बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

परिवर्तनकारी शक्ति र परम्परागत शक्तिको फ्युजन अहिलेको आवश्यकता हो

महेश्वर गौतम
1 month ago
24/03/2019

 

 

कमल थापा
अध्यक्ष, राप्रपा

 

राजसंस्था र हिन्दू राष्ट्रको मागलाई निरन्तर उठाउँदै आइरहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यतिबेला संसद्मा सानो आकारमा छ । तर, सडकबाट भने उसले आफ्ना मागलाई निरन्तर उठाइरहेको छ । राजासहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पुनस्र्थापनाको नारा लिएर उसले गणतन्त्र र संघीयतमाथि नै आफ्नो रिजर्भेसन जनाइरहेको छ । राप्रपाले हाल अवलम्बन गर्दै आइरहेको सिद्धान्त तथा भावी योजनालगायत विविध विषयमा केन्द्रित रही राजधानीकर्मी महेश्वर गौतमले अध्यक्ष थापासँग गरेको कुराकानीको सम्पादित अंश :

 

यहाँहरू भर्खरै मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सकेर राजधानी आउनुभएको छ, कस्तो पाउनुभयो जनताको उत्साह यो यात्रामा ?

हामीले हिन्दू राष्ट्र स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण र गरिबी बेरोजगारी समस्याको समाधानका निम्ति जनतालाई जागरुक गराउने र सरकारलाई दबाब दिने उद्देश्यका साथ यात्रा प्रारम्भ गरेका थियौं । यो यात्राका क्रममा आमजनताबाट अत्यन्तै उत्साहवद्र्धक र सकारात्मक प्रतिक्रिया पाएका छौं ।

यहाँहरूको यो अभियानमा हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्रलाई उठाएर हिँड्नुभएको छ, अब राप्रपाको बटमलाइन यही हो ?

राप्रपाको वैचारिक दर्शन भनेको संवद्र्र्धनवाद हो । संवद्र्धनवादअन्तर्गत नेपालको परिपेक्षमा हिन्दू राष्ट्र र राजासहितको लोकतन्त्र हाम्रो यस अभियानका महŒवपूर्ण एजेन्डा हुन् ।

 

संविधानसभाको निर्वाचनमा पनि त त्यही नारा लिएर यहाँहरू निर्वाचनमा जानुभएको थियो, जनताको मत पनि राम्रै आयो तर पछि त नारा नै बिर्सिएको जस्तो भयो नि हैन ?

वास्तवमा राप्रपाले कहिल्यै पनि हिन्दू राष्ट्र र राजासहितको लोकतन्त्रको एजेन्डालाई छोडेको थिएन । तर संविधान जारी भइसकेपछि हामी सरकारमा पनि सहभागी भयौं । हामीले संविधान र संंवैधानिक व्यवस्थासँग सहकार्य गर्दै जाने नीति अवलम्बन ग¥यौं । यसबारे हामीले आमजनतालाई ठीक ढंगले बुझाउन नसकेका कारणले कतिपयलाई राप्रपाले एजेन्डा छोड्यो भन्ने पनि प¥यो ।
वास्तवमा हामी सरकारमा जाँदा होस् वा प्रतिपक्षमा रहँदा कहिल्यै पनि एजेन्डा छोडेका थिएनौं । तर, आमजनतामा त्यस्तो भ्रम पर्न गयो र यही कारणले गर्दा गत निर्वाचनमा हामीले अत्यन्तै निराशाजनक परिणाम भोग्नुप¥यो ।
निर्वाचनमा पराजयका अरू पनि धेरै कारणहरू छन् । तर, जनतामा पर्न गएको भ्रम एउटा प्रमुख कारणका रूपमा हामीले पाएका छौं । यो यात्राको क्रममा पनि ठाउँठाउँमा जनताले यसबारे हामीलाई प्रश्न गरे । यसर्थ हामीले सार्वजनिक रूपमा नै भनेका छौं कि हामीले आफ्नो एजेन्डा छोडेका छैनौं ।
जनतामा जुन किसिमको भ्रम पर्न गयो, त्यसका निमित्त हामी अत्माआलोचना गर्छौं र हिन्दू राष्ट्र र राजासहितको लोकतन्त्रको धरातलमा राष्ट्र निर्माण गर्ने महŒवपूर्ण अवसर प्राप्त नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं भनेर पनि हामीले जनतालाई विश्वास दिलाएका छौं । आमजनतालाई प्रस्ट रूपमा यो कुरा भनेका पनि छौं, जहाँसम्म पार्टीको सैद्धान्तिक वैचारिक एजेन्डाको प्रश्न छ । यसमा जनतालाई कहिल्यै पनि धोका दिँदैनौं र बेइमानी गर्दैनौं ।

यहाँले भन्नुभयो नि संविधान बनिसकेपछि सोही संविधानअनुसार नै हामी सरकारमा गयौं भनेर तर अहिले यहाँहरू संविधानलाई मान्नुहुन्छ कि हुन्न ?

संविधानलाई मानेका छौं । संविधानकै परिधिभित्र रहेर हामी निर्वाचन आयोगमा दर्ता भएका छौं र संविधानकै परिधिभित्र रहेर एउटा रानीतिक दलका रूपमा क्रियाशील छौं । यद्यपि संविधानमा रहेका कतिपय विषयमा हाम्रो फरक मत रहेका कारणले गर्दा यो संविधानलाई आलोचनामक समर्थन छ । संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै आफ्नो एजेन्डा स्थापित गर्ने रणनीति हाम्रो हो । यही रणनीति हामीले अवलम्बन गरेर अघि बढेका छौं ।

फरक मत भन्या के ? यहाँको पार्टी राप्रपा गणतन्त्र र संघीयताको पनि विरुद्धमा हो ?

निश्चय पनि जब हामीले हिन्दू राष्ट्र, राजासहितको लोकतन्त्र र सुदृढ स्थानीय स्वायत्त शासनको एजेन्डालाई अघि बढाइरहेका छौं भने संविधानमा अहिले भएका धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे हाम्रो रिजर्भेसन छ ।
यद्यपि हामीले अहिले एउटा यस्तो वैकल्पिक मार्गचित्र आमजनताको अगाडि प्रस्तुत गरेका छौं । परिवर्तनकारी शक्तिहरूको चाहनाअनुरूप लोकतन्त्र पनि कायम रहने, धार्मिक स्वतन्त्रता पनि कायम रहने र नयाँ राज्यको संरचना पनि निर्माण हुने गरी राजसंस्था, हिन्दू राष्ट्र र स्थानीय स्वायत्त शासन प्रणालीलाई ‘एक्कोमोटेड’ गर्न सकिन्छ भन्ने वैकल्पिक मार्गचित्र र अवधारणा हामीले जनताका सामुन्ने पेस गरेका छौं ।
यहाँ प्रस्ट हुनुपर्ने जरुरी के छ भने हामीले हिन्दू राष्ट्र, राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापनाको कुरा गरेर परिवर्तनलाई उल्टाउने प्रतिगामी सोच पनि हाम्रो होइन । हामीलाई यो पनि थाहा छ कि देशमा अहिले ठूलो जनसंख्या गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको पक्षमा छ । यो सबै विषयलाई प्रतिस्थापित वा निषेध गरेर पुरानो व्यवस्थामा फर्किन पनि सकिँदैन । यस कारणले सहमति र सम्झौताको राज्य प्रणाली कायम गर्नुपर्दछ । हामी पनि लचकता देखाउन तयार हुनुपर्दछ । त्यसैगरी परिवर्तनकारी शक्तिहरूले पनि मुलुकका सबै मूलभूत मान्यता र शक्तिसँग सहकार्य गरेर जाने नीति कायम गर्नुपर्दछ । अर्थात् परिवर्तनकारी शक्ति र परम्परागत शक्तिबीचको सामञ्जस्यता वा फ्युजन नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो मूलभूत मान्यता हो ।

 

संविधानमा अहिले भएका धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे हाम्रो रिजर्भेसन छ

यहा“ प्रस्ट हुनुपर्ने जरुरी के छ भने हिन्दू राष्ट्र, राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापनाको कुरा गरेर परिवर्तनलाई उल्टाउने प्रतिगामी सोच पनि हाम्रो होइन

परिवर्तनकारी शक्ति र परम्परागत शक्तिहरूबीचको सामञ्जस्यता वा फ्युजन नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो मूलभूत मान्यता हो

केपी ओलीको नेतृत्वमा बनेको तत्कालीन सरकारमा गएकोमा हामीलाई कुनै पश्चाताप छैन। त्यसपछि पटकपटक बनेका सरकारमा हाम्रो सहभागिता राजनीतिक र रणनीतिक रुपमा गम्भीर भुल थियो भन्ने पार्टीको निष्कर्ष छ

विप्लव नेतृत्वको माओवादीस“ग वार्ता र सहमतिका आधारमा समस्याको समाधान खोज्नुको साटो प्रशासनिक दमनतिर सरकार लागिरहेको छ

 

 

संघीयताप्रति चाहिँ यहाँहरूको असन्तुष्टि किन नि ?

वास्तवमा जुन किसिमको संघीयता कार्यान्वयनमा आइरहेको छ यो संघीयतालाई नेपालको आर्थिक, सामाजिक अवस्थाले धान्न सक्दैन । तसर्थ राज्यको नयाँ संरचना गर्ने क्रममा केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकारसहितको स्थानीय स्वायत्त शासन प्रणाली कायम ग¥यौं भने संघीयता पक्षधरको चाहना पनि पूरा हुने र देशले पनि धान्न सक्ने प्रणाली निर्माण हुन सक्छ । यो बीचको प्रदेश सरकारको आवश्यकता पर्दैन भन्ने हाम्रो मान्यता हो ।

यी सबै कुरा भन्दै गर्दा राप्रपाप्रति जनतालाई विश्वास पनि त हुनुप¥यो नि, सरकारमा जान यहाँहरू पटकपटक लालायित हुनुहुन्छ अनि विश्वास कसरी गर्ने ?

विगतमा त्यस्तो देखियो, यद्यपि केपी ओलीको नेतृत्वमा बनेको तत्कालीन सरकारमा गएकोमा हामीलाई कुनै पश्चाताप छैन । उक्त सरकारमा गएर हामीले जे जस्ता काम गर्न सक्यौं त्यसले पार्टी र पार्टीको एजेन्डालाई पनि मद्दत पु¥याएको छ । तर, त्यसपछि पटकपटक बनेका सरकारमा हाम्रो सहभागिता राजनीतिक र रणनीतिक रूपमा गम्भीर भुल थियो भन्ने पार्टीको निष्कर्ष छ । यद्यपि ती सरकारहरूमा सहभागिताका कारण र आधार तत्कालीन अवस्थामा विद्यमान थिए । तर, समग्रमा भन्नुपर्दा पछिका सरकारमा हाम्रो सहभागिता उपयुक्त भएन नै भन्ने हामीलाई लागेको छ ।

स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हारको कारण राप्रपाको गठबन्धन पनि कमजोर भएकाले हो ?

पार्टीले निर्वाचनको पराजयबारे गहिरो अध्ययन अनुसन्धान गरेको छ । जसको आधारमा भन्नुपर्दा पहिलो त निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको विभाजन, दोस्रो नेपाली कांग्रेससँगको सहकार्यमा इमानदारिताको अभाव, तेस्रो राप्रपा सरकारमा सहभागी भएर सिद्धान्त छोडेको भन्ने आमजनताको बुझाइ, चौथो पार्टीले अत्यन्तै न्यून स्थानमा उम्मेदवारी दिनु यी कारणहरू नै निर्वाचनको पराजयका कारण हुन् भन्ने हामीलाई लाग्छ ।

वर्तमान सरकारको गतिविधिलाई चाहिं राप्रपाले कसरी हेरिरहेको छ, सरकार निरंकुश बाटोमा हिँडेको हो ?

वास्तवमा अहिले के विचार गर्नुपर्छ भने हेर्नुस्, यो सरकारको सफलता असफलता विगत १०÷१२ वर्षमा राज्यले अवलम्बन गरेको राजनीतिक अभ्यास र मार्गचित्रसँग गाँसिएर आएको छ । यो सरकारलाई आइसोलेसनमा राखेर मूल्यांकन गर्नु अतिशयोक्ति हुन्छ भन्ने लाग्छ ।
निश्चय पनि केपी ओली नेतृत्वको दुईतिहाइ बहुमतको सरकारले आमजनताले अपेक्षा गरेअनुसार काम गर्न सकिराखेको छैन । यो असफलता त्रुटिपूर्ण राजनीतिक मार्गचित्र नै हो भन्ने हामीलाई लाग्छ ।
गत १२ वर्षको राजनीतिक अभ्यासको परिणाम स्वरूप अहिले मुलुकका सामुन्ने ६ वटा मुख्य चुनौती देखा परेका छन् । पहिलो नेपालकै इतिहासमा पहिलोपटक राष्ट्र विखण्डनको आवाज देखा पर्न थालेको छ । दोस्रो, गरिबी र बेरोजगारी समस्या अत्यन्तै विकराल भएको छ । तेस्रो, लोकतन्त्रको आवरणमा अहिले लुटतन्त्र चलिराखेको छ । चौथो, नेपालको सनातन धर्म र संस्कृतिमाथि संगठित रूपले आक्रमण भइरहेको छ । पाँचौं, लोकतन्त्रको आवरणमा एकदलीय सर्वसत्तावादतर्फ देश उन्मुख हुन लागेको प्रारम्भिक संकेत देखिन्छ र छैटौं सबैभन्दा महŒवपूर्ण माओवादीलाई शान्तिपक्रियामा ल्याउनका निमित्त भनेर हिन्दू राष्ट्र समाप्त पारियो, राजसंस्था पाखा लगाइयो, खर्बाैं रुपैयाँ लगानी भयो तर अहिले १२ वर्ष पछाडि नयाँ स्वरूपमा माओवादी विद्रोहको पुनरावृत्ति भइराखेको देखिन्छ ।
यो ६ वटा प्रवृत्तिवा परिणाम १२ वर्षको त्रुटिपूर्ण राजनीतिक अभ्यासबाट जन्मिएको हो । यसर्थ केपी ओली व्यक्तिगत रूपमा सक्षम प्रधानमन्त्री हुँदाहुँदै पनि उहाँले डेलिभरी गर्न सकिराख्नु भएको छैन । किनभने जब बाटो नै गलत हुन्छ, जतिसुकै राम्रो चालक भए पनि उसले मुलुकलाई गन्तव्यमा पु¥याउन सक्दैन ।

सरकार यो एक वर्षमा चाहिँ केके कुरामा चुक्यो त यहाँको नजरमा ?

सरकारले मुलुकका प्रमुख चुनौती र समस्यालाई ठीक ढंगबाट सम्बोधन गर्न सकिराखेको छैन । यद्यपि मैले भनेका ६ वटा प्रवृत्ति र परिणाम यो सरकारको अकर्मण्यताको उपज मात्र होइन यो विगत १२ वर्षदेखिकै घटनाक्रमको परिणाम हो । यो सरकारले यी प्रवृत्ति र चुनौतीलाई अझ व्यापक र तीव्र बनाएको छ ।
अब सरकारले जनताले अनुभूत हुने गरी काम गर्न सकिराखेको छैन । अत्यन्तै महŒवकांक्षी योजनाहरू ल्याइएको छ । तर, त्यसको कार्यान्वयनको भरपर्दो आधार देखिएको छैन । राजनीतिक दृष्टीकोणबाट मात्रै भन्ने हो भने तीनवटा प्रमुख विषयमा यो सरकार चुकेको देखिन्छ ।
पहिलो त गरिबी र बेरोजगारी समस्या समाधानमा कुनै साहसिक कदम चाल्न सरकारले सकेको छैन । दोस्रो राष्ट्र विखण्डनको मुद्दामा केही दिन अघि सरकार र सीके राउतबीच भएको सम्झौताले भविष्यमा अत्यन्तै गम्भीर परिणाम ल्याउन सक्ने खतरा हामीले देखिराखेका छौं । र तेस्रो विगतको अनुभवलाई दृष्टिगत गर्दै विप्लव नेतृत्वको माओवादीसँग वार्ता र सहमतिका आधारमा समस्याको समाधान खोज्नुको साटो प्रशासनिक दमनतिर सरकार लागिरहेको देखिन्छ । यो तीनवटा विषयमा सरकार चुकिरहेको हामीलाई लाग्छ ।

छिमेकी मुलुकसँगको सरकारको सम्बन्धलाई कसरी हेर्नुभएको छ यहाँले ?

अहिले नयाँ सरकार गठन भइसकेपछि छिमेकी मुलुकसँगको सम्बन्ध केही सन्तुलन खलबलिएको अवस्थामा छ । हाम्रा दुवै छिमेकीले सरकारलाई शंकाको दृष्टिले हेरिरहेका छन् । यहाँहरू त अहिले सरकारको विरुद्धमा चरणबद्ध आन्दोलनमा पनि हुनुहुन्छ, सरकार चुकिराखेका विषयमा लोकतन्त्रवादीहरूको एउटै मोर्चा बनाएर पनि त सरकारलाई सचेत गराउन सकिएला नि त ?
म सबैभन्दा पहिला प्रस्ट पार्न चाहन्छु, कि हाम्रो अभियान तथा संघर्ष कुनै पार्टीका विरुद्ध होइन । धर्म सम्प्रदायका विरुद्धमा पनि होइन र सरकारका विरुद्धमा पनि होइन । हाम्रा केही मूलभूत मान्यता छन् । त्यसको पक्षमा हाम्रो यो अभियान हो ।
जहाँसम्म लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने प्रश्न छ, अहिलेको सत्तारुढ दलको नाम कम्युनिस्ट भए तापनि विगतमा खासगरी एमाले राष्ट्रिय राजनीतिको मूलधारमा रहेर प्रजातान्त्रिक अभ्यासमा क्रियाशील रहेको राजनीतिक दल हो । माओवादीसँगको एकीकरण पछाडि उसले कस्तो बाटो अवलम्बन गर्दछ, त्यसबारे अहिले नै निष्कर्षमा पुग्नु चाँडो हुन्छ ।
त्यसकारण अहिले कम्युनिस्टहरूको बर्चस्व छ, दुई तिहाइ बहुमत छ र त्यसले मुकाबिला गर्नका निमित्त बृहत् प्रजातान्त्रिक एकता गर्नुपर्छ भन्यो भने त्यो प्रतिउत्पादक पनि हुन सक्छ । त्यसले ल्याउने ध्रुवीकरणले देशलाई द्वन्द्वतिर लैजान सक्छ । अहिले नै त्यो बेला भइसकेको पनि छैन भन्ने हामीलाई लाग्छ । तर, एक दलीय सर्वसत्तावादका प्रारम्भिक संकेत भने देखा पर्न थालिसकेका छन् । यो निरन्तर रूपमा अगाडि बढ्छ वा आफैं किनारा लागेर जान्छ । यो पनि हामीले हेर्नु पर्नेछ । अहिले हाम्रो पार्टी समान विचार भएका खासगरी हिन्दू राष्ट्र र राजतन्त्रप्रतिको एजेन्डाप्रति सहमत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति समूहलाई एकीकृत गर्ने प्रयासमा हामी लागिरहेका छौं ।

यहाँहरूको एकता प्रक्रिया चाहिँ कहाँ गएर अड्किएको छ ?

वास्तवमा पशुपति जी र प्रकाश जीले के कारणले राप्रपालाई अलग गरेर आफू मात्रै एक हुनुभयो, मैले अझैसम्म पनि बुझ्न सकिराखेको छैन । त्यसको पछाडि राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको अभिप्रेरणा छ वा व्यक्तिगत महŒवकांक्षाको मात्र पनि कारण हो मैले बुझेको छैन ।
किनभने जुन दस्तावेजमा हस्ताक्षर गरेर पशुपति जी र प्रकाश जीले पार्टी एकीकरण गर्नुभयो त्यो दस्तावेजको मस्यौदा उहाँहरूको पनि सहमति लिएर हामीले बनाएका हौं । तर, सुरुमा तीन पार्टी भनेको ठाउँमा टिपेक्स लगाएर उहाँहरूले दुई पार्टी लेखेर आपसमा मात्रै सहमति गर्नुभयो । अब त्यसको कारण के हो म जान्दिनँ । तर यदि उहाँहरू अहिले पनि देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यमा सकारात्मक भएर आउनुहुन्छ भने हामी एकताको ढोका जहिले पनि खुला राख्छौं ।
व्यक्तिगत रूपमा भन्दा हेर्नुस् २०६२÷६३ को परिवर्तन पछि हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर हिँड्ने राजनीतिक शक्ति तत्कालीन राप्रपा नेपाल मात्रै थियो । पशुपति जी जसले १० वर्षसम्म गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको वकालत गर्नुभयो । प्रकाश जी जसले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको पक्षमा मतदान गर्नुभयो अहिले उहाँहरू पनि आत्मा परिवर्तन गरेर हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डामा आउनुभएको छ ।
यसलाई मैले अत्यन्तै सकारात्मक रूपमा लिएको छु । यसलाई हामीले आफ्नो सफलता र उपलब्धि पनि ठानेका छौं । म उहाँहरूलाई आग्रह गर्दछु कि अब व्यक्तिगत महŒवकांक्षा वा देशी विदेशी शक्तिहरूको अभिप्रेरणाबाट मुक्त भएर देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सकारात्मक रूपमा आउनुहोस् ।

गाई र हलोका कारण पनि एकता अड्किएको भन्छन् नि के हो ? तपाईंहरू गाई छाड्न सक्नुहुन्न ?

जसले गणततन्त्र, धर्म निरपेक्षता र संघीयता छोडेर हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा आउने निर्णय गर्नुभयो, उहाँहरूले अब यो नितान्त प्राविधिक विषयमा हलोको कुरा गरेर पार्टी एकताका निम्ति हलो अड्काउने काम गर्नुहुन्न भन्ने मलाई लाग्छ ।
यहाँले नै एकतापछिको अध्यक्ष दाबी गर्नुभयो, त्यस कारण पनि एकता भाँडियो भन्छन् नि हो ?
अब, त्यसमा गुनासो छ भने त्यसको समाधान गर्न सकिन्छ । हाम्रो पार्टी प्रजातान्त्रिक मान्यतामा चल्ने पार्टी हो हाम्रो विधान छ, यदि अध्यक्षले कुनै काम ठीक ढंगले गर्न सकेन भने वा ज्यादती ग¥यो भने अध्यक्षलाई सचेत गराउने, आवश्यक प¥यो भने अध्यक्षलाई हटाउन सक्नेसम्मको अधिकार विधानले दिएको छ भने मेरो कार्यशैलीबाट कोही चिन्तित हुनुपर्ने कारण नै छैन ।

अब के हुँदा चाहिँ यहाँहरूबीच तत्काल एकता सम्भव छ त ?

उहाँहले जुन दिन पार्टी एक गरौं भन्नुहुन्छ र उहाँहरू त्यो सन्देश लिएर आउनुहुन्छ भोलिपल्ट नै पार्टी एक हुन्छ । हाम्रो सैद्धान्तिक रूपमा कुनै विवाद नै छैन । उहाँहरूले भनेअनुसारकै चुनाव चिह्नकै विवाद हो भने पनि महाधिवेशनले निर्णय गर्नेगरी अहिले दुवै चिह्नलाई फ्रिज गरेर प्रजातान्त्रिक ढंगबाट निर्णय गर्न सकिन्छ ।

विप्लव र सीके राउतका गतिविधिलाई यहाँको पार्टीले कसरी हेरिरहेको छ ?

सीके राउत राष्ट्र विखण्डनको एजेन्डा बोकेर हिँडेको राष्ट्रद्रोही शक्ति हो । विप्लव आमूल राजनीति परिवर्तनको एजेन्डा बोकेको तर अलिकति विचलित भएर हिंसाको बाटोबाट हिँडेको शक्ति हो । यी दुवैलाई एक ठाउँमा राखेर हेर्नु उपयुक्त हुँदैन ।
जहाँसम्म सरकार र सिके राउत बिचमा भएको सम्झौता छ । त्यसले राष्ट्रिय अखण्डतालाई बलियो बनायो भन्ने सरकारको प्रचार छ । तर, जबसम्म सीके राउतले सुस्पष्ट भाषामा हामीले विखण्डनको एजेन्डा परित्याग गर्यौं र राष्ट्रिय अखण्डताको पक्षमा उभिन्छौं भनेर भन्नुहुन्न तबसम्म सरकार र राउतबीचको सम्झौतालाई हामी शंकाकै नजरबाट हेर्छौं ।
अहिलेसम्मका गतिविधिबाट विश्वस्थ हुने ठाउँ छैन । चाहे त्यो ११ बुँदे सम्झौता होस्, चाहे त्यो सीके राउतको समूहको बैठकले गरेका निर्णय हुन कही कतै विखण्डनको एजेन्डा परित्याग गरेको उल्लेख छैन । स्वतन्त्र मधेसको संगठन विघटन गरिएको कहिकतै उल्लेख छैन । यस्तो संवेदनशील विषयमा अमूर्त भाषाले हुँदैन ।
जहाँसम्म विप्लवका गतितिविधि छ, १० वर्षको गतिविधिले स्पष्ट पारिसकेको छ कि हिंसाबाट कुनै राजनीतिक समस्याको समाधान हुन सक्दैन । त्यस कारण विप्लवले हिंसा छोड्नुपर्छ र सरकारले वार्ता र सहमतिकै आधारमा उनीहरूलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्दछ ।

अबको यहाँको पार्टी राप्रपाको आगामी बाटो कस्तो हुन्छ ?

राप्रपा कांग्रेस र कम्युनिस्ट दुवैको विकल्पका रूपमा फरक विचार बोकेर खडा भएको पार्टी हो । हामी जनतालाई आफ्नो वैकल्पिक नीति सिद्धान्त र मार्गचित्रबारे बोध गराएर आगामी निर्वाचनसम्ममा कांग्रेस र कम्युनिस्टको विकल्प बन्ने गरी तयारीमा छौं ।

 

(Visited 281 times, 1 visits today)
Loading comments...