सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

पर्यटन विकासका लागि ‘वृत्तचित्र’

राजधानी समाचारदाता
1 week ago
15/04/2019

 

काठमाडौं । गोरखाको उत्तरी क्षेत्रस्थित धार्चे गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि त्यहाँको वृत्तचित्र तयार गरिएको छ । समुद्र सतहदेखि ३ हजार १ सय मिटर उचाइमा रहेको धार्चे गाउँपालिकालाई स्वदेश तथा विदेशी पर्यटकमाझ चिनाउन तयार पारिएको वृत्तचित्र आइतबार आयोजित समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले विमोचन गरेका हुन् ।

सो अवसरमा नेता पाण्डेले प्राकृतिक रूपमा धनी भए पनि भौगोलिक रूपमा धार्चे गाउँपालिका पछाडि परेकाले यसको विकासका लागि तीनै तहका सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । ‘पर्यटकका लागि मोटरबाटोसँगै पदमार्ग निर्माणमा समेत गाउँपालिकाले महŒवपूर्ण भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘धार्चेमा उत्पादित जडीबुटीलाई विश्वमाझ पु¥याउनुपर्छ ।’ कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले १० वर्षे जनयुद्धका कारण गोरखाको विकास पछाडि परेको बताउँदै दुर्गम गाउँको विकासका लागि सरकारले विशेष योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

गोरखाका पूर्वसांसद छमबहादुर गुरुङले धार्चे गाउँपालिकालाई गोरखाको नमुना गाउँपालिकाको रूपमा विकास गर्नुपर्ने बताए । नेपाली कांग्रेस गोरखाका प्रदेशसभा सदस्य मनकुमारी गुरुङले धार्चे गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रूपमा विकास गर्नुपर्ने बताए । पर्यटन पत्रकार संघका अध्यक्ष नारायण भण्डारीले धार्चेभित्रको संस्कृति, कला र पर्यटकीय स्थललाई विश्वमाझ चिनाउन पत्रकार संघले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

साबिकको केरौजा, उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु मिलेर बनेको धार्चे गाउँपालिकाको पर्यटन विकासका लागि ५ लाख रुपैयाँ खर्च गरेर वृत्तचित्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । धार्चे गाउँपालिकामा २०६८ सालको तथ्यांकअनुसार ३ हजार १२८ घरधुरी तथा १३ हजार २२९ जनसंख्या रहेको छ । २०७२ सालको भूकम्पको केन्द्रबिन्दु जुगान डाँडालाई लक्षित गरी चार दिनको ‘इपिसेन्टर ट्रेकिङ ट्रेल’ भ्रमण तालिका तयार पारेको छ । अधिकाशं गुरुङ बस्ती रहेको गाउँपालिकामा आलु महोत्सव र मकै विवाह महŒवपूर्ण सांस्कृतिक पर्वहरू मनाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष फूलमाया गुरुङले जानकारी दिए । गाउँपालिकाले गाउँका जनताको सेवाका लागि ‘हेलो गाउँले प्रमुख’ निःशुल्क टोल फ्री नम्बरसमेत चलाएको छ ।

 

(Visited 19 times, 1 visits today)
Loading comments...