सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

तीन महिना पछि स¥यो मोफसलमा बक्स अफिस प्रणाली

डब्बु क्षत्री
7 days ago
16/04/2019

काठमाडौं। २०७५ चैत मसान्तसम्म मुलुकभरका सिनेमा हलमा बक्स अफिस लागू गर्ने सरकारी तयारी अझै तीन महिना पछि सरेको छ ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष निकिता पौडेलले चैत मसान्तसम्म मोफसलका सबै हलमा बक्स अफिस सञ्चालनमा ल्याउने घोषणा गरे पनि उनले आफ्नो पदबाट राजीनामा दिएपछि सरकारले तोकेको समयमा बक्स अफिस जडानको काम हुन सकेन ।

अब आगामी असार मसान्तसम्म मोफसलका सबै सिनेमा हलमा बक्स अफिसको सर्भर जोड्ने र साउने संक्रान्तिबाट यसलाई लागू गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताएका छन् ।

निर्माता संघको सहकार्यमा चलचित्र पत्रकार संघद्वारा सोमबार काठमाडौंमा राखिएको आफ्नो स्वागत कार्यक्रममा अध्यक्ष भट्टराईले रोकिएको बक्स अफिसको काम सुचारु भएको जानकारी गराए ।

चलचित्र क्षेत्रको बेथितिबारे आयोजना गरिएको अन्तक्र्रियामा समयमै बक्स अफिस लागू नहुँदा व्यवसायमा धेरै बेथिति देखिएको बोर्ड अध्यक्ष भट्टराईले बताए ।

‘म बोर्ड अध्यक्ष भएको बेलामा शुक्रबारबाट रिलिज भएको मेरै चलचित्रको व्यापार रिपोर्ट काठमाडौंका केही हल सञ्चालकले बक्स अफिसमा अझै पठाएका छैनन् भने अरू चलचित्रवालाहरूको अवस्था झन् कस्तो होला ?’

काठमाडौं उपत्यकाका सिनेमा हलमा बक्स अफिस लागू भएको आधा वर्ष नाघिसक्दा पनि अझै प्रत्यक्ष बक्स अफिस रिपोर्ट प्राप्त नभएको पनि बोर्ड अध्यक्ष भट्टराईले खुलासा गरेका छन् ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले निर्माताहरूले बक्स अफिसको रिपोर्ट नपाएको समस्याबारे जिज्ञासा उठाउँदा यसलाई चाँडै समाधान गर्ने बोर्ड अध्यक्ष भट्टराईले बताए ।

गोपीकृष्ण हलमा बक्स अफिसका दुईटा सर्भर राखेर हिसाब लुकाउने कार्य भइरहेको छ भन्ने केही निर्माताको जिज्ञासा सो कार्यक्रममा राखे । यस विषयमा अनुगमन भइसकेको र वास्तविकता के हो भन्ने रिपोर्ट आफूले चाँडै दिने बोर्ड अध्यक्ष भट्टराईले कार्यक्रममा प्रस्ट्याएका छन् ।

गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक तीर्थ पौडेलले भने, ‘हाम्रो सबै हलका व्यापार एउटै सर्भरमा जोडिएको छ र त्यो व्यापार रिपोर्ट बक्स अफिसको सेन्टरल कलेक्सनमा नियमित जाने गरेको छ ।’

पौडेलले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले समेत आफ्नो हल भ्रमण गरेर यसबारे प्रस्ट भइसकेको पनि बताए ।

‘बक्स अफिस सेन्ट्रल सिस्टम’ भन्नाले दर्शकले हलमा टिकट काट्दा हरेक टिकटको हिसाब यसको केन्द्रीय सर्भमा देखिने र जम्मा हुँदै जाने प्रणालीलाई बुझिन्छ । यसरी केन्द्रीय सर्भरमा जम्मा भएको आधारमा निर्माताहरूले आफ्नो चलचित्रको व्यापार कुन हलमा कति भयो भन्ने जानकारी प्राप्त गर्नेछन् ।

अहिले काठमाडौंमा बक्स अफिस लागू भए पनि आफ्नो चलचित्रले हलमा कति व्यापार ग¥यो भनेर त्यसको यथार्थ विवरण आफूहरूले समयमै नपाएको निर्माताहरूको गुनासो छ ।

तीन महिनाभित्र काठमाडौं उपत्यकाबाहिर बक्स अफिस प्रणाली जडान गर्ने र त्यसपछि काठमाडौंको समस्यालाई समाधान गर्न आफूहरू लागिपर्ने पनि अध्यक्ष भट्टराईले बताए ।

त्यतिबेलासम्म पनि देशभर बक्स अफिस लागू भएन भने नेपाल चलचित्र निर्माण संघले अर्को विकल्प खोज्ने यसका वरिष्ठ उपाध्यक्ष उदय सुब्बाले बताए ।

(Visited 19 times, 1 visits today)
Loading comments...