सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

थाइल्यान्ड निर्वाचनः धाँधली भएको आरोप

एजेन्सी
4 months ago
26/03/2019

बैंकक । थाइल्यान्डमा दुई दिनअघि भएको निर्वाचनमा धाँधली भएको आरोप लागेको छ ।

सन् २०१४ मा यिङ्लक सिनावात्रा नेतृत्वको सरकारलाई हटाएर सेनाले सैनिक ‘कु’ मार्फत सत्ता हातमा लिएपछि भएको यो पहिलो संसदीय निर्वाचन हो ।

निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका दुईवटा पार्टीले गठबन्धन सरकार बनाउने प्रयास गरिरहेका छन् ।

मतगणनताको परिणाम अनुसार सेनाको समर्थन रहेको फलाङ प्रचा रात पार्टी (पीपीआरपी) ले लोकप्रिय मत हासिल गरेको देखिएको छ । तर संसदमा प्रमुख विपक्षी फु थाई पार्टीले सबैभन्दा बढी सिट जितेको छ ।

थाईल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावातले आइतवार भएको मतदानमा धाँधली भएको आरोप लगाएका छन् । सन् २००६ मा सेनाबाट सत्ताच्युत भएपछि निर्वासनमा रहँदै आएका सिनावात्राले निर्वाचनमा भएको अनियमितता र धाँधलीले आफू चिन्तित बनाएको बताएका छन् ।

थाईल्यान्डको जटिल चुनावी प्रणालीअन्तर्गत केही संसदीय सीटहरू प्राप्त मतका आधारमा भागबण्डा गरिनेछ ।
सेनालाई समर्थन गर्ने शक्तिलाई सत्तामा राखिराख्ने उद्देश्यले सन् २०१७ मा सेनाले निर्वाचनसम्बन्धी कानुनमा परिवर्तन गरेको थियो ।

निर्वाचन आयोगले घोषणा गरेको परिणामअनुसार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात नजिक रहेको फू थाई पार्टीले तल्लो सदनका पाँच सय सीटमध्ये एक सय ३७ सिट जितेको छ । थाइल्यान्डमा प्रत्यक्ष प्रणालीबाट ३५० सिटमा सांसद निर्वाचित हुन्छन् ।

थाईल्यान्डका प्रधानमन्त्री जनरल प्रयुत चान–ओचालाई समर्थन गर्ने पीपीआरपी ९७ सीटसहित दोस्रो स्थानमा छ । अन्य तीन दलले ३० देखि ३९ स्थानमा जित हात पारेका छन् । बाँकी १५० सीटका विजेताबारे अझै स्पष्ट हुन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि निर्वाचन आयोगले ९० प्रतिशतभन्दा मतको गणना भइसक्दा पीपीआरपीले ७६ लाख लोकप्रिय मत प्राप्त गरेको बताएको थियो । यो मत फू थाई पार्टीले ल्याएको भन्दा पाँच लाख बढी हो ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम अझै सार्वजनिक गरेको छैन । मे ९ सम्म आधिकारिक परिणाम नआउने बताएको छ ।

सन् २०१४ मा थाक्सिनकी बहिनी यिङ्लक सिनावात्रालाई हटाएर सेनाप्रमुख प्रयुत चान–ओचाले सत्ता हत्याएका थिए ।

थाइल्यान्डमा आठ वर्षपछि भएको निर्वाचनमा पाँच करोडभन्दा बढी मतदाता थिए । निर्वाचनमा १८ देखि २६ वर्ष सम्मका ७० लाख भन्दा धेरै युवाले पहिलो पटक मतदानमा भाग लिएका छन् ।

तर मतदानमा ६४ प्रतिशत मतदाता मात्र सहभागी भएको बताइएको छ । धेरैले कम मतदान र मतगणनामा भएको अनियमितताबारे प्रश्न उठाएका छन् ।

‘हामीले यसलाई धाँधली भएको निर्वाचन भन्नुपर्छ,’ पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले भने, ‘थाईल्यान्डमा सबैलाई, अन्तर्राष्ट्रिय रूपमा निर्वाचनको पर्यवेक्षण गर्ने सबैलाई अनियमितता भएको थाहा छ ।’ निर्वासनमा बस्दै आएपनि थाइल्यान्डको राजनीतिमा उनको बलियो प्रभाव रहेको छ ।

‘धेरै अनियमितताहरू भएको भन्दै थाक्सिनले देशको राजनीति र निर्वाचन प्रणाली प्रतिगामी भएको देखेर आफू चिन्तित रहेको बताएका छन् । सामाजिक सञ्जालमा पनि उनको धाराणसँग सहमति जनाउनेहरु धेरै देखिएका छन् ।

निर्वाचनमा धाँधली भएको आशयसहित केही ह्यासट्याग ट्रेन्डिङमा देखिएका छन् । यद्यपि निर्वाचन आयोगका महासचिवले केही मानवीय त्रुटी भएको भन्दै मतगणनाको प्रतिरक्षा गरका छन् । आफूले उपलब्ध गराएको तथ्यांकलाई सञ्चारमाध्यमले गलत रूपमा प्रस्तुत गरेको निर्वाचन आयोगको दाबी छ ।

 

(Visited 84 times, 1 visits today)
Loading comments...