सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

छाउ गोठ छ ? भत्काई हाल्नुस्, कार्वाहीमा पर्नु होला

राजधानी समाचारदाता
4 weeks ago
24/03/2019

डोटी । डोटी जिल्लावासीको घरमा छाउ गोठ छ कि छैन । छ भने भत्काइहाल्नु होला । अन्यथा कार्वाहीमा पर्ने सम्भावना छ । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने निर्णय गरेको छ ।

पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबैखाले सेवा सुविधामा रोक लगाउने बताए ।

छाउ गोठमा बसेकै कारण कतिपय महिला एवं किशोरीको मृत्यु समेत भएकाले यस किसिमको अभियान सुरु गरिएको उनको भनाई थियो ।
‘महीनावारी भएको बेला छाउगोठमा बसेको जानकारी पयौं भने सबै किसिमका सेवासुविधा कटौती गर्छौ ।’ अध्यक्ष बोगटीले भने । पूर्वीचौकी गाउँपालिकासँगै डोटी जिल्ला र सुदूरपश्चिम प्रदेश क्षेत्र छाउपडी प्रथाका नाममा बदनाम भइसकेको र छाउपडीलाई जानाजान प्रथाका रुपमा मान्नेलाई आफूले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने उनले बताए ।

सोही कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले छाउपडीलाई कुप्रथा र अपराधका रुपमा लिइसकेकाले कसैले पनि छाउपडीका नाममा अपराध गर्न नहुने धारणा राखे । ‘छाउपडी प्रथा अपराध मानिएको छ, अपराधजन्य काम कसैले गर्नु हुँदैन ।’ उनले भने ।

(Visited 53 times, 1 visits today)
Loading comments...