मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

फुल्चोकीको वनमा डडेलो लाग्दा काभ्रेमा बँदेल आंतक, ज्यान जाेगान निस्केका जनावरले बाली सखाप

केशवराज पौडेल
4 months ago
08/04/2019

काभ्रेपलाञ्चोक । फुल्चोकी राष्ट्रिय वनमा आगलागी हुँदा काभ्रेका कृषक रातभर सुत्ननै पाउँदैनन् । काभ्रेको पनौती नगरपालिकासँग जोडिएको फुल्चोकी वनमा हरेक बर्ष आगलागी हुँदा वनवाट ज्यान जोेगाउन निस्किएका जंगली जनवारले काभ्रेका किसानको खेतीलाई ध्वस्त बनाउने गरेका छन् ।

पनौती–१ रयालेका कार्यवाहक वडाअध्यक्ष सुर्यबहादुर तामाङलाई सदैव त्यही १ सय ३८ घर तामाङ परिवारको चिन्ताले सताउने गरेको छ । ढुंगा खोस्रेर त्यसमा मकै उमारेर जिविका चलाउने तामाङहरुलाई ‘बँदेल’ले औधी दुख दिइरहेको छ । ‘फुल्चोकी वनमा आगो लागेपछि त्यहाँका जंगली जनावर तामाङ बस्तीमा पसिहाल्छन्’तामाङले गुनासो पोखे । राष्ट्रिय वनमा तारवार मात्रै लगाईदिए पनि हाम्रा दाजुभाई त्यहाँवाट बसाई सर्ने अवस्था आउने थिएन ।

पनौती नगरपालिका २ कुशादेवी बजारमा मानव र जंगली जनवार बिचको द्वन्द्व निराकरण कसरी गर्न सकिन्छ भनेर आयोजना भएको संम्बाद कार्यक्रममा वडा नं १ का कार्यवाहक वडाअध्यक्ष तामाङले बँदेलले आफ्नो गाँउको बस्तीमा आंतक सृजना गरेको बताउँदै थिए । जहाँ समस्या त्यहा उपाय, पनौती–२ का लक्ष्मण हुँमागाईले बँदेलकै कारण बर्षभरीलाई खानै नपुग्ने अवस्था आएको देखेपछि बारीमा स्पीकर लगेर झुण्डाउँदा केही राहत पुगेको अनुभव सुनाए । तर यो बर्षपनि फुल्चोकीमा आगो लागेसँगै बन्यजन्तुले दुख दिन थालेको स्थानीय किसानहरुको अनुभव छ ।

वडा नं ३ का अग्रणी किसान रामप्रसाद बञ्जाराले भने जंगली जनावरहरुको कारणले धेरै समस्या पारेको बताए । उनको ५ रोपनी जग्गामा लगाएको आलु बाली पुरै बँदेलले सखाप पारेको भन्दै रोकथामको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए । त्यतीमात्रै कहाँ हो र ? उनको ४० रोपनीमा लगाएको जै खेतीवाट ३० मुरीभन्दा धेरै जै उत्पादन हुनेमा बिउ समेत बाँकी नराखेको भन्दै अब खेती पेशावाटै विस्थापनको खतरा बढेको सुनाए । मैले गाईभैसी पालेको छु कम्तिमा ३ महिनालाई पशुलाई पुग्ने खुराक बँदेलले नष्ट गरिदियो ।

बँदेल,दुम्सी र कालिजले कृषकहरुलाई आंतक सृजना गर्ने गरिसँगै त्यसको विकल्पको रुपमा कृषिमा बिमा कार्यक्रममा कृषक ईच्छूक भएपनि बिमा कम्पनीले पनौतीको रयाले र कुशादेवी क्षेत्रलाई वास्ता गरेको कृषकहरुको आरोप छ । समाजसेवी तथा शिक्षासेवी प्रा.डा.निलमकुमार शर्माले कृषकहरुले बिमा कार्यक्रम संचालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए । उनले सबै कुरामा सरकारको मुख ताक्नेभन्दा पनि पराम्परागत कृषि पेशावाट बाहिर आउन आवश्यक रहेको बताए ।

‘हामी प्राकृतिक सन्तुलन नबिगारौ अनि हाम्रो भविष्य छ’ शर्माले भने । मानव र जंगली जनावरबिचको द्वन्द्वले कृषकहरुमा नराम्रो असर पारेको छ । जंगली जनावरको कारणले कृषकहरुमा त्रास समेत सृजना भएको छ । पनौती–३ का भिमप्रसाद घिमिरेले केटाकेटी घरमै एक्लै छाँडेर हिड्न नसक्ने अवस्था भएको बताए । पनौती–३ का भरत घिमिरे बाली जोगाउन रातभर खेतमै गोठ हालेर बस्ने गरेको बताए ।

मानव र जंगली जनावरको द्वन्द्व बढेसँगै स्थानीय सरकार पनि संवेदनशिल बन्दै गएको छ । पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले वन्यजन्तुको कारणले मानविय क्षती बढ्दै गएकाले सुरुमा क्षतिपुर्तीको कार्य्विधी बनाउने तयारीमा लागेको बताए । ‘हामीले सुरुमा वन्यजन्तुको कारणले मानवीय क्षती पु¥याउँदा क्षतीपुर्तीको लागि कार्य्विधी तयार पारेका छौ’ प्रमुख न्यौपानेले भने । अब हामीले प्रदेश सरकार र केन्द्रीय सरकारसँग कृषी,खाद्यान्न र भौतिक क्षतीमा कसरी क्षतीपुर्ती दिन सकिन्छ भनेर सहकार्य गर्नैछौ उनले थपे । मुलुक संघिय संरचनामा प्रवेश गरेपनि जिल्ला वन कार्यालयले अनावश्यक हस्तक्षेप गर्ने गरेको प्रमुख न्यौपानेले भने । ‘हामीलाई कृपया वनले अनावश्यक हस्तक्षेप नगरोस्’ प्रमुख न्यौपानेले सुनाए ।

काभ्रेमा संवाद कार्यक्रम संचालन गरेका संवाद समुह काभ्रेका सहजकर्ता मधुसुधन गुरागाईले काभ्रेमा मानव र जंगली जनावरबिचको द्वन्द्व बढेसँगै त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर संवाद कार्यक्रमको सुरुवात गरेको बताए । सरकारले वैशाक २ गतेदेसखि २४ औं वन्यजन्तु सप्ताहको आयोजना गर्ने भएपनि स्थानीय तहमा भने वन्यजन्तुकै कारण कृषक मारमा परेकाले संवादको थालनी गरेको स्पष्ट पारे । ‘ यो संवादले अब जिल्ला र प्रदेशमा समेत यस बिषयले प्रवेश पाउने भएको छ ’ पत्रकार समेत रहेका सहजकर्ता गुरागाईले भने । पनौती नगरपालिका वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले कृषकहरुको समस्या समाधान गर्नको लागि योजना बनाएर काम गरिरहेको बताए ।

(Visited 232 times, 1 visits today)
Loading comments...