मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

समायोजनले अस्पताल रित्तियो

बिमला पाण्डे
3 months ago
16/04/2019

 

सिन्धुली। कर्मचारी समायोजनसँगै सिन्धुली अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको छ । अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मी समायोजनमा परेपछि सिन्धुली अस्पताल रित्तिन पुगेको हो ।

अस्पतालमा स्वास्थ्यकर्मी नभएपछि अस्पतालमा ओपीडी सेवा नै सञ्चालन हुन नसकेको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए । सामान्य प्रशासन मन्त्रालयले हालै गरेको कर्मचारीको समायोजनपछि सबै कर्मचारी सरुवा भएका कारण अस्पताल रित्तो भएको उनले बताए । अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ६४ जनाको दरबन्दी रहेकोमा हाल एक जना प्रशासनिक कर्मचारीभन्दा बाहेक अरू सबै सरुवा भएको उनले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेड डाक्टर सुमित्रा गौतमसहितका सबैले संघअन्तर्गत कार्यालय रोजेको र दुई जना अनमीले स्थानीय तह रोजेका थिए । एक जना प्रशासनका सुब्बाभन्दा बाहेक अस्पतालमा एक जना पनि स्थायी कर्मचारी नभएको अध्यक्ष पोखरेलले बताए ।

३ वैशाखदेखि अस्पतालमा ओपीडी सेवासमेत सञ्चालन हुन सक्ने अवस्था नरहेको उनले बताए । सिन्धुली अस्पताल प्रदेश सरकार मातहत भएकाले अस्पतालमा कार्यरत कोही पनि चिकित्सकले प्रदेश नरोजी संघ र स्थानीय तह रोजेका थिए, जसका कारण अस्पताल नै स्वास्थ्यकर्मीविहीन बनेको छ ।

 

 

 

(Visited 101 times, 1 visits today)
Loading comments...