, स्वभाव एवं धार्मिक आस्थासँग जोडिने हुन्छ । दैनिक व्यवहारमा अनुशरण गर्न सहज हुने क्रियाकलाप आचारसंहितामा समावेश गर्दा पालनामा सहज पु‍¥याउँछ ।

सिद्धान्ततः आचारसंहिता तय गरेका वर्गले आचारसंहिताको उल्लंघन गरिने कल्पना गरिँदैन । अनुशासनमा रही प्रचलित कानुनको पालना गर्दै अघि बढ्दा पारदर्शिता, निष्पक्षता, कानुनको शासन, सहभागिता जस्ता सुशासनको आधारभूत पक्षहरू स्थापित हुन मद्दत गर्छ । कानुनको शासन सुशासनको महŒवपूर्ण हतियार हो । स्रोतसाधनको प्रभावकारीपूर्ण उपयोग विवेकसम्मत निर्णय, निर्णयमा पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व जस्ता पक्षको सबलीकरणका लागि अनुशासित आचरण जरुरी छ । हाम्रो सन्दर्भमा आचारसंहिता उल्लंघनलाई बहादुरी मान्‍ने, आचारसंहितालाई कानुनको दर्जामा नमानी नैतिक पाठका रूपमा बुझ्नेको कमी छैन । सम्पत्ति विवरण जानाजान नबुझाई ५ हजार जरिमाना तिर्न तत्पर हुने वर्गको समेत कमी छैन ।

 

अधिकारको खोजी गर्ने, तर सोअनुरुप कर्तव्य निर्वाह गर्न पन्छने प्रवृत्ति बढेको सन्दर्भमा सदाचार पद्धतिको प्रवद्र्धन गर्न आचारसंहिता सहायक सिद्ध हुन सक्छ

 

यस्ता बुझेर बुझ पचाउने वर्गलाई आचारसंहिताले धेरै महŒव नदेला तर सदाचार संस्कृतिको अवलम्बन गर्ने आमनागरिक । राष्ट्रसेवकमा सकारात्मक रक्तसञ्‍चार गराउन समेत आचारसंहिताको पालना नगर्नेलाई कानुनी कारबाही गर्ने प्रबन्ध जरुरी हुन्छ । अनुशासित आचरणले समाजलाई गति दिन्छ । हाल आचारसंहिता उल्लंघनमा हुने गरेका कारबाहीलाई थप गतिशील तुल्याउनुपर्छ । परिस्थतिवश अन्जानमा हुने आचारसंहिताको उल्लंघन एवं अनुशासनहीन जस्ता देखिने क्रियाकलाप असावधानीवश भएको अवस्थामा बाहेक गलत काम गर्नेलाई सो कामका लागि जिम्मेवार बनाउन सक्नुपर्छ ।
मानिस स्वभावैले स्वतन्त्रता प्रेमी हुन्छ । स्वतन्त्रताको उपयोग गर्दा स्वच्छन्द हुनु हुँदैन । स्वतन्त्रतामा बन्देज प्रिय हुँदैन । स्वतन्त्रतालाई व्यवस्थापन गर्ने सन्दर्भमा आचारसंहिता सहायक सिद्ध हुन सक्छ । आचारसंहिता भ्रष्टाचार नियन्त्रणको कडी हो । भ्रष्टाचारमा संलग्न सफेदपोसाकधारीहरूलाई नियन्त्रण जरुरी हुन्छ । भ्रष्टाचार नियन्त्रणका लागि व्यवस्थित कानुनी प्रावधानलाई थप प्रभावकारी बनाउन आचारसंहिताले मद्दत गर्छ । अनुशासनमा रही व्यवस्थित जीवनशैली अपनाउने ऊर्जा दिने नैतिक शिक्षाका पाठहरूका अलावा कानुनी बन्धनसहितको आचारसंहिता जारी गर्ने प्रचलन बढ्दो छ । सार्वजनिक प्रशासनमा कार्यरत व्यक्तिहरूका लागि निर्धारण गरिने आचारसंहितामा निश्‍िचत विषयवस्तुहरू तय गरिएको हुन्छ । पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता, निर्वयक्तिकता, इमानदारिता, कुशल नेतृत्वकर्ता, सदाचार जस्ता विषयहरूलाई आचारसंहिता निर्धारणको आधारबिन्दुका रूपमा लिने गरिन्छ ।

सामान्यतया व्यक्तिले मानवीय कमजोरीका रूपमा समेत गर्न सक्ने तर नियन्त्रण गर्नुपर्ने क्रियाकलाप व्यवस्थित गर्न आचारसंहिताको आवश्यकता पर्दछ । सार्वजनिक सेवा प्रवाहका क्रममा स्रोतसाधनको प्रयोगलाई उत्पादकत्व अभिवृद्धिसाथ नवीनतम सोचसाथ इमानदारितापूर्वक प्रयोग गर्ने, आमनागरिकको हितमा सोच्ने, माथिका निकायको वैध निर्देशन पालना गर्ने, सरकारको रचनात्मक कार्यमा सघाउने र सुझाव दिनुपर्ने भए मर्यादित रूपमा दिने, राजनीतिमा तटस्थताको नीति लिने, मुलुकको कानुन र जनताको हितमा बफादार रहने, आफूलाई कानुनले तोकेको, समाजले पत्याएको जिम्मेवारी वहन गर्दा क्षमताको अधिकतम उपयोग गरी योगदान गर्ने स्रोतसाधनलाई व्यक्तिगत हितमा प्रयोग नगर्ने कार्यहरू आचारसंहिताको विषयवस्तु बन्‍न सक्छन् । अनुशासित आचरणमा रही अगाडि बढ्ने सन्दर्भमा आचारसंहिताले जुन रूपमा सघाउँछ, त्यसबाट मुलुकमा कानुनको शासन स्थापना हुने कुरामा विश्‍वास गर्न सकिन्छ । आचारसंहिता तय भएका व्यक्तिलाई कारबाहीको त्रासबाट भन्दा आचरण अनुशासित बनाउने संकल्पबाट मुलुकमा विकास र समृद्धि प्राप्‍त गर्न सघाउ पुग्छ ।

(कुइँकेल सर्वोच्च अदालतका सहसचिव र थपलिया कृषि तथा वन विश्वविद्यालय रामपुरका उपप्राध्यापक हुन् ।)

 

(Visited 264 times, 1 visits today)
Loading comments...