मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

८ महिनामा ३८ जनाले ज्यान गुमाए

ध्रुव अधिकारी
4 months ago
24/03/2019

हेटौंडा । पछिल्लो समय सडक दुर्घटना बृद्धि हुँदै गएको छ । सडकको अवस्था, चालकको लापरबाहीका कारण सडक दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या वृद्धि हुँदै गएको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा मकवानपुरमा भएका सडक दुर्घटनामा परि ३८ जनाले ज्यान गुमाइसकेका छन् । चालु आवको चैत पहिलोसातासम्म मकवानपुरमा भएका ९७ वटा सडक दुर्घटनामा ३८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र ठाकुरले बताए । उनका अनुसार ज्यान गुमाउनेमा पुरुष ३३, महिला ३, बाबालिका २ जना रहेका छन् ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ को फागुन महिनामा सबैभन्दा बढी १० जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ । फागुनमा १८ वटा सवारी दुर्घटना भएको जनाइएको छ । त्यस्तै जिल्लामा आर्थिक वर्ष २०७५/०७६ को साउन महिनामा जिल्लामा ६ वटा दुर्घटना भएको ३ जनाको मृत्यु भएको थियो भने भदौ महिनामा एउटा दुर्घटना भएको र एकजनाको मृत्यु भएको जनाएको छ ।

त्यस्तै असोज महिनामा १३ वटा दुर्घटना भएकोमा ५ जनाको, कार्तिकमा ८ वटा दुर्घटना भएकोमा ५ जनाको, मंसिरमा १६ दुर्घटनामा परी ६ जनाको, पुषमा १६ वटा सवारी दुर्घटना भएकोमा एक जना, माघमा १३ वटा सवारी दुर्घटना भएकोमा ४ जना र चैत्र महिनामा हालसम्म ६ वटा सवारी दुर्घटना भएकोमा ३ जनाको ज्यान गएको ठाकुरले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला दुर्घटनाहरु नयाँ सवारीसाधन थप, लापर्वाही तरिकाले सवारी चलाउने प्रवृत्ति, मादक पदार्थको सेवन र सडक बिग्रेर खण्डहर बन्दै जानु नै सडक दुर्घटना र मानवीय क्षति बढ्नाका मुख्य कारण रहेको जिल्ला ट्राफिक प्रमुख ठाकुरले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही तीव्र बनाए पनि दुर्घटना भने बढ्दै गएको पाइएको छ ।

गत आव २०७४/७५ मा कार्यालयले २६ हजार १ सय सवारी चालकलाई कारवाही गरेर १ करोड ६४ लाख ९६ हजार ५ सय राजश्व संकलन गरेको छ । सो तथ्यांक पनि अघिल्लो आर्थिक वर्षहरुको भन्दा बढी हो । तर पनि सवारी दुर्घटना भने दिनानुदिन बढ्दो क्रममा रहेको छ । वर्षेनी सडक दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सघन रुपमा सचेतना अभियान समेत सञ्चालन गरिएको जनाएको छ ।

यातायात व्यवसायी, चालक, सर्वसाधारण तथा विभिन्न विद्यालयमा समेत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेर ट्राफिक शिक्षा दिइरहेको छ । तर पनि दुर्घटना बढेको बढ्यै छ । यस बाहेक पनि अन्तरक्रिया, ‘प्रहरी मेरो साथी’ र ‘टोलटोलमा प्रहरी अभियान’ तथा पर्चा र पोष्टरबाट पनि ट्राफिक सचेतनासम्बन्धी अभियान सम्पन्न गरिएको कार्यालयले जनाएको छ । तर साघँुरो सडक तथा अव्यवस्थितका कारण दुर्घटना बढेको कार्यालय प्रमुख ठाकुरले बताए ।

(Visited 36 times, 1 visits today)
Loading comments...