सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

त्यसपछि दौडिन थाले

दिल तामाङ
1 week ago
13/04/2019

दिल तामाङ

पहिलोदेखि नै नेपाली सेना एकदमै मनपर्ने । एकै ड्रेसमा बन्दुक र ब्याग बोकेर लाइनमा हिँडेका सेना देख्दा पनि त्यस्तै बन्ने हुटहुटी । २०६८ मा पहिलोपटक प्रयास गरे । तर, त्यसबेला सफल भएनन् । अर्को वर्षको प्रयासमा सफल भए । मनपर्ने ठाउँमा छिरेपछि उनले सानैदेखिको रुचि भएको खेललाई पनि छाड्न चाहेनन् । भित्रभित्रै आर्मीबाट कसरी खेल्न सकिन्छ भन्ने मानसिकता बनाए । यही मानसिकता बोकेका छोटो दूरीका धावक सोमबहादुर कुमाल खेल यात्राको व्यावसायिक सुरुवात गर्न सफल भए । सेनामा प्रवेशसँगै उनले बाहिनी खेलकुद हुने बेलामा दाइहरू अभ्यास गरिरहेको देखेपछि नजिकै रहेका दाइलाई भने, ‘दाइ, म पनि दौडिन्छु नि । दाइले ल, दौडिन न त हेरौं भने । पहिलो प्रयासमै मैले बाहिनी पृतनामा पहिलो भएकालाई हराइदिएँ । त्यसपछि हाम्रो कमान्डरले तँ त मज्जाले दौडिँदो रहेछस् । अब खेल परेडमा निस्की, भोलि छनोट छ, दौडिन आइज ।’

कमान्डरले नै यति भनेपछि उनलाई अब के चाहियो र ? उनले छनोटमा दौडने योजना बुने । छनोटमा उनले सोचेजस्तै भयो । बाहिनीमा भएका सबै खेलाडीलाई हराएर पहिलो भए । त्यसपछि बाहिनीबाट पृतना हुँदै आर्मी क्लबमा आए । मान्छेको मन न हो । आवश्यकता असीमित हुन्छन् । क्लब छिरेसँगै उनले राष्ट्रिय खेलाडी बन्ने सपना देखे । नेपालकै पहिलो हुने महत्वाकांक्षा जागिसकेका उनले आर्मीमा जिते । अब राष्ट्रियस्तरमा नै जित्नुपर्छ भन्ने लक्ष्यमा अघि बढे । यसमा उनले सफलता पाए । उनले एथलेटिक्सका राष्ट्रिय प्रतियोगिता जितिरहने, कीर्तिमान बनाइरहने र अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धा गर्ने
बाटो खुलाइरहे ।

बाल्यकाल

एथ्लेटिक्सका कीर्तिमानी खेलाडी सोमबहादुर कुमाल २४ वर्षअघि गोरखा नगरपालिकाको ११ किलोमा जन्मिएका हुन् । साधारण परिवार । बुबा केही समय वैदेशिक रोजगारीमा यूएई र भारत गए । खेती किसानी मुख्य पेसा हो । बाल्यकालमै धेरै काम गर्नुपर्ने भएकाले खेलमा त्यति सारो ध्यान नै गएन ।
‘सानो बेलामा धेरैले खेल्ने खेल त फुटबल नै होला । मैले पनि त्यही खेले । महेन्द्र उच्च माध्यमिक विद्यालयमा पढें । स्कुलमा बेलाबखत दौड प्रतियोगिता भइरहन्थ्यो । म कहिल्यै कुदिनँ । अरू कुदेको भने खुब चाख मानेर हेर्थें । कस्तो घोडा कुदेको जस्तै कुदेको होला भन्ने कौतूहलतामा म पनि त्यसरी दौडन सक्छु होला त भन्ने सोच्थें । तर, १९ वर्षको हुँदासम्म पनि मैले कुनै पनि प्रतियोगितामा भाग लिइनँ । आर्मीमा छिरेपछि नै मेरो खेलको करियर अघि बढेको हो,’ बाल्यकाल सम्झिए ।

खेल जीवन

सोम २०६९ मा आर्मीमा छिरे । आर्मीमा छिरेपछि नै उनको खेल यात्राले गति लियो । भर्ती भएपछि आर्मीको प्रशिक्षणपछि उनी गणमा फर्किए । आर्मीहरूको आन्तरिक प्रतिस्पर्धाका लागि हुने छनोट खेल उनले देखे । त्यतिबेला ४००, ८०० र १५०० मा छनोट भइरहेको थियो । प्रशिक्षण गराइरहेका गुरुलाई ‘म पनि दौडिन्छु नि’ भने । गुरुले अनुमति दिएपछि उनले दौडिने प्रण गरे । पहिलो प्रयासमै बाहिनी पृतनामा पहिलो भएकालाई हराइदिए । सेनापति ट्रफीमा दोस्रो भएपछि उनले क्लबको यात्रा तय गरे । ०७२ सम्म उनले मुक्ति खड्कालाई हराउन सकेन ।

 

 

कमान्डरले नै यति भनेपछि उनलाई अब के चाहियो  र ? उनले छनोटमा दौडिने योजना बुने । छनोटमा उनले सोचेजस्तै भयो । बाहिनीका सबै खेलाडीलाई  हराएर पहिलो भए । त्यसपछि बाहिनीबाट पृतना हु“दै आर्मी क्लबमा आए

‘त्यही समय कीर्तिमानी धावक धनीीराम चौधरीसँग अभ्यास गर्न पाएको थिएँ । दुई वर्षसम्म म दोस्रोबाट उक्लिन सकिनँ । पहिलो हुन जति नै मिहिनेत गरे पनि सफल हुन सकेको थिइनँ । आर्मी क्लबमा परेको दुई वर्षपछि ०७२ सालमा १२औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि भएको प्रतियोगितामा भने मैले मुक्तिलाई पहिलोपटक हराएँ । त्यो बेला मैले आठ सय मिटर र चार सय मिटर दुवैमा स्वर्ण पदक जितेको थिएँ,’ उनले भने । त्यस समयदेखि आर्मीका प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा ४ सय र ८ सय मिटर दौडमा लगातार उत्कृष्ट हुँदै स्वर्ण जित्न सफल भए ।

‘पहिलोपटक स्वर्ण जित्दा असाध्यै खुसी लागेको थियो । त्यो गर्वको क्षणमा पाएका मेडल अहिलेसम्म हेर्दा पनि ऊर्जा मिल्छ । घरको भित्तामा मेडलसँगै आफूलाई राम्रो लागेका तस्बिरहरू सजाएर राखेको छु । १२औं दक्षिण एसियाली खेलकुदको ८ सय मिटर दौडमा त्यो अनुभव पनि लिन पाएँ । पदक नजिते पनि आफ्नो समय सुधार भने गरेको थिएँ । आठ सय मिटर दौड १ मिनेट ५५ सेकेन्डमा पूरा गरेको थिएँ । भारतमा भएको दक्षिण एसियाली खेलकुदपछि लगातार अभ्यासमा ध्यान दिइरहें । भारतकै लखनउमा भएको इन्डियन ओपन एथलेटिक्स च्याम्पियनसिप र ब्रुनाईमा भएको ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा पनि सहभागी भएँ,’ उनले भने ।

भारतमा पदक नजिते पनि ब्रुनाईमा ८ सय मिटरमा स्वर्ण र चार सय मिटरमा रजत पदक जिते । माल्दिभ्समा ८ सय र ४ सय मिटर दुवैमा स्वर्ण जितेर नेपालको झन्डा लिएर विदेशी भूमिमा स्वर्ण जित्दाको खुसी शब्दमा बयान गर्न कठिन हुन्छ । उनले थपे, ‘अन्य देशमा अभ्यास र सुविधा राम्रो हुने हुनाले उनीहरूको प्रदर्शन राम्रो भइरहेको हुन्छ । हामी भने जे छ, त्यसमा नै भिडिरहेका हुन्छौं । नेपालमा खेलाडीहरू प्राकृतिक रूपमा नै बलिया हुन्छन् जस्तो लाग्छ ।’

 


बिर्सन नसक्ने त्यो क्षण

उनी अन्तर्राष्ट्रिय सहभागितामा बिर्सनै नसक्ने क्षण इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुद रहेको बताउँछन् । उनले भने, ‘१५ दिन त म टाइफाइडले थलिएँ । सीमित कोटा भएकाले म छनोट हुने पक्का जस्तै भए पनि म छनोट हुन सफल भए । हामी यति महत्वपूर्ण
अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा पनि तयारीमा कति बेवास्ता गर्छौं भन्ने कुरा एसियाली खेलकुदका बेला मलाई परेको घटनाबाट पनि थाहा हुन्छ । जसोतसो एसियाली खेलकुदमा सहभागी हुन गइयो । म ४ सय र ८ सय मिटर दौडमा सहभागी हुँदै छु भन्ने जानकारी पाएको थिएँ । त्यसका लागि राम्ररी तयारी गरिरहेको थिएँ । तर, उता पुगेपछि चार सय मिटरमा नाम नै रहेनछ,’ उनले तीतो अनुभव सुनाए ।

‘यत्रो अभ्यास गरेर पनि खेल्न नपाउँदा एकदमै दुःख लाग्यो । दौड सुरु हुन अघिसम्म पनि वार्मअप गरेर बसिरहेको थिएँ, तर नाम नै आएन । आठ सय मिटरमा भने मेरो नाम छुटेको रहेनछ,’ उनले भने, ‘एसियाका उत्कृष्ट खेलाडीमाझ जसरी पनि राम्रो गर्ने हुटहुटी चल्यो । दौड सुरु भयो । सुरुमा अलि पछाडि बसेर पछि पेल्नुपर्छ भन्ने सोचेको थिएँ । तर, उनीहरूले नै सुरुमा अलि ‘स्लो’ गरें । त्यसपछि मैले टाइमिङ निकाल्नुपर्छ भनेर तीव्रता बढाएँ । तीन सय मिटरतिर पुग्दा म अलि अगाडि बढें । चार सय मिटरमा पुग्दा मभन्दा अगाडि कतारको खेलाडी मात्रै थिए । दुई सय मिटर बाँकी हुँदा एसियाभरको दोस्रो नम्बरमा छु भन्ने सोच मेरो मनमा एक्कासि आयो । तर, त्यसको केही समयमा त म चौथो नम्बरमा धकेलिएँ ।’
उनले थपे, ‘जेनतेन राष्ट्रिय कीर्तिमान बन्यो । त्यसबेला टाइमिङ १ मिनेट ५० सेकेनड २५ पल्स थियो । त्यसअघि १ मिनेट ५० सेकेन्ड ६० पल्सको राष्ट्रिय कीर्तिमान गुरु धनीराम चौधरीको नाममा थियो ।’

अबको लक्ष्य

एसियन एथ्लेटिक्स च्याम्पियनसिपको मितिसँग आठौं राष्ट्रिय खेलकुदको मिति जुधेपछि उनले आठौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । तर पनि उनले आठौंलाई सकभर नगुमाउने योजना बनाएका छन् ।

 

(Visited 194 times, 1 visits today)
Loading comments...