मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

बैंकिङ कसुरका ठूला अभियुक्त अझै फरार, इन्टरपोलमार्फत ल्याउने प्रयास जारी

कमला अर्याल
4 weeks ago
23/04/2019

काठमाडौं । बैंकिङ कसुरका अभियुक्तहरू धमाधम पक्राउ परे पनि बैंक नै डुबाउने गरी अनियमितता गर्नेहरू भने अझै पक्राउ पर्न सकेका छैनन् । ती अभियुक्त विभिन्न देशमा लुकेर बसेकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको हो । लुकेर बसेका व्यक्तिले आफू बस्दै आएको मुलुकको कानुनी कागजात बनाइसक्ने भएकाले पनि अभियुक्तलाई पक्राउ गर्न ढिलाइ भइरहेको सीआईबी प्रवक्ता एसपी सुदीप गिरीले बताए । सुपुर्दगी कानुनका कारण विभिन्न देशमा लुकेर बसेका अभियुक्तलाई पक्राउ गर्न समस्या भइरहेको उनको दाबी थियो ।‘रेड कर्नर नोटिस जारी गरे पनि प्रक्रिया लामो हुने भएकाले तत्काल पक्राउ गर्न नसकिएको हो,’ प्रवक्ता गिरीले भने । तर, सीआईबीले पक्राउ गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

चालू आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा बैंकिङ कसुरका घटना हरेक दिनजसो बढेका छन् । क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स कम्पनीलाई डुबाएका पवनकुमार कार्कीलाई पक्राउ गर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रेड कर्नर नोटिस जारी गरे पनि उनी पक्राउ पर्न सकेका छैनन् । कार्कीलाई पक्राउ गर्न तीन वर्ष अघि सीआईबीले रेड कर्नर नोटिस जारी गरेको थियो । कार्कीमाथि १ अर्ब २२ करोड रुपैयाँ घोटाला गरेको अभियोग छ । कार्की फाइनान्स कम्पनीलाई अपग्रेड गरेर वाणिज्य बैंक बनाउँछु भन्दै लागेका थिए । उनले ३८ जनाको नाममा नक्कली फाइल बनाएर रियल स्टेटको कारोबार गर्दै आएका थिए । उनी २०६८ देखि फरार छन् । कार्की बैंकिङ कसुरका सबैभन्दा ठूला अभियुक्त हुन् ।

त्यसैगरी, सिद्धार्थ डेभलपमेन्ट बैंकका सञ्चालक मधुसुदन सिलवाल पनि पक्राउ नपरेको उच्च अदालतले जनाएको छ । सिलवालमाथि सिद्धार्थ कोषको रकम दुरुपयोग गरेको अभियोग छ । उनले ३ करोड ३४ लाख रुपैयाँ ठगी गरेका छन् । सिलवाल तत्कालीन किस्ट बैंक ठगीसँग पनि जोडिएका छन् । सीआईबीले उनलाई एकपटक पक्राउ गरेको थियो । तर, पछिल्लो समय उनी फरार छन् । सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कार्कीलाई पनि प्रहरीले पक्राउ गर्न सकिरहेको छैन । उनीमाथि ८ करोड १३ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोग छ ।

तल्कालीन किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीलाई भने सीआईबीले पक्राउ गरिसकेको छ । ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरेका थिए । उनको मुद्दा उच्च अदालत पाटनमा अझै चलिरहेको छ । त्यस्तै सीआईबीले मञ्जुश्री फाइनान्स डुबाउने नवराज थापालाई पनि पक्राउ गरिसकेको छ । थापाले ३ करोड ४४ लाख २६ हजार रुपैयाँ ठगेका थिए । उनलाई उच्च अदालत पाटनले तीन वर्ष कैद र १ करोड रुपैयाँ जरिमानाको फैसला गरेको थियो ।

सीआईबीको पछिल्लो तथ्यांकनुसार हरेक वर्ष बैंकिङ कसुरका घटना बढिरहेका छन् । विभिन्न बैंकिङ कसुरका घटनामा हालसम्म २०५ जना पक्राउ गर्न सीआईबी सफल भएको छ । जसमा २१ अर्ब ९७ करोड ७६ लाख ३० हजार ७४१ रुपैयाँ घोटाला भएको भन्दै बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरेको छ । सीआईबीका अनुसार बैंकिङ कसुरमा संलग्न अधिकांश व्यक्ति बैंकिङ प्रणाली तथा प्रविधिका जानकार रहेको अनुसन्धानमा खुलेको छ ।

(Visited 86 times, 1 visits today)
Loading comments...