मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

हरिवंशले १० सहरमा दर्शक नचाए

राजधानी समाचारदाता
4 weeks ago
24/04/2019

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य अभिनेता हरिवंशले मुलुकका १० वटा सहर पुगेर त्यहाँका दर्शकलाई नचाएका छन् । विगतमा गाईजात्रा कार्यक्रम लिएर नेपाल यात्रा गर्ने यी कलाकारले यसपटक दाल भात तरकारी चलचित्रको कन्सर्ट टुर गरेका हुन् । यो यात्राको अन्तिम कार्यक्रम सोमबार बेलुका काठमाडौंका सामाखुसीस्थित बिजीमलको प्रांगनमा भएको थियो ।

यसरी आफूसहित जम्बो टोली लिएर मोफसल यात्रामा निक्लिएका वरिष्ठ हास्यव्यंग्य अभिनेता आचार्यले सोमबार सामाखुसीमा कन्सर्ट गरेर दाल भात तरकारी नेपाल टुर टुंग्याएका छन् ।

कार्यक्रममा जब अभिनेता आचार्य आफ्नो विभिन्न प्रहसनसहित मञ्चमा उत्रिए । त्यतिबेला दर्शकहरूले हाँसो रोक्न सकेनन् । सामाखुसी क्षेत्रको प्रहरीलाई त्यहाँ दर्शकको भिड नियन्त्रण गर्न गाह्रो परेको थियो । गायिका मीना निरौलासँग वरिष्ठ हास्यव्यंग्य अभिनेता आचार्यले जब भिजिट भिसामा…गीत गाए । दर्शकहरू छमछमी नाचे । यी दुईले यो गीत नटुंग्याउँदै दर्शकले वान्स मोर भनेर यही गीतको माग गरे ।

लगतै वरिष्ठ हास्यव्यंग्य अभिनेता आचार्यले र गायिका मीनाले चलचित्र दाल भात तरकारीकै अर्को शीर्ष गीत दाल भात तरकारी…गाए । यतिबेला पनि दर्शकले नाच्दै मनोरञ्जन लिए । यसपछि गायिका मीनाले चलचित्र शत्रु गतेको गीत रूपै मोहनी गाइन् ।

सोही कार्यक्रममा सन्दीप क्षत्रीको प्रहसन पनि त्यत्तिकै रोचक थियो । उनले आफ्ना चर्चित जोक्सहरू सुनाए । अर्का कलाकार शिवहरि पौडलको प्रहसनले पनि दर्शकलाई हँसायो ।

२० वैशाखबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र दाल भात तरकारीका प्रस्तुतकर्ता किरण केसीले सो कन्सर्टमा दुईवटा गीत सुनाए । उनले पनि दर्शकलाई प्रहसनमार्फत हँसाए । केही क्षण पानी परे पनि छाता ओडेर दर्शकले कार्यक्रमको मज्जा लिए ।

यसरी काठमाडौंमा आएर सम्पन्न भएको दाल भात तरकारीको कन्सर्ट यात्रा २५ चैतबाट बिर्तामोडदेखि सुरु गएको थियो । कलाकार एवं निर्माता किरण केसीका अनुसार यात्रामा उनीसहित हरिवंश आचार्य, शिवहरि पौडेल, विल्सनविक्रम राई (तक्मेबुढा), पुष्पल खड्का, आँचल शर्मा, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, राजन खैराते थिए ।

हरेक कार्यक्रममा हरिवंश र जुनुले दाल भात तरकारीको गीत गाएका थिए । जुनु र रामचन्द्रले शत्रु गतेको रूपै मोहनी…सहितको गीत गाएका थिए । आफूले एउटा गीत र प्रहसन प्रस्तुत गरेको केसीले बताए । शिवहरि पौडेल र विल्सनविक्रम राईले पनि हरेक सहरमा प्रहसन प्रस्तुत गरे । मञ्चमा पुष्प र आँचलले दाल भात तरकारीको गीतमा नृत्य गर्दा दर्शकको हुटिङ हरेक सहरमा भएको पनि निर्माता केसीले बताए ।

यो कन्सर्ट २६ चैतमा दमक, २७ मा इटहरी, २८ चैतमा हेटौंडा, २९ चैतमा चितवन, ३० चैतमा बुटवल, १ वैशाखमा नेपालगन्ज, २ वैशाखमा दाङ, ४ वैशाखमा पोखारा र ९ वैशाखमा काठमाडौंमा आयोजना गरियो । दर्शकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले बुटवल, दाङ र पोखरामा लाठी चार्ज गर्दा आफूहरू निकै दुःखी हुँदै सम्बन्धित दर्शकसँग माफी मागेको पनि किरण केसीले राजधानीलाई बताए ।

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको यो चलचित्रका भिजिट भिसामा…गीत अहिले निकै लोकप्रिय बनेको छ । शीर्ष गीत पनि रुचाइएको छ । यो चलचित्र सामाजिक कथावस्तुमा आधारित हाँस्य प्रधान बनेको निर्माता अभिनेता हरिवंश आचार्यले बताएका छन् ।

सुदन केसीको निर्देशनमा तयार भएको चलचित्र दाल भात तरकारीमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, किरण केसी, शिवहरि पौडेल, प्रियंका कार्की, वर्षा राउत, विल्सनविक्रम राई, आँचल शर्मा, वसुन्धरा भुसाल, जयनन्द लामासहितका कलाकारको मुख्य भूमिका छ ।

(Visited 67 times, 1 visits today)
Loading comments...