सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

काठमाडौं–दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

मधुजंग पाण्डे
4 weeks ago
23/04/2019

काठमाडौं ।  भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरवेजले नेपालको उडान बन्द गरेपछि अहिले काठमाडौं–दिल्ली रुटको हवाई भाडा तीन गुणाले बढेको छ । गत २९ चैतबाट जेट एयरवेजले काठमाडौं उडान स्थगन गरेको हो । जेट एयरले पछिल्लो समय दिल्ली–काठमाडौं दैनिक एक उडान भर्दै आएको थियो । सो एयरलाइन्सले हरेक उडानमा १६८ जना यात्रुलाई सेवा दिँदै आएको थियो ।

काठमाडौं मात्र नभएर जेट एयरवेजले अहिले दिल्लीबाट अन्य गन्तव्यतर्फका सबैजसो अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । जसका कारण अहिले काठमाडौंबाट दिल्ली जाने यात्रुलाई हवाई टिकट पाउनसमेत निकै कठिन हुन थालेको छ । यही हवाई चाप एवं टिकट पाउन मुस्किल परेको अवस्थाको फाइदा उठाउँदै अहिले काठमाडांै–दिल्ली रुटमा हवाई भाडा तीन गुणाभन्दा बढीसम्म वृद्धि गरिएको सम्बन्धित सरोकारवालाहरूले बताएका छन् ।
यहाँका ट्राभल एजेन्सीहरूले पनि अहिले तीन गुणासम्म वृद्धि भएको मूल्य तिर्दा प नि विगत महिनाको तुलनामा काठमाडांै–दिल्ली हवाई रुटमा टिकट पाउन निकै मुस्किल भइरहेका बताएका छन् । एउटा उडानमै १६८ जना यात्रुलाई सेवा दिँदै आएको जेटले दिल्ली र मुम्बईबाट काठमाडौं नियमित उडान बन्द गरेपछि अहिले दैनिक करिब साढे ५ सय हवाई यात्रुको चाप अन्य वायुसेवा कम्पनीमा परेको उनीहरूको भनाइ छ ।

नेपाल एसोसियएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले जेट एयरवेजको नेपाल उडान बन्द भएसँगै अहिले काठमाडांै–दिल्ली हवाई भाडा तीन गुणाभन्दा बढीले वृद्धि भएको बताए । नेपाल उडान बन्द हुनुअघि भारतीय वायुसेवा जेटले हरेक दिन दिल्लीबाट दुईवटा र मुम्बईबाट दुईवटा गरी चारवटा उडान भर्दै आएको जानकारी गराउँदै उनले अहिले दैनिक नेपाल आवतजावत गर्ने करिब १ हजार यात्रुको चाप अन्य वायुसेवा कम्पनीमा परेकाले काठमाडौं–दिल्ली र मुम्बईका लागि हवाई टिकट पाउनै मुस्किल भइरहेको बताए । उनले गत सातादेखि नै व्यवसायी र यात्रुले तीन गुणाभन्दा बढी भाडा तिर्दा पनि हवाई टिकट पाउन नसकिरहेको बताए ।

अन्य गन्तव्यका तुलनामा सबैभन्दा छोटो दूरीको रुट भएर होला काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका लागि निकै लाभदायक गन्तव्य हो । काठमाडौं–दिल्लीको दुईतर्फी उडान भर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैनन् । यस रुटमा पर्याप्त उडान नभएकै कारण अहिले कम्तीमा एक साताअघिको टिकट पाउन मुस्किल भइरहेको पाण्डेले जानकारी गराए ।
मुलुकभरका टुर एन्ड ट्राभल व्यवसायीको छाता संस्था नाट्टाका अध्यक्ष पाण्डेका अनुसार एक साताअघि जम्मा आठ÷नौ हजार रुपैयाँ पर्ने टिकटलाई अहिले २८ देखि ३० हजार रुपैयाँ तिर्दा पनि पाउन कठिन भइरहेको छ । उनले अहिले यस रुटमा सेवा सञ्चालन गर्ने विभिन्न वायुसेवा कम्पनीले सस्तो टिकट लुकाएर महँगो मात्र बिक्री गर्न थालेकाले काठमाडौं–दिल्ली यात्रा गर्ने हवाई यात्रुले पहिलेभन्दा तीन गुणाभन्दा बढीसम्म बाध्य हुनुपरेको बताए ।

यसैगरी, काठमाडौंबाट सोमबारका लागि दिल्ली जाँदै गरेका सर्लाहीका दिनेश ढाकुरले पनि आफूले काठमाडौंबाट दिल्लीको एकतर्फी टिकट लिन पाँच दिन लगाएर बल्ल मुस्किलले २८ हजार रुपैयाँमा इकोनोमी क्लासको टिकट लिएको बताए । उनले निकै मुस्किलले २८ हजार रुपैयाँमा नेपाल वायुसेवाको काठमाडौंबाट दिल्लीको एकतर्फी टिकट पाएको बताए ।
अहिले यस रुटमा अत्यधिक भाडा तिर्ने ठाकुर त प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता धेरैले काठमाडौं–दिल्ली उडानका लागि विगत एक सातादेखि तीन गुणाभन्दा बढी भाडा बुझाउन बाध्य भएका छन् । दिल्ली–काठमाडौं सीधा हवाई टिकट नपाएपछि दिल्लीबाट गोरखपुर हुँदै सुनौलीबाट सवारीसाधनमा भैरहवा र त्यसपछि आन्तरिक उडानबाट केही दिनअघि काठमाडौं आएका ठाकुरले अब आफ्नो दाजुलाई दिल्लीबाट काठमाडौं ल्याउन ३२ हजार रुपैयाँभन्दा कमको टिकटै पाउन मुस्किल भइरहेको बताए ।

यस्तो अवस्थामा पनि मुलुकको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले पनि उडान थप गर्न नसक्दा अहिले आफूजस्ता धेरै यात्रुले हवाई टिकट पाउन यस्तो सास्ती भोग्नुरेको दुःखेसो गरे । अहिलेको काठमाडौ–दिल्ली रुटको यात्रु चापलाई हेर्दा निगमले १०÷१२ वटा उडान थप ग¥यो भने पनि निगमको विमान सँधै भरिभराउ हुने उनको भनाइ छ । उनले अहिले हवाई चापको मौका छोपेर यही गन्तव्यमा भारतीय वायुसेवाले प्रतियात्रु ४० हजारभन्दा बढी एकतर्फी भाडामा टिकट बिक्री गरिरहेको समेत जानकारी गराए ।

 

 

एउटा उडानमै १६८ जना यात्रुलाई सेवा दिँदै आएको जेटले दिल्ली र मुम्बईबाट काठमाडांै नियमित उडान बन्द गरेपछि अहिले दैनिक करिब साढे ५ सय हवाई यात्रुको चाप अन्य वायुसेवा कम्पनीमा परेको छ

 

अहिले भारतबाट नेपालमा उडान भर्ने वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगमपछि जेट एयरवेज सबैभन्दा बढी यात्रु बोक्नेमा पथ्र्याे । यो वायुसेवाले सन् २०१८ मा मात्रै ४ लाख ५० हजार ९४९ यात्रुलाई सेवा दिएर नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सेवा दिनेको दोस्रो सूचीमा परेको थियो । यसले सो अवधिमा कुल ३१ सय ३८ उडानमार्फत काठमाडौंमा २ लाख २४ हजार ४९५ यात्रुलाई अवतरण सेवा दिएको थियो भने काठमाडांैबाट २ लाख २६ हजार ४५४ जना यात्रुलाई बाहिर लगेको थियो । हाल काठमाडौं–दिल्ली रुटमा नेपाल वायुसेवा र एयर इन्डियाले दैनिक दुई÷दुईवटा उडान भर्दै आएका छन् । यसैगरी, इन्डिगो एयरले दैनिक एउटा उडान भर्दै आएको छ भने ड्रंक एयरले पनि दिल्ली–काठमाडौं ट्रान्जिट उडान भर्दै आएको छ ।

सोही चापलाई मध्यनजर गर्दै अहिले नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली रुटमा आगामी १८ वैशाखदेखि सातामा तीन उडान थप गर्ने बताएको छ । अहिले सातामा ११ वटा काठमाडौं–दिल्ली दुईतर्फी उडान भरिरहेको निगमले तीनवटा उडान थपेर दैनिक दुई उडान गर्ने भएको छ । यसअघि पनि निगमले दैनिक दुई उडान भर्दै आएको थियो ।
त्रिभुवन विमानस्थल कार्यालय महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार जेटले आगामी मे ५ सम्मलाई उडान स्थगन गर्ने पत्र पठाएको छ ।

हवाई इन्धन किन्ने, कर्मचारी र लिजिङ कम्पनीलाई दिने तलबका निम्ति समेत बजेट नभएपछि जेट एयरवेजका विमान ग्राउन्डेड भएका हुन् । सय बढी विमानबाट दैनिक ६ सय आन्तरिक र ३८० अन्तर्राष्ट्रिय उडान भरिरहेको सो एयरलाइन्सले काठमाडौं उडान बन्द गर्नुअघि १४ वटा विमान मात्र उडाइरहेको थियो ।
भारतीय सिभिल एभिएसन नियमअनुसार अन्तर्राष्ट्रिय उडानका लागि दैनिक कम्तीमा २० वटा विमान उड्नुपर्छ । जेट एयरवेजसँग अहिले जम्मा १४ वटा मात्र विमान छन् । जेट एयरवेज अहिले करिब १ अर्ब डलर ऋणमा छ । जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका हुन् । जेटमा अहिले उनको परिवारको ५२ प्रतिशत सेयर हिस्सा छ ।

 

(Visited 130 times, 1 visits today)
Loading comments...