आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

शब्दकोश सच्याउँदै प्रज्ञा प्रतिष्ठान

3 years ago
09/11/2016

राजधानी समाचारदाता
काठमाडौं, २३ कात्तिक

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानबाट २०७२ मा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ निकै त्रुटि भएको स्वीकार गर्दै सच्याउने बताएका छन् । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको प्रतिनिधिमण्डलसँग उप्रेतीले सो कुरा बताएका हुन् ।

kulapati

सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कुलपतिसमक्ष २०७२ को शब्दकोश खारेजीको लागि दबाब दिएको थियो । सो क्रममा कुलपति उप्रेतीले भने, ‘यस शब्दकोशमा धेरै नै त्रुटि देखिए, अब नसच्याई हुँदैन ।’ उनले थपे, ‘भाषा बिगार्ने प्रज्ञा प्रतिष्ठानको नियत होइन ।’

विवादित शब्दकोशबारे सुझाव दिन गठित समितिको प्रतिवेदन आएपछि आवश्यक कार्य अगाडि बढाइने पनि उनले बताए । प्रतिनिधिमण्डलमा सहभागी त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख प्रा.डा. देवीप्रसाद गौतमले यदि प्रतिष्ठानले त्रुटि नसच्याए त्रिविअन्तर्गतका सबै क्याम्पसमा यस शब्दकोशलाई बहिष्कार गर्ने चेतावनी दिए । सञ्जालका अध्यक्ष डा. लुइँटेलले सच्याइएको नयाँ शब्दकोश प्रकाशन गरेर २०७२ को शब्दकोश फिर्ता गरी ग्राहकलाई नयाँ शब्दकोश उपलब्ध गराउनुपर्ने बताए ।

 ‘उपभोक्तालाई गलत चीज दिनु अपराध हो,’ उनले भने, ‘एकेडेमीले आफ्नो गल्ती स्वीकार गरी अघि बढ्नुपर्छ ।’ कुलपति उप्रेतीले सबै भाषा साहित्यसेवीको सल्लाह, सुझाव र सहमतिमा अब काम गर्ने वचनबद्धता प्रकट गरे ।

नेपाली भाषा सङ्गोष्ठी, २०६७ मा आफूहरू सहभागी भएको भनेर प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली भाषा सङ्गोष्ठी, २०६७’ पुस्तकमा प्रकाशित तथ्य गलत भएको र त्यसलाई सच्याउनुपर्ने माग प्रा.डा. लुइँटेल र प्रा.डा. गौतमको थियो । ‘प्रज्ञा प्रतिष्ठान जस्तो निकायले गलत कुरा दिन मिल्छ ?’डा. लुइँटेलको आक्रोश थियो, ‘त्यसबेला म विदेशमा थिएँ, कसरी यहाँ सहभागी भएँ ?’

डा. गौतमले पनि आफू पनि सो कार्यक्रममा उपस्थित नभएको र नियतवश नाम राखिएकोमा आक्रोश व्यक्त गर्दै भने, ‘आफैंले खोज्दा पनि दसौं हजार ठाउँमा गल्ती भएको शब्दकोशमा मेरो संलग्नता कसरी हुन्छ ?’ डा. गौतमले सो शब्दकोश तुरुन्त खारेज गर्नुपर्ने दाबी गरे ।

 

(Visited 9 times, 1 visits today)
Loading comments...