शुक्रवार ६ भाद्र, २०७६ (Friday, 23rd August 2019)
६ भाद्र, २०७६ (23 August 2019)

सुडानमा पूर्वमन्त्री पक्राउ, सञ्चारमाध्यममाथिको प्रतिबन्ध फुकुवा

एजेन्सी
4 months ago
15/04/2019

खार्तुम । अफ्रिकी राष्ट्र सुडानको संक्रमणकालीन सैनिक परिषदको आदेशमा पूर्ववर्ती सरकारका सदस्यहरु पक्राउ परेका छन् । पूर्व राष्ट्रपति ओमार अल–बसीरलाई गत बिहीबार सेनाले सत्ताच्युत गरी पक्राउ गरेलगत्तै उनको सरकारका मन्त्रीहरु पनि पक्राउ परेका हुन् ।

परिषदले राजधानी खार्तुममा जारी रहेको बिशाल प्रदर्शनकाबीच पूर्ववर्ती सरकारका अधिकारीहरुलाई पक्राउ गरेपनि आन्दोलनकारीमाथि भने हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको छ । परिषद्का प्रवक्ताले विपक्षीहरूलाई नयाँ प्रधानमन्त्री छान्न आग्रह गर्दै त्यसलाई कार्यान्वयन गर्ने जनाएका छन् ।

सुडानमा मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन महिनौंदेखि जारी छ । गैरसैनिक सरकार निर्माणका लागि तत्काल पहल नभएसम्म सडकमा प्रदर्शन जारी राख्ने प्रदर्शनकारीको अडान छ । पत्रकार सम्मेलनमा परिषद्का प्रवक्ता मेजर जेनरले शम्स अद्दिन शान्तोले गैरसैनिक सरकार र विपक्षी दलहरूले गर्ने जुनसुकै सहमति कार्यान्वयन गर्न परिषद् तयार रहेको बताए ।

‘हामीले प्रधानमन्त्री नियुक्त गर्नेछैनौं’, विपक्षी र प्रदर्शनकारी समूहतर्फ इङ्गित गर्दै उनले भने, ‘उनीहरूले नै चयन गर्नेछन् ।’ सेनाले बल प्रयोग गरी प्रदर्शनकारीहरूलाई धर्नाबाट नहटाउने पनि उनले जानकारी दिए । यद्यपि आम नागरिकलाई सामान्य दैनिकीतिर फर्किन दिन तथा सडकको अवरोध हटाउन उनले आग्रह गरे ।

यसका साथै सैनिक परिषद्ले अन्य थुप्रै निर्णय समेत गरेको छ । परिषदले भ्रष्टाचारविरुद्ध लड्न र पूर्वसत्तारूढ पार्टीबारे अनुसन्धान गर्न समितिहरू गठन गरेको छ भने सञ्चारमाध्यममाथि लाग्दै आएको प्रतिबन्ध हटाएको छ ।

प्रदर्शनकारीलाई सघाएको आरोपमा पक्राउ परेका प्रहरी तथा सुरक्षा निकायका अधिकारीहरु समेत रिहा भएका छन् । यस्तै कूटनीतिक निकायको समीक्षा गर्नुका साथै अमेरिका र स्विट्जरल्यान्डका लागि सुडानी राजदूतलाई पदबाट हटाएको छ ।

गत डिसेम्बरमा महँगीको विरोधमा प्रदर्शन सुरु भएको थियो । सो प्रदर्शन बिस्तारै राष्ट्रपति बशीरको राजीनाको माग गर्दै अघि बढेको हो । करिब ३० वर्षदेखि सत्तामा रहँदै आएका बशीरलाई गत बिहीवार सेनाले पदच्युत गरी गिरफ्तार गरेको हो ।

सो सैनिक ‘कू’ को नेतृत्व गरेका रक्षामन्त्री अवाद इब्न औफले सेनाले दुई वर्षको संक्रमणकालमा सेनाले नेतृत्व गर्ने घोषणा गर्दै तीन महिने संकटकाल लगाएका थिए ।

तर अविलम्ब गैरसैनिक सरकारको माग गर्दै प्रदर्शनकारीले आन्दोलन जारी राखेपछि उनी पछि हट्न बाध्य भए । त्यसलगत्तै इब्न औफ र सेना प्रमुख जेनरल सलाह गोशले पदत्याग गर्दै लेफ्टिनेन्ट जनरल अब्देल फताह अब्देल रहमान बुर्हानलाई संक्रमणकालीन सैनिक परिषदको प्रमुख बनाइएको छ ।

शनिवार टेलिभिजनमार्फत् प्रसारण गरिएको सम्बोधनमा उनले पूर्ववर्ती सत्ताको अन्त्य गर्ने बताउँदै मानव अधिकारको सम्मान गर्ने, निषेधाज्ञा हटाउने, राजनीतिक बन्दी रिहा गर्ने, सबै प्रान्तीय सरकार भंग गर्ने र प्रदर्शनकारीको हत्या तथा भ्रष्टाचारमाथिको अनुसन्धान अघि बढाइने घोषणा गरे ।

तर प्रदर्शनको नेतृत्व गरिरहेको सुडान प्रोफेसनल्स एसोसिएशनले परिषद्को कदमले जनताको कुनै पनि मागलाई सम्बोधन नगरेको भन्दै प्रदर्शन जारी राख्न आग्रह गरेको छ ।

एशोसिएसनले सुरक्षा अंगको पुनर्संरचना गर्नुपर्ने, ‘भ्रष्ट’ नेताहरूलाई पक्राउ गर्नुपर्ने र पूर्वराष्ट्रपति बशीरको पालामा सञ्चालित मिलिसियाहरूलाई भंग गर्नुपर्ने पनि माग अघि सारेको छ ।

बसीर कहाँ छन् भन्नेबारे केही नबताइएपनि सैनिक ‘कु’ को नेतृत्व गरेका सैनिक अधिकारीहरु सुरक्षित रहेको बताइएको छ ।

डार्फर द्वन्द्वमा युद्ध अपराध र मानवताविरुद्धको अपराधमा संलग्न भएको भन्दै अन्तर्राट्रिय फौजदारी अदालतले बशीरलाई दोषी ठहर गरेको थियो । यद्यपि उनलाई अदालतका अभियोगको सामना गर्न सुपुर्दगी नगर्ने परिषदले स्पष्ट पारिसकेको छ ।

(Visited 22 times, 1 visits today)
Loading comments...