सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

श्रीमानको ‘नासो’ ले गाउँ नै छाड्नु पर्दा बिरक्तिएको छ उनको मन

विमलबहादुर विष्ट
7 days ago
16/04/2019

डोटी । ‘चरीले राएन हो कि लेग काफल पाक्दा
न घरबारी न जिन्दगी एड्स रोग लाग्दा’

‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एक महिला ।

एचआइभी एड्सकै कारण उनले २४ वर्षको कलिलो उमेरमा आफ्ना पति मात्रै गुमाइनन्, स्कूलमा छोराछोरी पढ्न पठाउन पनि सकिरहेकी छैनन् । जिन्दगीदेखि हार खाएर वाक्क भएको बताउने उनी श्रीमान् बितेपछि हातमुख जोर्न पनि धौधौ परेको बताउँछिन् । उनी भन्छिन्, ‘दुःखी, गरीब, असहायका त भगवान् हुन्छन् भन्छन्, मेरा त भगवान् पनि आफना भएनन् ।’

आठ वर्षकी एक छोरी र छ वर्षको एक छोरा पढाउनका लागि उनले सयौँ दुःखकष्ट गरे पनि सफल हुनसकेको छैन । कयौँ मोड र घुम्तीसँग जम्काभेट गर्दै अगाडि बढ्दा उनले अनगिन्ती ठेस भोग्नुका साथै थुप्रै हण्डर खाइसकेकी छन् । उनलाई शरीरमा एड्स (बम्बैया रोग) लागेको करीब चार वर्ष भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ । श्रीमान् दीर्घबहादुर भारतमा काम गर्दागर्दै बिरामी परेर गाउँ फर्केको सात महिनापछि ओछ्यानमा परे । श्रीमान्ले आफूलाई टिबी भएको भन्दै औषधि खान्थे । मरेपछि गाउँलेले ‘भाइयौ यसको लोग्ने त एड्स लागि म¥याको हो’ भनेपछि बल्ल उनले थाहा पाइन् श्रीमानलाई एचआइभी÷एड्स लागेको कुरा । श्रीमानलाई पहिले नै एचआइभी एड्स भएको रहेछ । अन्जान तथा निर्दोष उनलाई श्रीमान्ले एचआइभी थमाइदिए । तर उनका छोराछोरीमा भने यो रोग नदेखिएको बताइएको छ ।

गाउँमा उनलाई एचआईभी छ भन्ने हल्ला फैलिएपछि गाउँलेले भन्नथाले, ‘यइले पनि दुनियाँको रोग सारी ।’ आफनो श्रीमान् बितेको करीब एक वर्षसम्म गाउँगाउँमा मागेर आफ्ना केटाकेटी पालिन् । उनले आफूलाई एड्स भएकोे थाहा पाएको पनि लामो समय भइसकेको छ । समाजको अपहेलनाका कारण उनी गाँउबाटै विस्थापित हुन बाध्य भइन् । उनको जीवनमा दुःखको महाभारतबाहेक केही पनि जुटेन । उनले आशा गरेको र पर्खिएको भनेको अब मृत्यु नै हो । मृत्यु पर्खंदै हातका बाहुलाले आँशु पुछेर भए पनि उनले दुई छोराछोरीलाई लतार्दै यहाँसम्म ल्याएको दुखेसो पोखिन् ।

गाउँबाट विस्थापित भएसँगै उनको जिन्दगीका पाइला टेक्ने एक टुक्रा जमीन र टाउको लुकाउने झुप्रो घर पनि खोसियो । उनको घरमा जस्तै डोटीका धेरैजसो गाउँबाट भारतका मुम्बई र दिल्लीमा काम गर्न जाने पुरुषले घर फर्कंदा परिवारमा नासोस्वरुप एचआइभी ल्याइदिने गरेका छन् । रोजगारीका लागि भारत गएर आउनेले ल्याएको एचआइभी एड्सले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी एड्स बढी भएको दोस्रो पहाडी जिल्लामध्येमा गनिन्छ ।

सिकारीको तिर लागेर घाइते भएको मृगजस्तै डोटी पनि एचआइभी रोगको ओछ्यानमा दिनानुदिन थला पर्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एचआइभी एड्स घट्नुको साटो दिनानुदिन बढिरहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको तत्थ्याङ्कमा उल्लेख छ । यहाँका एचआइभी सङ्क्रमितहरू गाउँमा बहिस्कृत छन्, अपहेलित छन् ।

उनका छोराछोरी साथीसँग खेल्न गाउँमा यताउता जाने गर्दैनन् । साथीसँगीले पनि ‘बम्बैयाको सन्तान आयो (एड्स आयो)’ भन्ने गरेका कारण उनीहरू साथीसँगीसँग खुलेर बोल्न र हिँड्न सक्दैनन् । ‘जङ्गल (लेक)मा काफल पाकेको चरीले नचिन्दा भोकै बस्नुपरेको र समयमै श्रीमान्लाई लागेको एचआइभी नचिन्दा आफनो यस्तो अवस्था भयो, त्यसैले बिलौनाका गीत गाएर बस्न बाध्य छु,’ उनले भनिन् ।

आफूलाई जस्तो अरुलाई नपरोस् भन्दै भगवान्सँग प्रार्थना गर्ने र गीत गाउने गरेको समेत उनी बताउँछिन् ।

एचआइभी एड्स सङ्क्रमितका क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका अनुसार डोटीमा खुलेका मात्रै ९८० एचआइभी एड्सबाट सङ्क्रमित छन् भने नखुलेकाहरू अझै धेरै हुनसक्छन् । अहिले डोटीमा एचआइभी एड्स सङ्क्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्था सक्रिय रहेका छन् । जिल्लामा एचआइभी रोकिनुको साटो दिनानुदिन बढिरहेको पाइएको छ । यहाँको एचआइभी रोकथामका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ ।

(Visited 89 times, 1 visits today)
Loading comments...