मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

वैदेशिक रोजगारीबाट फर्किएका कामदारको निःशुल्क सीप परीक्षण

राजधानी समाचारदाता
3 months ago
16/04/2019

काठमाडौं । सरकारले मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको सीप परीक्षण गर्ने भएको छ । यसअघि आवेदन दिइसकेका कामदारको मंगलबारदेखि आगामी ७ वैशाखसम्म निःशुल्क सीप परीक्षण गर्ने समय तालिका तय भएको हो ।

सरकारले गत मंसिरमा नै सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । जसमा करिब ५ सय कामदारले आवेदन दिएका थिए ।

विदेशमा विभिन्न काम गरी सीप आर्जन गरेर फर्किएकाहरूको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागिएको वैदेशिक रोजगार व्यवस्थापन बोर्डले जनाएको छ । यस्तो सीप परीक्षण परीक्षा पास भएर प्रमाणपत्र पाएपछि विदेशबाट फर्किएका कामदारले स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गए पनि राम्रो कमाइ गर्न सक्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।

बोर्डले राष्ट्रिय सीप विकास समितिमार्फत निःशुल्क यो परीक्षण गराएको थियो । गत २० चैतमा प्रदेश नम्बर १ मा इटहरी, प्रदेश नम्बर २ मा गत २२ चैतमा महोत्तरीको बर्दिवास, र २२ चैतमै प्रदेश नम्बर ३ को चितवन, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढी र गत २६ चैतमा भक्तपुरको सानोठिमीमा सीप परीक्षण गर्ने कामदारलाई सहजीकरणका लागि अभिमुखीकरण आयोजना गरिएको थियो ।

 

कामदारले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गरेपछि यस्तो सीपको प्रमाणपत्र लिएकालाई स्वदेशभित्रै आत्मनिर्भर हुने गरी स्वरोजगार बन्न सहयोग पुग्ने अपेक्षा

 

कामदारले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गर्नुपर्छ । यस्तो सीपको प्रमाणपत्र लिएकालाई स्वदेशभित्रै आत्मनिर्भर हुनेगरी स्वरोजगर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।

यसपटक २० वटा विषयमा सीपको परीक्षण गर्ने तयारी भएको छ । स्क्रापफोल्डर, बिल्डिङ असिस्टेन्ट, वेटर, इलेक्ट्रिसियन, बिल्डिङ पेन्टर, हाउस किपिङ क्लिनर, रेफ्रिजेनेटर एन्ड एअर कन्डिसन जुनियर मेकानिक्स र आल्मुनियम फेब्रिकेटर, सटरिङ र कार्पेन्ट्रिमा काम गरेकाहरूको सीप परीक्षण हुनेछ ।

यस्तै, टेलरिङ, फर्निचर मेकर, असिस्टेन्ट ब्युटिसियन, स्ट्रक्चरल फेब्रिकेटर, सेक्युरिटी गार्ड, इन्डेस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन सीप परीक्षण प्रमाणीरकण गरिनेछ । औपचारिक शिक्षा नलिएकालाई पनि सीप परीक्षणमा पास भए लेभल–१ को कामदारसरह प्रमाणपत्र दिइनेछ । यस्तो कार्यले आफूसँग प्रतिभा भएर पनि अहिलेसम्म सहज रूपमा बजारको श्रम बजारको पहुँचमा पुग्न नसकेका कामदारका लागि निकै उपयोगी र फदायी हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।

 

 

(Visited 46 times, 1 visits today)
Loading comments...