मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

सडक बनाउँदा विद्यालय र बत्ती अवरुद्ध

राजधानी समाचारदाता
3 months ago
16/04/2019

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिका जोड्ने दैयाँ जगन्नाथ सडक निमार्णका बेला ढुंगा खसेर विद्यालय भवन पूर्णरूपमा क्षति भएको छ । बूढीनन्दा नगरपालिका–६ को दैयाँमा रहेको पशुपति आधारभूत विद्यालयको भवनमा पूर्णरूपमा क्षति भएको हो ।

पशुपति आधारभूत विद्यालयको माथिबाट निर्माण भइरहेको सडकबाट खसेका ढुंगाका कारण विद्यालयको चार कोठे भवन भत्किँदा १५ देखि २० लाख रुपैयाँसम्मको क्षति भएको विद्यालयका प्रधानाध्यापक भिमानन्द पाण्डेले जानकारी दिएका छन् । विद्यालयको भवन भत्किएपछि सोमबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानसमेत प्रभावित भएको विद्यालयका शिक्षक टंकप्रसाद न्यौपानेले जानकारी दिए । डोजर सहचालकले चलाइरहेका बेला सो ढुंगाहरू खसेर विद्यालयको भवन पूर्णरूपमा क्षति हुँदा यो वर्ष विद्यार्थीको पढाइसमेत प्रभावित हुने भएको छ भने दिवा खाजा कार्यक्रमको सामानमा समेत क्षति भएको छ ।

यता बूढीनन्दा नगरपालिका स्थित बड्डीगार्ड खोला लघु जलविद्युत् आयोजना पनि सडक निमार्णका कारण करिब डेढ सातादेखि अवरुद्ध बनेको छ । बूढीनन्दा नगरपालिकाको सिराडी जाने सडकबाटो निर्माण गर्दा सो विद्युत् सेवा अवरुद्ध बनेको हो । विद्युत् सेवा अवरुद्ध भएपछि अहिले कोल्टी क्षेत्रका १५ सय बढी उपभोक्ता अँध्यरोमा बस्न बाध्य भएका छन् ।

यसअघि पटकपटक नहर भत्किएर अवरुद्ध हुने विद्युत् सेवा डेढ सातायता सडक निर्माण कार्यले अवरुद्ध बनेको हो । डोजरको प्रयोग गरेर सडक निर्माण गर्न थालिएपछि नहरमा माटो परेर विद्युत् सेवा अवरुद्ध बनेको अप्रेटर कर्ण तिरुवाले बताएका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि अहिले कोल्टी बजार लगायत आसपसाका क्षेत्र प्रभावित भएका हुन् । विद्युत् सेवा अवरुद्ध भएपछि अहिले सरकारी तथा गैरसरकारी कार्यालयको दैनिक कामकाजसमेत प्रभावित हुने गरेको छ ।

 

 

 

(Visited 21 times, 1 visits today)
Loading comments...