सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

अनमोलसँग मेरो प्रतिस्पर्धा : सलिनमान बानियाँ

डब्बु क्षत्री
1 month ago
09/04/2019

 

 

नयाँ पुस्ताका दर्शकबीच चर्चामा रहेका अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर–३’ र अर्का चकलेटी अभिनेता सलिनमान बनियाँ अभिनित ‘यात्रा’ २९ चैतमा सार्वजनिक हुने भएका छन् । दुवै चलचित्र एकै दिन सार्वजनिक हुँदा अनौपचारिक रूपमा प्रतिस्पर्धा देखिएको छ । सलिनमानले यसअघि ‘ए मेरो हजुर २’ खेलेका थिए । निर्देशक झरना थापाको ‘ए मेरो हजुर–२’ बाट सफल अभिनेताका रूपमा चर्चा कमाएका सलिनमानले झरनाकै ‘ए मेरो हजुर ३’ सँग आफ्नो चलचित्र ‘जात्रा’ जुधाएको भन्ने अरोप छ । यसै विषयमा सलिनमान बानियाँसँग राजधानीका लागि डब्बु क्षत्रीले गरेको कुराकानीको सम्पादित अंश ः

 

तपाईंलाई चलचित्रमा ल्याउने निर्देशन झरना थापाको फिल्म ‘ए मेरो हजुर–३’ सँग आफ्नो फिल्म यात्रा बुझेरै जुधाएको आरोप लगाइएको छ नि ?

त्यस्तो हैन, हाम्रो फिल्म यात्रालाई गत असोजमै ल्याउने तयारी भएको थियो । तर, सुरुमा निर्माण समयमै नसकिएपछि यसलाई नयाँ वर्षको अवसर पारेर २९ चैतमा रिलिज गरिने घोषणा निर्माता सुशील पोखरेलले फेसबुकमा सूचना नै हालेर गर्नुभएको थियो ।

त्यसको धेरैपछि ‘ए मेरो हजुर–३’ लाई चैत २९ मा ल्याउने घोषणा गरिएको हो । हामीले चैत २९ मा यात्रा रिलिज गर्ने घोषणा सुरुमा गरेको दर्शकलाई थाहा नभएर उहाँहरूले झरना दिदीको फिल्मसँग जुधाउन लाएको भन्ने आरोप लगाउनुभएको हो ।

आफ्नो गड मोदर झरना थापाको फिल्म ए मेरो हजुरसँग जुधेर प्रतिस्पर्धा गर्नुपर्दा तपार्इं स्वयंमलाई कस्तो लागिरहेको छ ?

मलाई नराम्रो महसुस भइरहेको छ । चलचित्र क्षेत्रमा उहाँले मलाई ल्याउनुभएको हो त्यसैले झरना थापा मेरा लागि फिल्म इन्डस्ट्रिजको आमा जस्तै हो । उहाँले गर्दा नै आज म सफल कलाकार भएको छु । उहाँकै फिल्मसँग मेरो फिल्म जुध्दा साह्रै चित्त दुखेको छ । तर, म केही गर्न पनि सक्दिनँ । किनकि फिल्म रिलिज कहिले गर्ने भन्ने मेरो हातमा छैन । तैपनि, फिल्म जुध्दा दुःख लागेको छ ।

अनमोल केसी नायक रहेको फिल्म ‘ए मेरो हजुर–३’ सँग जुधाएर तपाईंको चलचित्र यात्रा रिलिज गरिने विषयमा तपार्इंसँग कुनै सल्लाह गरिएको थियो ?

यस विषयमा मलाई केही थाहा थिएन । फिल्म कहिले रिलिज गर्ने भन्ने हाम्रो हिसाबले हुँदैन । त्यो त निर्माता निर्देशक, वितरकहरूको हातमा हुन्छ । यसपटक पनि त्यस्तै भएको हो ।

 

महँगा बजेटका र चलेका दुई नायकको फिल्म जुध्दा दर्शकबाट कस्तो प्रतिक्रिया आएको छ ?

कतिपय फ्यानहरू अनमोल केसी र मलाईसँगै मन पराउनेछन् । यसरी दुई वटा फिल्मसँगै नजुधाएको भए हुन्थ्यो । एक हप्ताअघि पछि गरेको भए आफूहरूलाई दुवै फिल्म हेर्न सजिलो हुन्थ्यो भनेर दर्शकको प्रतिक्रिया तथा सुझाव आएको छ । राम्रो भनिएको र आशा गरिएको फिल्म यसरी जुधाउँदा अनमोल र म दुवैलाई असर त पर्छ नै । निर्माताहरूलाई पनि व्यापारिक रूपमा असर पर्न सक्छ ।

फिल्म जुध्दा तपार्इं र अनमोलबीच प्रतिस्पर्धा कतिको हुन्छ ?

चलचित्र जुधिसकेपछि हामीबीच पक्कै प्रतिस्पर्धा हुन्छ । यो दौडमा दुवै फस्ट हुँदैनांै । व्यावसायिक रूपमा एउटाको फिल्म अगाडि र अर्कोको फिल्म पछाडि हुन्छ । 

फिल्म जुध्दा तपाईंलाई कतिको दबाब महसुस भएको छ ?

मलाई दबाब त बढी नै भइरहेको छ । किनभने म यसअघि निर्देशक झरना थापाकै युनिटको कलाकार हुँ भने यसपटक यात्राको युनिटको कलाकार भएको छु । आफैंमा स्थापित अभिनेता अनमोलसँग मेरो फिल्म जुध्दै छ । दुई फिल्म जुध्दा मलाई दबाबको महसुस पक्कै भएको छ । मैले अघि पनि भनिसकें, म दुपै टिमको कलाकार हुँ । अहिले यी दुई फिल्म जुध्दा निर्माता, निर्देशक र अरू कलाकारको तुलनामा सबैभन्दा बढी दबाबको महसुस मलाई भइरहेको जस्तो लागेको छ । त्यसैले दुवै फिल्म राम्रोसँग चल्नुपर्छ भन्ने चाहना मेरो छ । दर्शकले अनमोल र मेरो फिल्म हेरिदिनुहुन्छ भन्ने विश्वास छ ।

ए मेरो हजुर–३ सँग यात्रा जुध्दा तपार्इंलाई दर्शकले युट्युबका भिडियोहरूमा बढी नै टीकाटिप्पणी गरेको देखिन्छ । यसलाई कसरी लिनुभएको छ ?

त्यो उहाँहरूको माया हो । यसलाई मैले डाउन साइड मानेको छैन । अनमोलका आफ्नै फ्यान छ भने मेरा पनि आफ्नै फ्यानहरू हुनुहुन्छ । अनमोलका फ्यानलाई म देखेर रिस पनि उठ्न सक्छ । उहाँहरूलाई मैले जुधाएको हो भन्ने लागेको हुन सक्छ । तर, फिल्म जुधाउने त मेरो हात हैन नि । त्यो त निर्माताहरूको हातमा हुन्छ । यहाँ अनमोलसँग सलिनले फिल्म जुधाएर टक्कर लियो भनिन्छ । त्यो टक्कर त मैले लिन सक्दिनँ नि । म त भर्खरै आएको कलाकार हुँ नि । त्यसैले हाम्रो समस्या बुझिदिन मेरो अनुरोध छ । अनमोल र म हाम्रो कारणले जुधेको हैन भन्ने दर्शकलाई जानकारी गराउँदछु । यो कुरा उहाँहरूले पक्कै बुझ्नुहुन्छ ।

चलचित्र यात्रामा तपाईंको भूमिका कस्तो छ ?

यो फिल्ममा म एउटा ब्लगरको भूमिकामा छु । यात्रामा रहँदा त अन्य विषयको भिडियो खिचेर त्यसलाई डकुमेन्ट्री बनाएर ब्लगमा हार्ने उत्साहित युवाको भूमिका मेरो यसमा रहेको छ ? यो आफैंमा फिल्म निर्देशकको जस्तै भूमिका हो ?

यात्राको ब्लगर भूमिकाबाट तपाईंलाई निजी जीवनमा केही फाइदा पुग्ने देख्नुहुन्छ त ?

पक्कै पुग्छ । फिल्ममा निर्देशकले टिममा कसरी काम गर्नुपर्दो रहेछ भन्ने मैले यो भूमिका निर्वाह गर्ने क्रममा सिकेको छु । किनकि मैले निर्वाह गरेको भूमिका पनि फिल्मको निर्देशकको भन्दा काम छैन ।

यसपटक डकुमेन्ट्री तथा भिडियो निर्देशक भएर ब्लगरको भूमिका निर्वाह गर्दा निर्देशन गर्न निकै गाह्रो हुँदो रहेछ भन्ने महसुस भएको छ ।

 

(Visited 92 times, 1 visits today)
Loading comments...