सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

काव्यकृति यात्रा

तेजविलास अधिकारी
1 week ago
13/04/2019

 


तेजविलास अधिकारी

प्रारम्भ

‘सूर्यपुत्र’ कवि टीएन भट्ट विश्वामित्रद्वारा लिखित कविता संग्रह हो । आफू वा आफ्नो परिवार प्रकाशक हुनुपर्ने साहित्यिक प्रकाशनको मूल पारालाई नै अपनाउन बाध्य भएको अवस्था यहाँ पनि देख्न सकिन्छ । ४७ वटा कविता संकलन गरिएको यस संग्रहमा गद्य कविताको शक्ति र बान्की राम्ररी छाम्न सकिन्छ । कविले मौन रूपमा झन्डै २५ वर्षदेखि गरेको काव्यसाधना यस कृतिमार्फत प्रकट भएको छ । खासगरी २०६२÷०६३ देखि हालसम्म झन्डै १२ वर्षको चरम असन्तुष्टि कवितामा बढी प्रकट भएका छन् ।

कविताचर्चा

कवि कवितामार्फत समाजको संवादलाई प्रस्तुत गर्दछन् । पटक–पटक परिवर्तनका निम्ति भएका आन्दोलनले अझ पनि धारा परिवर्तन भएर पनि पारा परिवर्तन नभएको किटान कविले गरेका छन् । गद्य लयमा कविले भ्रष्टाचार, अनियमितताको दोहोलो काढेका छन् । कवि आचार सुधार नभएसम्म व्यवस्था सम्मानित नहुने विषयमा सहमत छन् ः
साथी यस्तै छ तिम्रो समाजवाद †
श्वास मेरो, आयु तिम्रो
भाग्य मेरो, फैसला तिम्रो
राष्ट्रियता मेरो, राष्ट्र तिम्रो (पृ. ८७)
प्रस्ट आवाज सुनिन्छ, ‘समाजवाद’प्रतिको लगानीमा नेताहरू के गरिरहेका छन् । चाहे बीपीको समाजवाद होस्, चाहे वर्तमान माक्र्सवादी निकट भनिएको सरकारको नेतृत्वले घोषणा गरेको समाजवाद, दुवै खाले समाजवाद प्रायः असफल बनेको छ । राजनीति नाराका माध्यमबाट हत्याउने र कुर्सीमा पुगेपछि लट्ठिने रोग हाम्रो प्रमुख रोग हो । जतिसुकै प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रको नारा जपे पनि आफूले भाग पाएपछि मात्र प्रजातन्त्र पाएको भन्ने नेता सोच नबदलिएसम्म समाज नबदलिने दाबी कविले गरेका छन् ः
जिजुबाजेका पालादेखि
पिठ्यूँमा अनगिन्ती पहाड बोक्यो
भरियाको ट्रेडमार्क
तालुमा नाम्लाको डाम बनायो
पसिनाको काली बगायो
बोक्दाबोक्दै अनिदा पहाडहरू
थचक्क बस्यो (पृ. २३)
कतै कवि यौवन सुलभ भावलाई पनि टिप्दै युवा वयको भाव एक झमेटमै पोख्न पुग्छन् त । कविको अनुभूति त्यसबेला पनि साधारणीकरण हुन पुग्छ । लाखौं युवाले भोग्ने गरेको प्रणयभाव र त्यसको तरंगमा एकैछिन राहत दिने प्रयत्न जारी राख्छन् ।
‘गोरु बनाऊ’ कविताभित्र यस्तै शैली र शिल्प प्रस्तुत गरिएको छ । मान्छेमा पशुत्व छ, त्यो पशुत्व सार्वभौम चिज हो ।

 

 

कवितामार्फत समाजको संवाद प्रस्तुत गरिएको छ । पटक–पटक परिवर्तनका निम्ति भएका आन्दोलनले धारा परिवर्तन भए पनि पारा परिवर्तन नभएको किटान कविले गरेका छन्

 

नेता र नेतृत्वलाई नाटककारको संज्ञा दिने कवि जे गुण जोसँग छ, त्यही प्रदर्शन हुने विषयमा पाठक हामीलाई सम्झाउँछन् । हामीले धेरै आशा गरेकाले हामी निराश भएकोतर्फ इंगित गरेका छन् । राष्ट्र नेताका रूपमा मानेका नेता केबल नाटकका पात्र मात्र भएको विषयलाई कलात्मक ढाँचामा कविले पोखेका छन् ।
राष्ट्रिय पोसाक लगाएर देश लुट्नेहरूको हुल हजारी बाँदरको जस्तै छ । कलाविहीन नाटक गर्ने यस्ता व्यक्तिहरूबाट हामीले अपेक्षित सफलता नपाए पनि हामी त्यस्तो धन्दाको जालो तोड्न असफल रहेकोप्रति स्वीकारोक्ति पनि कविको रहेको छ ।
‘मैले तिमीलाई …’ शीर्षकको कवितामा यसअघि प्रयोग भएभन्दा नवीन शैली र विषयवस्तुलाई स्थान दिएर कविले आफ्नो नौलोपन प्रस्तुत गरेका छन् । आमपाठकका निम्ति पनि ज्ञानको माध्यम बनेको छ, सूर्यपुत्र । कला पारखीका निम्ति यसले मनमा केही संशय सिर्जना गर्न सफल
भएको छ ।

कविले आफ्नो काव्य यात्राको प्रथम कृतिका रूपमा प्रस्तुत गरेको सङ्ग्रहलाई अझै धेरैले पढेर सुझाव सल्लाह मात्र होइन, उत्साह भरिदिनुपर्छ नै । वर्तमानको डरलाग्दो जीवन भोगाइ, विगतको कथिएको स्वर्णिम इतिहास सायद हामीले राम्ररी निधो गर्न सकेका छैनौ कि ? संग्रहमा रहेको ‘मुक्ते दाइ’ कविता जस्तै पात्र स्थान र सन्दर्भ मिलेका कविताले पाठकलाई पटक–पटक ऊर्जा दिन्छ । हिजो पनि हामी सम्पन्न थिएनौं र आज पनि छैनौं । केवल संस्कृति र पुरातŒवको केही झलकमा हामी आत्मरतिमा रमाइरहेकै छौं ।

२०६२ चैतमालेखिएको कविताले जनआन्दोलनको पृष्ठाधारलाई हेर्दा र विश्लेषण गर्दा पनि परिवर्तनको स्वर उच्च छ । केवल शहीद बनेर मात्र परिवर्तन हुँदो रहेनछ कविजी यो त उहिल्यै भूपिले भनि पो सके त ।

सार

झन्डै चार दर्जन कविताभित्र देश छ, समाज छ, परिवार छ, व्यक्ति छ । र, मान्छेको मनोविज्ञान स्पष्ट रूपमा प्रकट भएको छ । एउटा सचेत नागरिकको भूमिका सही ढंगले पूरा गर्ने काम कविले थालनी गरेका छन् । कविता संग्रह पहिलो होला, यो निरन्तर कविता बन्ने प्रक्रियामा अर्को कविता सिर्जनातर्फ
अगाडि बढोस् । कवि द्रष्टा भावलाई आफ्नै नैतिक र बौद्धिक जिम्मेवारी सम्झन्छन् । कवितामा खेती गर्छन् । लाग्छ, यो खेती विषवृक्ष उखेल्ने प्रयास हो । सच्चा गणतन्त्रवादी तथा प्रजातन्त्रवादी त्यो हो, जो निरन्तर परिष्कारका निम्ति अगाडि बढ्छ, अथक यात्री बनेर । कविको लक्ष्य यही हो ।

 

(Visited 16 times, 1 visits today)
Loading comments...