शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

सुपर स्टारकै फिल्म फ्लप सयौं करोड घाटा

एजेन्सी
3 months ago
22/04/2019

मुम्बई। बलिउडमा पछिल्ला समय ठूला बजेटमा बनेका सुपर स्टारका फिल्म नै चल्न छाडेपछि एकपटक निर्माण कम्पनी गम्भीर भएका छन् । एक वर्ष नबित्दै बलिउडका सुपर स्टार मानिएका आमिर खान, सलमान खान, शाहरुख खान, अमिताभ बच्चन, बरुण धवन, सञ्जय दत्तजस्ता थुप्रै स्टारका फिल्म बजारमा पिटिएका छन् ।

अजय देवन, अक्षय कुमार, रणवीर सिंह र रणवीर कपुरबाहेक बाँकी स्टारका ठूला बजेटका सिनेमा नराम्ररी फ्लप भएका छन् । जसका कारण सयौं करोड भारतीय रुपैयाँ फिल्ममा डुबेको छ । बुधबारबाट रिलिज भएको स्टार कलाकारको फिल्म ‘कलंक’लाई दर्शकले मन नपराएपछि यो फिल्मले ठूलो घाटा सहनुपर्ने भएको छ ।

फिल्ममा बरुण धवन, आलिया भट्ट, सञ्जय दत्त, माधुरी दिक्षित, सोनाक्षी सिन्हा, आदित्य राय कपुर, कुनाल केम्मुजस्ता स्टार कलाकार छन् । १५० करोड भारतीय रुपैयाँमा बनेको यो फिल्मले पहिलो सातामा १५० करोड भन्दामाथि व्यापार गर्ने विश्वास निर्माण पक्षको थियो । फिल्म रिलिज भएको तीन दिनमा कलंकले ४३ करोडभन्दा माथिको व्यापार गर्न सकेन् । यो हिसाबले पहिलो साता कलंकले ७० करोडको व्यापार पनि नगर्ने स्थित आएको छ । यो फिल्मको सय करोडभन्दा माथि घाटा हुने अनुमान गरिएको छ । फिल्मलाई दर्शकले मन पराएनन् । व्यापार तीन दिनमै स्वाट्टै घटेको छ ।

पछिल्लो समय ठूला बजेटका फिल्म फ्लप हुने लहर नै चलेको छ । केही महिनाअघि आमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तानले करिब १५० करोड घाटा सहनुप¥यो । २१० करोडमा बनेको आमिरको यो फिल्मले हलबाट मुस्किलले ६० करोड रुपैयाँ प्राप्त ग¥यो । जसमा आमिरसँगै कैटरिना कैफ, अमिताभ बच्चनसहितका स्टार कलाकार थिए ।

आमिरजस्तै केही महिनाअघि रिलिज शाहरुख खानको फिल्म ‘जिरो’ले पनि ठूलो घाटा बेहोर्नुपरेको छ । आफूसहित सबै स्टार कलाकार राखेका शाहरुखले १५० करोडभन्दा बढी लगानी यो फिल्ममा गरे । तर हलबाट उनको हालमा ५० करोड रुपैयाँ पनि परेन ।

यस्तै, अर्का सुपर स्टार सलमान खानको पछिल्लो फिल्म रेस–३ पनि १५० करोडभन्दा महँगो बजेटको थियो । उनले फिल्म हलबाट जम्मा ८० करोड रुपैयाँ मात्र पाए । उनको यो फिल्म पनि व्यवसायिक रूपमा फ्लप भयो ।

यस्तै, सुसान्त सिंह राजपुत, मनोज बाजपेयी, भूमि पेडनेकरजस्ता स्टार रहेको फिल्म सोन चिडियाले पनि पनि करिब ४० करोड घाटा सहनुप¥यो । ४५ करोडभन्दा माथिको बजेटको यो फिल्मले जम्मा हलबाट ६ करोड रुपैयाँ मात्र कमायो ।

अनिल कपुर, ऐश्वर्य राय, राजकुमार रावजस्ता कलाकार रहेको फिल्म फन्ने खानले हलमा ९ करोड पनि कमाएन । जबकि यो फिल्मको लागत ३५ करोडभन्दा माथि थियो ।

हालै रिलिज अर्जुन कपुर, परिणिती चोपडा अभिनित फिल्म नमस्ते लन्डनको लागत पनि ४० करोडभन्दा माथि थियो । तर, फिल्मलाई स्वेदशी हलबाट ८ करोड रुपैयाँ हात पर्दा यो फिल्मले पनि ठूलो रकम घाटा बेहोर्नुपरेको छ ।

यसरी बलिउडमा पनि पछिल्लो समय स्टार कलाकारका ठूला बजेटका फिल्म धमाधम फ्लप भइरहेका छन् । पछिल्लो समय आएको नेटफ्लेक्सलगायत विभिन्न पक्षले फिल्मको व्यापार प्रभावित तुल्याएको फिल्मी पण्डितहरूको दाबी छ ।

(Visited 427 times, 1 visits today)
Loading comments...