सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

चिज उत्पादन केन्द्र बन्द हुने अवस्थामा

भगीरथ भण्डारी
4 months ago
24/03/2019

 

इलाम। इलाममा क्षमताअनुसार दूध संकलन कम भएको र बजारमा चिजको माग घटेका कारण इलामका सरकारी चिज उत्पादन केन्द्रमा न्यून मात्रामा चिज उत्पादन हुने गरेको छ । दुग्ध विकास संस्थानअन्तर्गत रहेका जिल्लाका चारवटा चिज उत्पादन केन्द्रमध्ये एकमा चिज उत्पादन बन्द भएको छ भने अन्य केन्द्रमा न्यून मात्रामा चिज उत्पादन हुने गरेको पाइएको छ ।

३ हजार लिटर क्षमताको पशुपतिनगर चिज उत्पादन केन्द्रमा हाल डेढ सय लिटर दूध मात्र दैनिक संकलन हुने गरेको छ । निजी डेरी तथा चिज उत्पादन केन्द्रमा दूधको मूल्य बढी पाउने भएकाले किसानहरू निजी कारखानामा आकर्षित भएपछि दूध कम संकलन भएको केन्द्रका प्रमुख मनीष थापाले जानकारी दिए । चिजको बजार तलमाथि भइरहे पनि संस्थानले तोकेको मूल्यमा दूध खरिद गर्नुपरेकाले चिज उत्पादन केन्द्रमा कमै मात्रामा दूध आउने गरेको उनको भनाइ छ । केन्द्रले आठ एसएनएफ र तीन फ्याटको मात्रा भएको दूध प्रतिलिटर ४१ रुपैयाँ ४६ पैसामा खरिद गर्ने गरेको छ । किसानले उक्त मूल्यभन्दा बढी पाएकाले निजी डेरी र दुग्ध संस्थामा दूध उपलब्ध गराउने गरेका छन् । कारखानाकी कर्मचारी गंगामाया यल्मु भने भूकम्पले बाटो बिग्रएको र चिजको बजार नभएकाले कम मात्रामा संकलन भएकोे बताउँछिन् ।

संस्थानले चिज उत्पादन केन्द्रमा दूधको कमी भएमा आफ्नै चिस्यान केन्द्रबाट ल्याएर भए पनि चिज बनाउन सकिने तर तयारी कञ्चन चिजको बजार नै नभएको केन्द्रका प्रमुख मनीष थापा बताउँछन् । तीन वर्ष अघि सुधारिएको चिजको बजार पुन खस्किएको छ ।

केन्द्रमा विगतमा १७ कर्मचारी रहेकोमा हाल दुई जनाले चिज उत्पादन गरिरहेका छन् । यहाँ दैनिक १५ किलो चिज मात्र उत्पादन हुने गरेको छ । चिज उत्पादन घटेसँगै २०५३ सालमा स्थापित यो केन्द्र जीर्ण बन्दै गएको छ । एक चिज भ्याट सञ्चालन हुन सकेको छैन भने मेसिनसमेत पुराना भएका छन् । चिज भण्डारमा चिज नभएर ¥याक पनि खाली रहेका छन् । कुनै बेला इलामकै ठूलो चिज उत्पादन केन्द्रको रूपमा परिचित यो कारखाना सञ्चालन गर्न अब धौधौ परिरहेको छ । पशुपतिनगरसँगै इलामका रक्से, देउराली, नयाँबजार चिज उत्पादन केन्द्रमध्ये नयाँबजारमा चिज उत्पादन बन्द भएको छ । यी तीन कारखाना पनि संस्थानअन्तर्गतकै हुन् । अन्य तीन कारखानामा भने अत्यन्तै न्यून मात्रामा चिज उत्पादन हुने गरेको छ भने मखन उत्पादन भएको छैन ।

यी कारखानामा विगतमा २ हजार ५ सय दैनिक चिज उत्पादन हुने गरेकोमा हाल २ सय किलो सरदर दैनिक चिज उत्पादन हुने गरेको छ । चिज उत्पादन गर्न निजीस्तरमा पनि प्रशस्त कारखाना खुलेपछि दूधको बजारसमेत बाँडिएको छ ।

 

(Visited 157 times, 1 visits today)
Loading comments...