मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

बालकुमारी–बल्खु चक्रपथ पैदलयात्री जोखिम मोलेरै बाटो काट्न बाध्य

नवीन लुइँटेल
4 weeks ago
23/04/2019

ललितपुर । ललितपुरको बालकुमारीदेखी बल्खुसम्मको चक्रपथमा पर्याप्त जेब्राक्रसिङ नहुँदा पैदलयात्रीले जहाँ पायो त्यहीँबाट जोखिम मोलेर बाटो काट्न बाध्य छन् । चक्रपथ निर्माणका क्रममा त्रुटिका कारण २ सय मिटरसम्म पनि जेब्राक्रसिङ नहुँदा पैदलयात्री झन्झट मानेर जुनसुकै स्थानबाट पनि बाटो काट्न बाध्य भएका हुन् ।

जेब्राक्रसिङमै त सवारीसाधनले आफ्नो गति नियन्त्रणमा लिएर चलाउन नसकेका बेला अरू ठाउँमा त झन् गति नियन्त्रणको सम्भावना कम भएको स्वयं ट्राफिक प्रहरी नै बताउँछन् । दिउँसो र बिहान–बेलुकी कार्यालय समयका बेलाबाहेक बिहान सबेरै र राति जहाँसुकैबाट सडक वारपार गर्दा धेरै जोखिम बढेको महानगरीय ललितपुरका ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालले बताए ।
पछिल्लो महिनामा मात्र सवारीसाधनको ठक्करबाट यस क्षेत्रमा दुई जना पैदलयात्रीको मृत्यु भइसकेको छ ।
बालकुमारीदेखि बल्खुसम्मको चक्रपथमा ग्वार्खो बीएन्डबी अघि र बागडोलमा गरी दुई ठाउँमा मात्र सडक वारपार गर्ने अकासेपुल छ । यसैगरी सानेपा, धोवीघाट, एकान्तकुना, महालक्ष्मीस्थान, सातदोबाटो, ग्वार्खो, खरिबोट र बालकुमारीमा जेब्राक्रसिङ छ ।

पर्याप्त जेब्राक्रसिङ र अकासेपुल नहुँदा, नयाँ सडक भएर जेब्राक्रसिङ र अकासेपुलबाट बाटो काट्ने बानी नपर्दा र पैदलयात्रीलाई आवश्यक जनेतना नहुँदा दुर्घटना नघटेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटा बताउँछन् । कलंकीदेखी कोटेश्वरसम्म बाटो विस्तार भएर कालोपत्रे भए पनि जेब्राक्रसिङ र अकासेपुल पर्याप्त नहुँदा सर्वसाधारण पैदलयात्री र सवारीसाधनलाई असजिलो भएको हो ।
रिङरोडको एक चौबाटोबाट अर्को चौबाटो नपुगुन्जेलसम्म जेब्राक्रसिङ छैन । चक्रपथ सुधार आयोजनाका अनुसार एकान्तकुना, सातदोबाटो, खरिबोटलगायतका स्थानमा अकासेपुल बन्ने तयारीमा छ । यसैगरी, बालकुमारीदेखि बल्खुसम्म आवश्यक पर्ने विभिन्न स्थानमा जेब्राक्रसिङ थप्ने योजना रहेको आयोजना प्रमुख सुजन खनालले बताए ।

१० जनाको मृत्यु

कलंकीदेखी कोटेश्वरसम्म अघिल्लो वर्षको ११ महिनामा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीनुुसार २०७५ वैशाखदेखि फागुन मसान्तसम्म भएका दुर्घटनामा १० जनाको मृत्यु भएको हो ।
यी दुर्घटनामा परी ३२ जना गम्भिर घाइते भएको र ४ सय ५८ जना घाइते भएको महाशाखाका प्रवक्ता सापकोटाले जानकारी दिए । अधिकांश मोटरसाइकलमा दुर्घटनामा परी मानिसको ज्यान गएको पाइएको छ । यसमा पैदलयात्रीलाई ठक्कर दिएर दुई जनाको ज्यान गएको पनि, भेटिएको महाशाखाले बताएको छ । जहाँ पायो त्यहीँबाट बाटो काट्न बाध्य भइरहेका सर्वसाधारण कतिले हतारमा बाटो काट्दा दुर्घटना निम्तने खतरा पनि हुन जान्छ ।

(Visited 22 times, 1 visits today)
Loading comments...