सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

गाँउनै व्यावसायिक तरकारी खेतीमा

विश्वनाथ सिम्खाडा
4 months ago
24/03/2019

 

कालिकोट। खाँडाचक्र नगरपालिका–५ गरुणगाँउ नै तरकारी खेतीमा लागेका छन् । हिउँदे गहुँ बालीको साटोमा बन्दालगायतका तरकारी रोपेर किसानहरूले मनग्गे आम्दानी गर्दै आइरहेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–५ गरुणगाँउका २५ घरधुरीमा २० घरधुरी व्यावासायिक तरकारी खेती गरिरहेका छन् ।

विगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने गरेका किसान अहिले तरकारी खेतीबाट दोब्बर आम्दानी लिने गरेका छन् । बेमौसमी तरकारी खेती गरेर अहिले वर्षमा चारवटा बालीसम्म तरकारी खेती गर्ने गरेको र त्यसबाट वर्षमा ४ लाखदेखि ५ लाखसम्म चोखो आम्दानी लिने गरेको खाँडाचक्र नगरपालिका–५ गरुणका भीमबहादुर कार्कीले बताए । उनले विगतमा परम्परागत बाली लगाउँदा सामान्य आम्दानी लिने गरेका भए पनि अहिले स्थानीय अनुदानकोे सहयोगले आफूहरूलाई व्यवसाय गर्न निकै सजिलो भएको कार्कीले सुनाए । उनले विगतको परम्परागत खेतीबाट हुने आम्दानीभन्दा अहिले दोब्बर तेब्बर फाइदा लिने गरेको बताए । सबैभन्दा पहिले गाउँमा आफूले तरकारी खेती गर्थे अहिले पुरै गाउँ नै व्यावसायिक तरकारी खेतीमा लागेको बताए ।

कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारी बजारीकरण गर्न सजिलो भएको र मागअनुसारको तरकारी उत्पादन गर्न नसकिएको कार्कीले बताए । उनले मागअनुसारको तरकारी उत्पादन गर्न नसकिएको भन्दै थप प्राविधिक ज्ञानको आवश्यक रहेको बताए । पहिला घरमा खानका लागि सामान्य हिसाबले तरकारी खेती गर्दै आएका बेला अहिले वडाबाट बीउबिजनदेखि प्राविधिक तालिमले व्यावसायिक बन्न सफल भएको सुनाए । कर्णाली राजमार्ग बनेपछि किसानहरूले सामूहिक तरकारी खेती गर्न थालेका छन् । गाउँमा रहेको जग्गा लिएर समूह बनाएर तरकारी गर्न थालेको उनको भनाइ छ ।

बिक्रीका लागि तयार भएका बन्दा, काउली, फर्सी, टमाटर, हरिया सागसब्जी, धनिया, सोफ बजारसम्म ल्याएर पसलमा दिन्छन् । व्यावसायिक तरकारी खेती गर्दा गाउँलेहरूले दुईचार पैसाका लागि अरूको अगाडि हात पसार्नुपरेको छैन । छोराछोरीलाई बोर्डिङ स्कुल पढाउनका लागि ऋण खोज्नु परेको छैन । कम्तीमा वार्षिक ४ लाखदेखि ५ लाख रुपैयाँ बचत गर्ने बानी बसाएका छन्  । दुई रोपनी क्षेत्रफलको खेतबारीमा उनले व्यावसायिक तरकारी खेती गर्न थालेको एक दशक भए पनि यसअघि उनले गँहु छर्ने गरेका थिए । तर, गहँु छरेभन्दा सिजनअनुसार हरिया फलफूल तरकारीबाट बढी आम्दानी हुने देखेपछि उनी यतातिर आकर्षित भएका हुन् । उनको जीविका नै तरकारी खेतीबाट चलेको छ ।

भीम कार्कीजस्तै तरकारी खेतीबाट जीविका चलाउनेहरू वडा ५ मा २५ घरधुरीबाट २० घरहरू रहेका छन् । तरकारीको व्यावसायिक खेती गर्नेहरू ती गाउँका ८० प्रतिशतले गर्दै आएका छन् । कार्कीका छिमेकी हरिकला कार्र्की, हर्केलगायत सबैको खेतबारीमा पैसा फलिरहेको छ ।

भीमले भने, ‘तरकारी खेतीले गर्दा दुईचार पैसा भए पनि देख्न पाएको छ । साहु महाजनबाट महँगो ब्याजमा पैसा लिनुपरेको छैन । दिनभरि काममा व्यस्त भएकाले शरीर पनि स्वस्थ हुन पाएको छ । तरकारी बिक्री गरेको रकम गाउँका ९९ प्रतिशत घरपरिवारले आफ्नो छोराछोरीको शिक्षामा लगानी, बिरामी भए औषधि उपचार, दैनिक आवश्यक खाद्यान्न, लत्ताकपडामा खर्च गर्ने गरेका छन् ।

वडा ५ का अध्यक्ष खडानन्द चौलगार्इंले भने, ‘यदि गाउँमा तरकारी खेतीको चलन नहुने हो भने जीविका चलाउने माध्यम सायद अरू नै हुन्थ्यो होला । तरकारी खेती नगर्ने गाँउमा कोही छैन । आफ्नो जमिन नहुनेले पनि अर्काको जमिनमा भए पनि गरेर व्यवसाय गरिरहेका छन् ।’ आफ्नो वडाको समृद्धिको मुख्य आधार भनेकै कृषि भएकाले, आगामी आर्थिक वर्षमा कृषिमा थप कार्यक्रम ल्याउने बताए ।

 

 

(Visited 34 times, 1 visits today)
Loading comments...