शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

उत्तर कोरियाली नेता किम जोङ–उन शिखर वार्तााका लागि रुसमा

एजेन्सी
3 months ago
24/04/2019

भ्लादिभोस्तक । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जोङ–उन सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् ।

राष्ट्रपति पुटिन र नेता किमबीचरूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने कार्यक्रम रहेको क्रेमलिनले घोषणा गरिसकेको छ ।

यो भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले जानकारी दिएका छन् ।

गत फेबु्रअरीका भियतनामको हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो ।

किमले बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ प्रस्थान गरेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको थियो ।

किमलाई रुसी सीमा शहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेको रुसी समाचार समितिले जानकारी दिएको छ ।

देशमाथि लागेका आर्थिक प्रतिबन्धका कारण संकटमा परेका किमले गत वर्षदेखि कुटनीतिक गतिविधिलाई तिब्रता दिएका छन् । रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता गरेका थिए ।

नेता किमका हजुरबुबा किम इल सुङ र बुबा किम जोङ इलले पनि विगतमा रुस भ्रमणका क्रममा भ्लादिभोस्तकको भ्रमण गरेका थिए । रुस र चीनको सहयोगमा उत्तर कोरियाली कम्युनिस्टले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए ।

विगतमा पूर्वसोभियत संघसँग निकै राम्रो मैत्रीपूर्ण सम्बन्ध रहेको भएपनि सन् १९९० को दशकमा सोभियत संघको विघटन पश्चात रुस र उत्तर कोरियाको सम्बन्ध त्यति राम्रो भएको पाइदैन । रुस आफैं आर्थिक संकटमा परेपछि उत्तर कोरियाले रुसबाट अपेक्षित सहायता प्राप्त गर्न नसकेको विश्लेषको भनाई छ ।

विश्व समुदायबाट अलग्गिएको उत्तर कोरियाका धेरै नागरिक रुसका पूर्वीशहरमा रोजगारीका लागि पुग्ने गरेका छन् । रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वीक्षेत्र भ्लादिभोस्तक आउँदै छन् ।

सन् २०१८ को मार्च महिनादेखि हालसम्म उत्तरी कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मून जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटवार्ता गरेका छन् ।

विश्लेषकका अनुसार किम अमेरिकाको साथमा उभिएर व्यापक अन्तरराष्ट्रिय सहयोगको आशामा रहेका छन् ।

(Visited 86 times, 1 visits today)
Loading comments...