सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

भारतीय लोकसभा निर्वाचन : योगी र मायावतीमाथि कारबाही

एजेन्सी
1 week ago
15/04/2019

नयाँ दिल्ली  । भारतमा १७औं लोकसभा निर्वाचन सुरु भएका बेला निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनको प्रचारप्रसार जारी रहँदा विभिन्न विवादित घटनाहरू बाहिर आएका छन् ।

सो क्रममा निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी प्रमुख मायावतीमाथि कारबाही गरेको छ ।

आयोगले दुवै जनालाई निर्वाचन प्रचारका लागि सीमित समयका लागि प्रतिबन्ध लगाएको हो । आयोगका अनुसार योगीले तीन दिन र मायावतीले दुई दिन निर्वाचन प्रचार गर्न पाउने छैनन् ।

मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी आयोगले उनीहरूमाथि प्रतिबन्ध लगाएको हो । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुवै जना कारबाहीमा परेका हुन् ।

निर्वाचन आयोगलाई सर्वोच्चले कुनै कारबाही नगरेको बताइरहँदा आयोगको यो निर्णय आएको हो । योगी र मायावती दुवैको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएको हो ।

मायावतीले ७ अप्रिलमा सहारनपुरमा आफ्नो सम्बोधनका क्रममा मुस्लिम समुदायलाई आफ्नो भोट बाँडिन नदिन आग्रह गरेकी थिइन् । सो क्षेत्रबाट हाजी फैजल–उर–रहमान बहुजन समाज पार्टी र गठबन्धनका उम्मेदवार हुन् ।

यस्तै, योगी आदित्यनाथले मेरठको र्यालीमा ‘अली’ र ‘बजरंगवली’ को टिप्पणी गरेका थिए । निर्वाचन आयोगले यो भनाइ आपत्तिजनक भन्दै तीन दिनको प्रतिबन्ध लगाएको छ ।

योगीले ९ अप्रिलमा मेरठमा भनेका थिए, ‘यदि कांग्रेस, समाजवादी र बहुजन समाज पार्टीलाई विश्वास ‘अली’मा हो भने हाम्रो आस्था बजरंगवलीमा छ ।’

 

(Visited 88 times, 1 visits today)
Loading comments...