बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

निजी विद्यालयमा १० देखि १२० प्रतिशतसम्म शुल्क बढाउने तयारी

राधेश्याम खतिवडा
2 months ago
15/04/2019

चितवन । चितवनमा रहेका निजी विद्यालयले आगामी शैक्षिक सत्रदेखि शुल्क वृद्धिको तयारी गरेका छन् । हरेक निजी विद्यालयले स्थानीय तहमा शुल्क वृद्धिको प्रस्ताव पेस गरेसँग बढाउने तयारी देखिएको हो ।

स्थानीय तहमा प्रस्ताव भएको शुल्क विवरण हेर्दा १० देखि १२० प्रतिशतसम्म वृद्धि प्रस्ताव पेस भएका छन् । नयाँ शैक्षिक सत्रबाट सबैभन्दा कम एसओएस बालग्रामले १० प्रतिशत र स्मल हेभन स्कुलले १२० प्रतिशत शुल्क वृद्धिको प्रस्ताव राखेका छन् । धेरैजसो विद्यालयको ४० प्रतिशतसम्म शुल्क वृद्धि प्रस्ताव रहेको छ ।

विद्यालयमा धमाधम विद्यार्थी भर्ना गर्ने क्रम चलिरहेका बेला चितवनका निजी विद्यालयले शुल्क बढाएर भर्ना लिन खोजिरहेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन चितवनले अहिलेको महँगीनुसार शुल्क समायोजन गर्नुपर्ने आवाज उठाएको छ । प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईंले तीन वर्षअघि देखि शुल्क वृद्धि नभएको र महँगी बढ्दै गएकाले शुल्क वृद्धि गर्नु आवश्यक रहेको बताए ।

भरतपुर महानगरपालिकामा संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण मापदण्ड निर्देशिका बनेको र सोही निर्देशिकानुसार जिल्लाका निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धारणको प्रक्रिया अघि बढेको अध्यक्ष चापागाईंले बताए ।

हरेक विद्यालयले शिक्षक अभिभावक संघको बैठकबाट निर्णय गरी विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर महानगरपालिकाको शैक्षिक प्रशासन माहाशाखामा शुल्क प्रस्ताव बुझाएको उनले बताए ।

महानगरपालिकाको शैक्षिक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा बनेको कार्यदलले अध्ययन गरिरहेको महाशाखाका अधिकृत बाबुराम दवाडीले बताए । महानगर प्रमुखको संयोजकत्वमा रहेको नगर शिक्षा समितिको २९ चैतमा बसेको बैठकले १५ वैशाखसम्ममा प्रतिवेदन पेस गर्नेगरी कार्यदललाई जिम्मा दिएको छ ।

संस्थागत विद्यालयले विद्यालयमा पढिरहेका आफ्नै विद्यार्थीलाई पनि हरेक कक्षापिच्छे नै भर्ना लिने गरेका छन् । एउटै विद्यालयमा पढिरहेका विद्यार्थीलाई भर्ना शुल्क लिन नपाउने प्याब्सन प्रदेश ३ का उपाध्यक्ष देशबन्धु अधिकारीले बताए । एउटै विद्यालयमा पढिरहेका विद्यार्थीलाई भर्नाको नाममा शुल्क लिन नमिल्ने उनले बताए ।

अनेरास्ववियु चितवनका पूर्वअध्यक्ष देवप्रसाद पाठकले अहिले संस्थागत विद्यालयमा शुल्क वृद्धि आवश्यक नरहेको बताए । निजी विद्यालयका सञ्चालकसँग विगतमा शुल्क नबढाउने मौखिक सहमति भएको बताउँदै खबरदारी गर्ने बताए । जिल्लामा १७१ वटा संस्थागत विद्यालय छन् ।

(Visited 87 times, 1 visits today)
Loading comments...