मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

ओभरलोड अटो पूलवाट खस्यो, १ को मृत्यु ६ घाइते (घाइतेकाे सूची सहित)

बिमला पाण्डे
4 weeks ago
24/04/2019

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ३ को चनौटेमा अटो दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नं. ३ की ३७ वर्षिय माया योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मरिण गाउँपालिका वडा नं. ३ चनौटेबाट गाउँपालिका कार्यालय रहेको स्थान मरिण ४ कपिलाकोट छापमा यात्रु लिएर जाने क्रममा अटो दुर्घटना भएको हो ।
दुर्घटनामा परि ५ जना महिला र १ जना पुरुष घाइते भएका छन । घाइते हुनेहरुमा मरिण गाउँपालिका ३ चनौटेका ६० वर्षीय खड्कबहादुर श्रेष्ठ, सोही स्थानकी ३५ वर्षीय संगीता वाइवा, २५ वर्षीय मिनकुमारी योञ्जन, १४ वर्षीय संगीता लो, १२ वर्षीया अञ्जना ठोकर र मरिण ४ की ४६ वर्षिय चिनिमाया योञ्जन रहेका छन । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भईरहेको छ ।

घाइतेमध्ये २ जना बालिकाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए । गम्भिर घाइते २ जना बालिकालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौ पठाउने तयारी भईरहेको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताए । गम्भीर घाइते भएका संगीता र अञ्जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं लैजाने तयारी रहेको कार्कीले जानकारी दिए ।

उनका अनुसार अटो पुलको छेउबाट ६० फिट तल खसेको थियो । ओभरलोडका कारण अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोका चालक श्रीलाल माझी भने शकुशल रहेको र प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।

(Visited 137 times, 1 visits today)
Loading comments...