बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

आठौं राष्ट्रिय खेलकुद, आर्मी पहिलो पक्का, अब दोस्रोका लागि प्रतिस्पर्धा

रामसूदन तिमिल्सिना
5 months ago
22/04/2019

नेपालगन्ज । प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबले शीर्ष स्थान कब्जा गर्ने पक्का भएको छ । आठौंका खेलहरू सकिनै लाग्दा आर्मीले  ७५ स्वर्णपदक, ४६ रजत र ३९ कांस्य गरी कुल १६० पदक जितिसकेका कारण आर्मी पहिलो हुने पक्का भएको हो ।

दोस्रो स्थानमा रहेको पुलिसभन्दा ४३ बढी स्वर्ण जित्दै आर्मीले शीर्ष स्थानमा यथावत् छ । आर्मी पहिलो हुने पक्का भएसँगै अब दोस्रो र तेस्रो स्थानको लागि अर्काे दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो स्थानमा रहेको पुलिसले ३२ स्वर्ण, २९ रजत र ३१ कास्य गरी ९२ पदक जितेको छ । एपीएफले ३१ स्वर्ण, ३१ रजत र ३६ कास्य गरी ९८ पदक जितेको छ । राष्ट्रिय प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीबीच ठूलो प्रतिस्पर्धा हुने गर्दछ । अन्य क्षेत्रबाट सहभागीतालाई नै बढी महत्व दिने गरिएको छ । यसअघि २०७३ सालमा विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदमा ११३ स्वर्ण, ६४ रजत र ४८ कांस्य गरी जम्मा २२५ पदक जितेर पहिलो स्थान ओगटेको थियो । त्यसैगरी, एपीएफ ५० स्वर्ण, ४८ रजत र ५८ कांस्य गरी १५६ पदकका साथ दोस्रो स्थानमा थियो । यसपटक अहिलेसम्मको नतिजामा तेस्रो स्थानमा छ ।

संघीय संरचनाअनुसार खेलाइएको खेलमा प्रदेशहरूबीचमा भने प्रदेश ३ नै अगाडि छ । उसको १३ स्वर्ण, २० रजत र ४० कांस्य गरी ७३ पदक छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र १८ कांस्य गरी ३० पदक जितेको छ । गण्डकी प्रदेशले ६ स्वर्ण, ११ रजत र २७ कांस्य गरी ४४ पदक जितेको छ । प्रदेश २ ले ६ स्वर्ण ७ रजत र १४ कांस्य गरी २७ पदक जितेको छ । आयोजक प्रदेश ५ ले ५ स्वर्ण १५ रजत र २८ काक्य गरी ४८ पदक जितेको छ । प्रदेश १ ले ४ स्वर्ण, १५ रजत र ३५ कांस्य गरी ५४ पदक जितेको छ । एनआरएनएले ३ स्वर्ण, ३ कांस्य गरी कुल ६ पदक जितेको छ । कर्णालीले २ स्वर्ण, १ रजत ६ कांस्य गरी ९ पदक जितेको छ । अहिलेसम्म १८४ स्वर्ण पदकको टुंगो लागिसकेको छ । ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको हो । प्रत्येक स्वर्णपदक विजेता खेलाडीले १५ हजार नगद पुरस्कार पाउँछन् भने रेकर्ड ब्रेक गर्नेले २५ हजार थप नगद पुरस्कार प्राप्त गर्नेछ ।

सबै खेलमा संघीयताअनुसार प्रतिस्पर्धा भने हुन सकेको छैन । आर्चरीमा ९६ जना खेलाडी खुला रूपमा सहभागी छन् । उनीहरूको नागरिकताका आधारमा प्रदेशअनुसार पदक तालिका विभाजन हुने देखिन्छ । जारी प्रतियोगितामा ५ हजार २ सय ११ खेलाडीले सहभागी भए । प्रतियोगिता ञ्ंचालनका लागि ४३ करोड ८५ लाख अर्थ मन्त्रालयबाट स्वीकृत भएको राखेपले जनाएको छ । सबै रकम भने निकासा भइसकेको छैन । खर्चको व्यवस्थापन कमजोर भएको आरोप लाग्दै आएको छ ।

 

गौरिकाको दुई राष्ट्रिय कीर्तिमान

ओलम्पियन तथा कीर्तिमानी पौडीबाज गौरीका आठौंअन्तर्गतको राष्ट्रिय पौडी च्याम्पियनसिपमा दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । नेपालगन्जस्थित रंगशालाको पौडी पोखरी तयार नभएपछि होटेलको २५ मिटरको पौडी पोखरीमा खेलाइएको स्पर्धामा गौरिकाले दुई नयाँ कीर्तिमान बनाउन सफल भएकी हुन् ।

नेपालगन्जस्थित सिगनेट होटेलमा भएको स्पर्धामा गौरिकाले ५० मिटर ब्याक स्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ३१ सेकेन्डसहित समय सुधार गरिन् । उनले मुख्य स्पर्धामा ३० दशमलव ८५ को समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् ।

महिला ८ सय मिटर फ्री स्टाइलमा गौरिकाले अर्काे कीर्तिमान आफ्नो नाममा लेखाइन् । त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गरेकी गौरिकाले ९ मिनेट ३९ दशमलव २२ सेकेन्डमा दूरी तय गर्दै स्वर्ण जितिन् । सेनाकै उपस्थी महर्जनले ११ मिनेट ०९ः८२ सेकेन्डमा दूरी पूरा गर्दै रजतपदक जितिन् । पुलिसकी समिरा शोभा थापाले ११ मिनेट १६ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य जितिन् । यो इभेन्टमा पहिलोपटक २५ मिटरको पौडी पोखरीमा प्रतिस्पर्धा गराइएका कारण स्वर्ण जित्ने खेलाडीको स्वत रेकर्ड बन्ने नेपाल पौडी संघका अध्यक्ष अशोक बर्जाचार्यले बताए ।

त्यसैगरी, पुरुष ८ सय मिटर फ्रीस्टाइलमा अमेरिकामा बस्दै आएका एनआरएनएका नाथन दोर्जे शेर्पाले राष्ट्रिय कीर्तिमान बनाए । उनले सो दूरी पूरा गर्न ९ मिनेट १७ सेकेन्ड लगाए । एपीएफका नासिर हुसेन दोस्रो भए । उनले ९ मिनेट ४० दशमलव ९३ सेकेन्ड समय खर्चिए । एपीएफकै उर्गेन महर्जन तेस्रो भए । महर्जनले सो दूरी पार गर्न १० मिनेट १९ दशमलब ९१ सेकेन्ड समय लगाएका थिए । स्वर्ण जितका शेर्पाको पिता अमेरिकामा उबर चलाउँछन् । उनी उतै जम्मे हुर्केका हुन् । पहिलोपटक नेपालमा प्रतिस्पर्धा गर्न पाउँदा आफूलाई गर्व लागेको बताए ।

पुरुष १ सय मिटर ब्रेस्ट स्ट्रोकको हिट्समा एपीएफका शुभम श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले पनि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन् । ५० मिटर ब्याक स्ट्रोकमा एपीएफका तेन्जिङ गुरुङले स्वर्ण जिते । यसमा अदिति धितालको नाममा रेकर्ड छ । उनले २०१३ मा राष्ट्रिय च्याम्पियनसिपमा ११ मिनेट ४० दशमलव ४५ सेकेन्डको टाइमिङ निकालेकी थिइन् ।

महिला १ सय मिटर ब्रेस्ट स्ट्रोकमा दुवाना लामाले स्वर्ण, एपीएफकी टिसा शाक्यले रजत तथा आर्मीकै उपस्थी महर्जनले कास्य जितिन् । महिला २०० मिटर बटरफ्लाइमा आर्मीकै दुवानाले स्वर्ण जितिन् । एपीएफकी श्रीबी महर्जले रजत तथा एपीएफकै दिया स्थापितले कांस्य हात पारिन् ।

नेपालगन्ज रंगशालामा निर्माण भइरहेको पौडी पोखरी निर्माणाधीन अवस्थामा नै कमसल भएपछि नेपालगन्जको सिंगेट होटलको पौडी पोखरीमा प्रतिस्पर्धा सञ्चालन गरिएको छ ।

 

 

 

तारादेवीका तीन राष्ट्रिय कीर्तिमान

रुद्र सुवेदी/नेपालगन्ज

 

आठौंअन्तर्गत नेपालगन्जको नगरभवनमा जारी भारोत्तोलन प्रतियोगिताको तेस्रो दिन १५ वटा राष्ट्रिय कीर्तिमान बन्दा विभागीय नेपाल पुलिस क्लबकी तारदेवी पुनले तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

महिला ७६ किलो तौल समूहमा पुलिसकी तारादेवी पुनले स्न्याचमा ७४ किलो, क्लिन एन्ड जर्कमा ९७ र कुल तौलमा १७१ किलो तौल उचाल्दै तीन राष्ट्रिय कीर्तिमान बनाइन् ।

प्रदेश ५ की कल्पना चौधरीले रजत पदक जितिन् । महिला ६४ केजीमा विभागीय टिम नेपाल आर्मीका शारदा चौधरीले स्न्याच, क्लिन एन्ड जर्क र कुल तौलमा गरी तीनवटै राष्टिय कीर्तिमान कायम गरिन् । चौधरीले स्न्याचमा ६० किलो, क्लिन एन्ड जर्कमा ८२ र कुल तौलमा १४२ किलो तौल उचाल्दै तीनवटा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराइन् । प्रदेश ५ की रामकुमारी चौधरीले रजत तथा नेपाल प्रहरीका पूजा कुमालले कांस्य जिते ।

महिला ७१ किलो तौल समूहमा पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ६३ किलो, क्लिन एन्ड जर्कमा ८१ र कुल तौलमा १४४ किलो तौल उचाल्दै तीन राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराइन् । प्रहरीकै जानकी बुढाले रजत तथा प्रदेश २ की प्रमिला चौधरीले कांस्य जितिन् ।

पुरुष ८१ केजीमा पुलिसका विकाश थापाले स्न्याचमा ११५ किलो, क्लिन एन्ड जर्कमा १३५ र कुल तौलमा २५० किलो तौल भार वहन गर्दै तीन कीर्तिमानसहित स्वर्ण जिते । एपीएफका महेश चौधरीले रजत तथा एपीएफकै सन्तोष चौधरीले कांस्य जिते ।

पुरुष ८९ केजीमा आर्मीका दिनेश कार्कीले स्न्याचमा ९८ किलो, क्लिन एन्ड जर्कमा १३२ र कुल तौलमा २३० किलो तौल उचाल्दै क्लिन एन्ड जर्क र कुल तौलमा दुई राष्ट्रिय कीर्तिमान बनाए । पुलिसका ओमप्रकाश वैश्यले स्न्याचमा ९९ किलो भार वहन गर्दै कीर्तिमानसहित रजत जिते । एपीएफका तिलक थापाले कांस्य पाए ।

 

कराते

आठौं कराते प्रतियोगिता महिला ४२ केजी कुमुतेतर्फ एपीएफकी जिया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै, नेपाली सेनाकी कुशुम खड्काले रजत जित्दा प्रदेश २ की मीरा योञ्जन र प्रदेश ७ की वर्षा साउदले कांस्य हात पारे । त्यस्तै, ५० केजी महिला कुमुतेतर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् ।

त्यस्तै, एपीएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश २ की एलिशा तामाङ र प्रदेश ३ की सविना श्रेष्ठले कांस्य जितन् । त्यस्तै, ५० केजी पुरुष कुमुतेतर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै, एपीएफका वीरबहादुर तामाङले रजत जित्दा प्रदेश ३ का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कांस्य हात पारे ।

 

दुवै टोली सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलमा गण्डकी प्रदेशका पुरुष र महिलाको दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा गण्डकीले पुरुषतर्फ कर्णाली प्रदेशलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्दा महिला टोलीले विभागीय त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै एक खेलअगावै अन्तिम चारमा पुग्न सफल भएका हुन् ।

गण्डकी प्रदेश पुरुषतर्फ समूह

‘क’ को उपविजेता बन्दा आर्मी एक खेलअगावै समूह विजेता बन्यो । गण्डकीले कर्णाली प्रदेशलाई २५–१७, २५–१४ र २५–२१ ले हराउँदै चार खेलबाट ९ अंक जोडेपछि सेमिफाइनल प्रवेश गरेको हो । अब आर्मीले कर्णाली प्रदेशसँग खेल्न बाँकी छ ।

महिलातर्फ निकै नै महŒवपूर्ण खेलमा गण्डकीले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न सफल भयो । गण्डकीले सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकाल्न सफल भएको हो ।

गण्डकीले आर्मीमाथि १३–२५, १७–२५, २५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्यो । महिलातर्फ गण्डकीसँगै प्रदेश ३, एपीएफ र पुलिसले सेमिफाइनलमा स्थान बनायो । प्रदेश ३ ले कर्णली प्रदेशलाई तथा एपीएफले सुदूरपश्चिम प्रदेशलाई समान ३–० को सोझो सेटमा पाखा लगायो । पुरुषतर्फ समूह ‘ख’ बाट नेपाल पुलिस क्लब विजेता तथा नेपाल एपीएफ समूह उपविजेता बन्दै अन्तिम चारको यात्रा तय ग¥यो ।

 

 

(Visited 121 times, 1 visits today)
Loading comments...