सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

बन्द विद्यालय खुलाउन युवाको अग्रसरता

7 days ago
16/04/2019

 

काभ्रेपलाञ्चोक। २०३३ सालमा स्थापना भएको पनौती–५ धनेश्वर महादेव प्राथमिक विद्यालय अघिल्लो वर्ष बन्द भयो । काभ्रेको व्यापारिक नगरी बनेपासँगै धनेश्वर महादेवको आडमै रहेको विद्यालय बन्द भए पनि स्थानीयले खासै चासो दिएका थिएनन् ।

विद्यालयबिनाको गाउँ सुनसान देखिएको भन्दै स्थानीय अनिरुद्र थापासँगै केही युवाहरूले विद्यालय पुनः सञ्चालनमा चासो देखाए । विद्यालय बन्द भएसँगै विद्यालयको जग्गामा भू–माफियाको आँखा लागिसकेको थियो । क्रमशः विद्यालयको जमिनको आकार खुम्चिन थालेसँगै यो वर्ष जसरी भए पनि विद्यालय सञ्चालन गर्ने निर्णय भयो । पनौती नगरपालिकाले सञ्चालन गरेको जनताको आँगनमा जनप्रतिनिधि कार्यक्रममा अनिरुद्र थापाले विद्यालय खोल्न आफूले चासो दिएको बताएपछि मेयर भीम न्यौपानेले विद्यार्थी संख्या र अभिभावकको चाहना आफैंले आएर बुझ्ने बताएका थिए ।

स्थानीय युवा अनिरुद्रले बोर्डिङ स्कुलमा पढिरहेको आफ्नो छोरालाई धनेश्वर प्राथमिक विद्यालयमा ल्याएर भर्ना गर्ने निर्णय गरेर बन्द भएको विद्यालय खोल्ने र नयाँ संरचनाले अघि बढाउने निर्णय गरेको बताए ।

विद्यार्थीको अभावमा विद्यालय बन्द भएसँगै विद्यार्थी संख्या बढाउने र अभिभावकको भेला बोलाउने कार्यमा धनेश्वरका युवाहरू सक्रिय बने । त्यसको परिणामस्वरूप सोमबार विद्यालयको प्रांगणमा भेला भए । भेला भएका अभिभावकलाई मेयर न्यौपानेले अब धनेश्वर महादेव प्राथमिक विद्यालय अंग्रेजी माध्यमबाट पढाइ हुने बताए । उनले समुदायले विद्यालय दिएमा त्यहाँ आवश्यक रहेको भौतिक सामग्री र मानव संसाधन आफूहरूले उपलब्ध गराउने बताए ।

वडा नम्बर ५ का अध्यक्ष श्रीधर पाध्या कुइँकेलले आफ्नो वडाको शैक्षिक सम्पत्तिको जगेर्ना गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले वडाले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

(Visited 12 times, 1 visits today)
Loading comments...