मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

द्वन्द्वको अवशेष

केबि मसाल
3 months ago
13/04/2019


केबि मसाल

पूर्वी रुकुममा प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा तथा मगर खाम बस्ती अध्ययन, अवलोकन र पदयात्राको रोमाञ्चक अनुभूति पर्यटकले पाउन थालेका छन् ।  मगर संस्कृतिको अध्ययन, ढोरपाटन शिकार आरक्ष, यार्सागुम्बा पाइने बुकिपाटनदेखि रुकुमकोटसम्म पर्यटक पुग्ने गरेका छन् । प्राकृतिक महत्वका सम्पदाका कारण अहिले पूर्वी रुकुममा घुमघामका लागि जाने पर्यटकको संख्या क्रमशः वृद्धि हुन थालेको छ । पूर्वी रुकुममा युद्ध पर्यटन अर्थात् द गुरिल्ला ट्रेकिङका कारण पनि आजभोलि धेरै पर्यटक पुग्ने गरेका छन् ।

माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका र द्वन्द्वका अवशेष अब पर्यटकीय स्थल बनेका छन् । गाउँमा अब होमस्टे सुरु हुन थालेको छ । गुरिल्ला पदमार्ग मगर खाम जातिको संस्कृति अध्ययनका लागि समेत उपयोगी छ । तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट बनेका अवशेषसमेत पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन् ।

गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी, खोला, मन्दिर र झरनाको दृश्यावलोकन गर्न सकिन्छ ।  गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको वेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरबारे ज्ञानसमेत पर्यटकलाई दिने गर्दछ । अहिले पूर्वी रुकुममा विदेशी पर्यटकसमेत पुग्ने गरेका छन् । समाजशास्त्र, मानवशास्त्र एवं राजनीतिशास्त्रका विद्यार्थीका लागि अध्ययन, अनुसन्धान र खोजका लागि गुरिल्ला पदमार्ग गन्तव्य भएको छ । विदेशी पर्यटक अधिकांश द्वन्द्व व्यवस्थापनमा चासो राख्ने पर्यटक भेटिएका छन । पर्यटकलाई गाउँमा बासको राम्रो
व्यवस्था छ ।

कमल दहको नामबाट रुकुमको नाम रहेको हो । पूर्वी रुकुम हिमाल भएकै कारण हिमाली जिल्ला भएको छ । अहिले रुकुम दुई जिल्लामा विभाजित भएको छ । पूर्वी रुकुम प्रदेश ५ मा पर्दछ । स्थानीय तहको नामकरणले पनि प्राकृतिक र सांस्कृतिक सम्पदाले पूर्वी रुकुम धनी भएको छ ।
सिस्ने हिमाल, पुथा हिमाल र मगर खाम क्षेत्रको प्रसिद्ध भुम्या नाचको नामबाट भूमे गाउँपालिकाको नाम राखिएको हो । सिस्ने हिमाल, मैकोटको पुथा हिमाल र सामझाङ हिमचुलीले पूर्वी रुकुमलाई प्राकृतिक सौन्दर्यता दिलाएको छ । जुन सौन्दर्यता गर्दा रुकुमकोट पुग्ने  पर्यटक रमाउँछन् ।

 

 

माओवादीले द्वन्द्वकालमा बनाइएका आधार इलाका तथा द्वन्द्वका अवशेष अब पर्यटकीय स्थल बनेका छन् । गाउ“मा अब होमस्टे सुरु भएका छन् । गुरिल्ला पदमार्ग मगर खाम जातिको संस्कृति अध्ययनसमेतका लागि उपयोगी छ

 

 

राणाशासनमा रुकुमको पूर्वी भाग पाल्पाबाट र पश्चिम भाग सल्यान र जाजरकोटबाट शासित थियो । २०१७ सालसम्म पश्चिम रुकुमको चौरजहारी क्षेत्र जाजरकोट, हुकाम रन्मामैकोट क्षेत्र बागलुङ र मुसिकोट, रुकुमकोट क्षेत्र सल्यान जिल्लाको प्रशासनको मातहतमा थियो । राजा महेन्द्रले २०१८ सालमा ३६ बाट १४ अञ्चल ७५ जिल्ला बनाएपछि सल्यान, जाजरकोट र बागलुङका केही भाग मिलाएर रुकुम जिल्ला बनेको हो । सुरुमा रुकुमको सदरमुकाम रुकुमकोटमा थियो । अर्कातर्फ समग्र रुकुम रुकुमकोटे, मुसिकोटे र बाँफिकोटे राजाहरूले शासन गरेको क्षेत्र हो । रुकुम जिल्ला भएपछि सुरुमा २०१८ सालमा रुकुमकोट बसेको सदरमुकाम १२ वर्षपछि १ वैशाख २०३० मा मुसिकोट सारियो । २०३२ सालमा बागलुङबाट हुकाम, मैकोट, रन्मा र तकसेरालाई रुकुममा गाभियो । अहिले राज्य पुनःसंरचनाका क्रममा जिल्ला विभाजन गर्दा रुकुम पूर्व र पश्चिम बन्न पुगेको छ । पूर्वी रुकुमको सदरमुकाम ४४ वर्षपछि रुकुमकोट नै तोकिए पनि फेरि सदरमुकामका लागि गोल्खाडा र रुकुमकोटको नाममा विवाद हुन थालेको छ ।

रुकुमकोट मगर राजा र बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान हो । थुम्काहरूले सजिएको भौगोलिक संरचना, सानोभेरी नदी र रुकुमगार खोलाको संगमस्थल विशाल धाउने बगर फाँटबाट माथि उठेको सुन्दर पहाडी उपत्यका रहेको छ । जुन ठाउँमा पर्यटक पुगेपछि त्यहाँको दृष्यबाट आनन्द लिन सक्दछन् । प्राकृतिक जलाशय, अलौकिक कमलका फूलहरूले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्ययनका लागि महŒवपूर्ण स्थल मानिन्छ । थुम्काहरूबीचबीचमा लुकेका सानाठूला पोखरी र सुन्दर बस्तीहरूले दिने मनोरम प्राकृतिक सौन्दर्यता, आकर्षक भूबनोट र सन्तुलित हावापानीले रुकुमकोट पुग्ने पर्यटक प्रकृतिस“ग रमाउँछन् ।

 

सिस्ने हिमाल पूर्वी रुकुमको उत्तरी सिमानामा अवस्थित रमणीय छ । यसलाई स्थानीय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । यो कान्जिरोवा हिम शृंखलाअन्तर्गत पर्दछ । रुकुमकोटलाई वरिपरिबाट सर्पझैं डाँडाले घेरेको छ त्यसैले पहिले रुकुमकोटको नाम सर्पकोट रहेको पनि भन्ने गरिन्छ । सिस्ने हिमालको वरिपरि विभिन्न सानाठूला हिम ताल छन् । रुकुमकोटको मैदान डाँडाबाट सिस्ने हिमालको मनमोहक दृश्य हेर्न सकिन्छ ।

रुकुमको पूर्वी भेगको दुर्गम, विकट, हिमाली, लेकाली बस्ती जहाँ खाम मगर जातिको बस्ती रहेको पहाडी भूगोल हो । खामबस्ती भाषा, संस्कृतिको अध्ययन अनुसन्धान गर्न खाम भाषीको क्षेत्र पर्यटकका लागि महŒवपूर्ण मानिन्छ । भाषा, संस्कृतिसँगै प्राकृतिक सम्पदाको खानी रहेको र पर्यटकका लागि आकर्षणकै केन्द्रबिन्दु मानिन्छ । पूर्वी रुकुम खाम भाषीहरूको सांस्कृतिक पहिचान भएको, गाउँ र बस्तीहरूको रमणीय, ऐतिहासिक र प्राकृतिक छटाले शृंगारिएको छ ।
नेपालमा तीन किसिमको मगर भाषा छ । डोल्पाका मगरले काइके भाषा बोल्छन । रुकुम र रोल्पाका मगरहरू खाम (अठार मगराती) भाषा बोल्छन् भने पाल्पा, स्याङजा, तनहुँ र नवलपरासीका मगर ढुट (बाह्र मगराती) भाषा बोल्छन् । भाषा, संस्कृति र परम्पराले मगर जाति धनी मानिन्छ । मगर जातिको शारीरिक बनोटदेखि रीतिरिवाज, रहनसहन, चालचलनमा छुट्टै खालको विशेषता छ ।

विशेषतः पहाडी इलाकामा बसोवास गर्ने भएका कारण पूर्वी रुकुमका मगरले बाक्लो कपडाहरू लगाउने परम्परा छ । मगर जातिको संस्कृतिमा पनि छुट्टै खालको मौलिक पहिचान पाइन्छ ।
मगर जातिमा बहुल भाषा, संस्कृति, परम्परा र चाडपर्वहरू रहेका छन् । विविध संस्कृति, चाडपर्वको कुरा गर्दा अथार मगरात क्षेत्रका मगरले मनाउने संस्कृतिको प्रमुख चाडमा भुम्या (नोगोबांगे) पर्वलाई लिने गरिन्छ । भुम्या पर्व भूमी देवताको कुनै पनि आपतविपत नहोस् भनेर भूमि देवतालाई मनाउने पर्व हो । यो पर्वको सुरुवात कहिलेदेखि भयो ? त्यो खोजीकै विषय छ । तर पनि परम्परागत मगर खामहरूले मान्दै आएको पर्व हो । जेठ मसान्तबाट ुसुुरु हुने भुम्या पर्व ५ असारसम्म मनाइन्छ।

पूर्वी रुकुमलाई आदिम सांस्कृतिक थलोका रूपमा चिनिन्छ । मगर खाम यहाँको मुख्य भाषा हो । मगर खाम समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । पूर्वी रुकुममा पर्यटक रमाउने भनेकै मगर खाम भाषाको अध्ययन, पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया र वन्यजन्तुहरू हुन् । मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरू आफ्नो अस्तित्व स्वीकार्न नगर्ने संस्कार छ । मगर खामहरूको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन् । गाउँमा खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा प्रचलित छ । यो नै पूर्वी रुकुमको सामाजिक विशेषता हो ।

पूर्वी रुकुमको सांस्कृतिक नृत्यहरू सबै सामूहिक हुन्छन् । लहरै पैसेरी, भुम्या, डिग्रे, झोल्हा नाच मगर खाम बस्तीका परम्परागत सामूहिक नाच हुन् । भुम्या नाचमा पुरुषको गोलबद्ध लहरलाई महिलाले घेरेका हुन्छन् भने पुरुषहरू खुकरी भिरेर नाच्छन् । अगुवालाई पछ्याएर गोलबन्द भई नाच्नु भुम्या नाचको विशेषता हो । पाका र ज्येष्ठतालाई प्राथमिकता दिइने यो नाचमा युवायुवतीहरू पनि सामेल हुन्छन् ।
भुम्या नाचले मुख्यगरी एकता, भ्रातृत्व र सामूहिकताको भावना प्रवद्र्धनसँगै सामाजिक सम्बन्ध विस्तार गर्ने सन्देश प्रवाह गर्छ । सिंगारु नाच यहाँको एउटा सांस्कृतिक गहना हो । पुरुषलाई एउटा निश्चित परम्परागत पहिरनले रूपवती महिलाको भेषमा सिँगारपटार गराई मादल, दुँदी र झ्याली बजाएर काव्यात्मक शैलीको गीतिकथा गाएर सिंगारु नचाइन्छ ।

मध्यपहाडी लोकमार्गले पूर्वी रुकुमलाई सुविधा दिएको छ । पाँचथरको चियोभन्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटमा गएर टुंगिने मध्यपहाडी लोकमार्गले रुकुममा मात्र १३३ किलोमिटर सडक पूर्वी रुकुमको पाती फाल्नेदेखि लिएर पश्चिमको चौरजहारीसम्म पुगेको छ । लोकमार्गले पूर्वी रुकुमका बासिन्दालाई काठमाडौंसम्म जान पूर्व–पश्चिम राजमार्गमै झर्नुपर्ने बाध्यता हटेको छ । अहिले पूर्वी रुकुमका मानिसहरू बाग्लुङ–पोखरा भएर काठमाडांै आवतजावत गर्न थालेका छन् । गाउँमा उत्पादन भएको तरकारी, फलफूल र जडीबुटी तराईमा लैजान सजिलो भएको छ भने तराईबाट सामान ल्याउन सजिलो भएको छ । पहाड र तराईका नागरिकको आवतजावत पनि बढदो छ । विकासमा सधैं उपेक्षित पूर्वी रुकुममा शान्ति प्रक्रियापछि मध्य पहाडी लोकमार्ग दाङ–रुकुम शहीद मार्ग, सोलाबाङ–धाउने–रन्मामैकोट मोटर बाटो, दाङ–चुनबाङ–रुकुमकोट–प्वाङ–सिस्ने हुँदै डोल्पा जोड्ने मार्ग बन्न थालेको छ ।

बागलुङदेखि ढोरपाटन, स्यालपाखे हुँदै रुकुमको टकसेराको पैदल मार्ग भएर हुकाम मैकोट र रन्मा मैकाटसम्म हिमाली भेगमा ताल र तलैया मात्र नभएर खनिज सम्पदाबाट निस्किएको तातोपानीका मूलहरू पनि छन । पेल्मा गाउँ पश्चिम सिमामा पर्ने डोल्पा जिल्लाको पानी ढलो हिमालबाट बग्दै आएको खोलाको पानी तातो छ । पुरानो बाथका रोगीहरूले त्यो खोलाको तातो पानीमा नुहाउँदा बाथरोग सन्चो हुने जनविश्वास छ । यसबाहेक पैदल यात्रामा भ्रमण गर्न चाहने पर्यटकका लागि पूर्वी रुकुममा घुमघाम गर्ने धेरै स्थल छन् । रन्माकोटको पुपाल भन्ज्याङको खुराल फाँटमा र ज्युङला भन्ज्याङको कुतलाबादली पाटनको बीचमा दुईवटा दह छन् । दहहमा दुर्लभ काम्लो नामका चराहरूले जलक्रीडा गर्छन् । बाग्लुङबााट ढोरपाटन हुँदै डोल्पा जाने पर्यटक रुकुमको तकसेरा हुँदै यही बाटोबाट यात्रा गर्छन् । तालमा हुने चराहरूको जलक्रीडाले त्यहाँ पुग्ने पर्यटक रोमाञ्चित हुन्छन् ।

पर्यटकका लागि चुनबाङ, रुकुमकोट, महत, लुकुम, मोराबाङ, राङ्सी, कोल, तकसेरा, हुकाम, खाराबाङ, रन्मामैकोटलगायतका गाउँ पूर्वी रुकुमका मुख्य आकर्षक गन्तव्य हुन् । यी गाउँका बस्ती संरचना निकै लोभलाग्दा छन् । ती गाउँको आआफ्नै विशेषता छन् । पोखरा–बाग्लुङ भएर रुकुमकोट आउने पर्यटकले पहिला ढोरपाटन पुग्न सकिन्छ । ढोरपाटन पुथा, चुरेन र गुर्जा हिमालको काखमा रहेको छ । फागुनमा ढोरपाटन क्षेत्र लालीगुराँसले सजिएको हुन्छ ।

प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र वन्यजन्तु सिकारको रोमाञ्चक अनुभूति लिन चाहने पर्यटकका लागि ढोरपाटन छानिन्छ । ढोरपाटनको अर्थ फराकिलो ठाउँ हो ।
ढोरपाटनको दक्षिणपट्टि रहेको रुद्र तालको पानी कालीगण्डकीमा मिसिन्छ । ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानीबाट उत्तरगंगा अर्थात् सानो भेरी नामबाट पूर्वी रुकुम प्रवेश गरी टकसेरा, कोल, नाथिगार, माछिने, सिम्ले हुँदै भेरीमा मिसिन्छ । ढोरपाटनको उत्तरतर्फको गर्पा डाँडाबाट कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, र पूर्वी रुकुमका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी, उत्तरतर्फका हिमाल, चुरेन पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरि हिमाल, माछापुच्छ«े, नील गिरी र अन्नपुर्ण हिमाल देख्न सकिन्छ ।

 

(Visited 122 times, 1 visits today)
Loading comments...