मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

अमेरिकाले चोरेको पानीजहाज फिर्ता गर्नपर्छ : उत्तर कोरिया

एजेन्सी
7 days ago
14/05/2019

प्योङयाङ । अमेरिकाले अवैधानिक किसिमले आफ्नो पानीजहाज चोरेको आरोप लगाउँदै तत्काल फिर्ता गर्न उत्तर कोरियाले माग गरेको छ ।

गत साता अमेरिकी न्याय मन्त्रालयले कोइला बोक्ने पानीजहाज प्रयोग गरेर प्योङ्याङले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको दाबी गर्दै पानीजहाज लगेको थियो ।

वाइज अनेस्ट नामक सो पानीजहाज इन्डोनेशियाको जलक्षेत्रबाट अमेरिकाले कब्जामा लिइएको बताइएको छ । उत्तर कोरियाले अमेरिकाको यो कदम सन् २०१८ मा राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच भएको सहमतिको मर्मविपरित भएको भन्दै आपत्ति जनाएको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकाले आफ्नो देशलाई अधिकतम दबाव दिएर आत्मसमर्पण गराउने प्रयास गरेको आरोप लगाएको छ ।
उत्तर कोरियाली विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बल प्रयोग गरेर उत्तर कोरियलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने अमेरिकाले ठानेको भए त्यो ठूलो गल्ती हुनेछ ।’

प्रतिबन्ध उल्लंघन गरेको भन्दै अमेरिकाले उत्तर कोरियाको जहाज कब्जामा लिएको यो पहिलो घटना हो । दुई देशका नेताहरुबीच गत वर्षको १२ जुन र गत फेब्रुअरी २७ र २८ मा वार्ता भएपनि कुनै निष्कर्षमा पुग्न सकेन ।

उत्तर कोरियाका नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच गत फेब्रुअरीमा भियतनामको हनोइमा दोस्रो शिखर वार्ता भएको थियो । सो वार्तामा उत्तर कोरियाले उसको परमाणु योजना परित्याग गर्नुपर्ने अडान अमेरिकाले राखेको थियो ।

तर उत्तर कोरियाले परमाणु कार्यक्रमबाट पछि हट्नका लागि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाउनुपर्ने अडान राखेको थियो । सो विषयमा कुरा नमिलेपछि वार्ता निश्कर्षबिहीन बनेको थियो ।

अमेरिकासँगको वार्ता असफल भएपनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम पुनः सुरु गर्ने संकेत दिएको छ । गत सातामात्रै उत्तरले दुई पटक छोटो दुरीका हतियार परीक्षण गरेको थियो ।

त्यसलाई उत्तर कोरियाले अमेरिकालाई दबाव सिर्जना गर्न चालेको कदमका रुपमा लिएका छन् । तर अमेरिकाले पानीजहाज कब्जामा लिने कदम र अस्त्र परीक्षणबीच कुनै सम्बन्ध नभएको बताएको छ ।

(Visited 211 times, 1 visits today)
Loading comments...