सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

प्रदेश सरकारले दाङमा अन्तर्राष्ट्रिय रंगशाला बनाउँदै

प्रकाश आचार्य
4 weeks ago
25/04/2019

बुटवल । प्रदेश सरकारले दाङमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय गरेको छ । दाङको राप्ती गाउँपालिका–७ बसन्तपुरमा सबै खेलहरू खेल्न मिल्ने अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय मन्त्रिपरिषदले स्वीकृत गरेको चौधरीले जानकारी दिए । रंगशाला १ सय ७२ विगाहा १९ कठठा, एक धुर जग्गामा बन्नेछ ।

सामाजिक विकास मन्त्रालयको प्रस्तावमा राप्ती गाउँपालिकामा अन्रतर्राष्ट्रिय रंगशाला बनाउने र दाङकै घोराही उपमहानगरपालिका–१६ मा रहेको नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका–१३ स्थित जवही खेल मैदानलाई उजिरसिंह रंगशालाको रूपमा स्तरउन्नति गरिने सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

तीन वटै रंगशाला बनाउन स्थानीय तहले प्रदेश सरकारलाई जग्गा उपलब्ध गराइसकेका छन् । तीन वटै रंगशालाको डिपिआर बनाएपछि प्रदेश सरकारले बजेट उपलब्ध गराउने छ ।

यसैगरी प्रदेश सरकारले विपत्तीमा परेर मृत्यु भएका परिवारलाई एक/एक लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराउने भएको छ । २०७४ फागुन ३ गतेदेखि २०७५ पुस मसान्तसम्म प्रदेशका ११ जिल्लामा ५१ जनाको बाढी पहिरो, आगलागी, चट्टाङमा परी मृत्यु भएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद बैठकले १/१ लाख रुपैयाँका दरले ५१ लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले आगलागीमा परी, खोलाले बगाएर, चट्टयाङ लागेर, पहिरोमा पुरिएर दाङमा १ जना बर्दियामा ५ जना, बाँकेमा ८ जना, गुल्मीमा ४ जना, पश्चिम नवलपरासीमा ११ जना, पाल्पामा ८ जना, प्यूठानमा ५ जना, रोल्पामा ७ जना र रुकुम पूर्वमा २ जनाको मृत्यु भएको थियो ।

प्रदेश सरकार स्थापना भएपछि घटेका विपदका घटनामा पीडित परिवारलाई उक्त राहत सकम दिन लागिएको चौधरीले बताए । प्रदेश सरकार २०७४ फागुन २ गते स्थापना भएको थियो ।

यस्तै प्रदेश सरकारले यस वर्षदेखि ६ वटा आफ्नै विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते, बकर ईदमा, माघे सक्रान्तिमा दुई दिन विदा दिइने छ । त्यस्तैगरी स्थानीय चाडपर्वलाई मध्येनजर गरी स्थानीय तहबाट एक दिन र स्थानीय समुदायमा आधारित जस्तै थारु समुदायको अवतारी पर्व, मगर समुदायको भूमिया पुजा, मुस्लिम समुदायको रामजाम जस्ता पर्व, जितगढी विजयी उत्सव, भगवती जात्रा स्थानीय तहले विदा दिन सक्नेछन् ।

यस्तै लुम्बिनी भ्रमण वर्षको कार्यक्रममा संशोधन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा १५ सदस्यीय मूल समितिलाई हेरफेर गरी २० सदस्यीय बनाउने भएको छ । समितिमा १ तिहाई महिला पर्ने गरी विविध क्षेत्रमा ५ जनालाई थप गरी २० सदस्यीय समिति बनाउने चौधरीले जानकारी दिए ।

(Visited 32 times, 1 visits today)
Loading comments...