सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

३५ दिनमा ६ सय अवैध हतियार प्रशासनमा भरुवा बन्दुक धेरै

महेश्वर गौतम
4 weeks ago
23/04/2019

काठमाडौं। सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि अवैध हतियार बुझाउन दिएको ३५ दिनको समयभित्र देशभरबाट करिब ६ सय थान हतियार प्रशासनले बुझेको छ । गत २८ फागुनमा सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो भने ३० फाग्ुनमा अवैध हातहतियार बुझाउन भन्दै सरकारले ३५ दिनको म्याद तोकेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले देशभरबाट करिब ६ सय थान अवैध हात हतियार संकलन भएको बताए । ‘मन्त्रिपरिषद्स्तरीय निर्णयपछि देशभरबाट करिब ६ सय अवैध हातहतियार प्रशासनले बुझेको छ, यी सबै लाइसेन्स नभएका अवैध हतियार हुन्,’ गृह प्रवक्ता सुवेदीले राजधानीसँग भने । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले अवैध हातहतियार संकलनका लागि ७७ वटै जिल्लाका सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

तर, यसबीचमा विप्लव समूहबाट भने एउटै पनि हतियार प्रशासनमा आएको छैन । प्रहरी र नेपाली सेनाले भने सो समूहसँग हतियार रहेको विश्लेषण गर्दै आएका छन् । प्रहरीले विभिन्न समयमा पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ताका साथबाट अवैध हतियार बरामदसमेत गर्दै आएको छ । ‘यो वा त्यो समूहबाट भन्दा पनि अवैध हतियार राखेको भए बुझाउन सरकारले दिएको समयभित्र ठूलो मात्रामा हतियार आएका छन, गैरकानुनी हतियार राख्न पाइँदैन,’ गृह प्रवक्ता सुवेदीले भने ।

प्रहरीका अनुसार २०७५ वैशाखदेखि चैत मसान्तसम्म विभिन्न प्रकारका हातहतियार गरी २६७ थान हतियार प्रहरीले बरामद गरेको थियो । जसमा पेस्तोल ५३ थान, रिभल्वर ६ थान, कटुवा ४४ थान, बन्दुक ३३ थान र भरुवा १३१ थान गरी गत वर्ष प्रहरीले २६७ थान अवैध हतियार बरामद गरेको थियो । २०७४ सालमा भने प्रहरीले २३८ थान अवैध हातहतियार बरामद गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

(Visited 51 times, 1 visits today)
Loading comments...